तनहुँ समाज हङकङद्वारा अपाङ्गता स्रोत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा सहयोग सामग्री वितरण

दमौली : तनहुँ समाज हङकङले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यास नगरपालिका भित्र रहेका विभिन्न अपाङ्गता स्रोत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा सहयोग सामग्री वितरण गरेको छ । समाजले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि निरन्तर रूपमा शिक्षासहित सामाजिक सेवाको अभियानलाई अगाडि बढाएको हो ।

विहीबार सम्पन्न सामग्री वितरण कार्यक्रममा सिद्धवेनी माध्यमिक विद्यालय बेलबास, महेन्द्रज्योति माध्यमिक विद्यालय सिसाघाट, जनसेवा प्राथमिक विद्यालय अमरापुरी, सिन्धु आधारभूत विद्यालय, चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय तथा बुद्ध दाहाल बहिरा विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन् ।

विद्यालयको आवश्यकता र विद्यार्थीहरूको अवस्था मूल्याङ्कन गरी सामग्री वितरण गरिएको समाजले जनाएको छ। सो क्रममा सिद्धवेनी माध्यमिक विद्यालय बेलबास र जनसेवा प्राथमिक विद्यालय अमरापुरीमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि संगीत सामग्री प्रदान गरिएको छ। यसले विद्यार्थीहरूको सिकाइ, अभिव्यक्ति तथा मनोवैज्ञानिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, बुद्ध दाहाल बहिरा विद्यालयका विद्यार्थीहरूका लागि दैनिक प्रयोगमा आउने झुल वितरण गरिएको छ भने सिन्धु आधारभूत विद्यालयमा स्टेशनरी सामग्री उपलब्ध गराइएको छ । महेन्द्रज्योति माध्यमिक विद्यालय सिसाघाटमा भने विद्यार्थीहरूको शारीरिक विकास र सहभागिता अभिवृद्धिका लागि खेलकुद सामग्री प्रदान गरिएको हो।

यसैक्रममा चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाको सरसफाइ तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नुहाउने प्रयोजनका विद्युतीय गिजर प्रदान गरिएको छ। यसले जाडो मौसममा बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

त्यसैगरी, व्यास नगरपालिका–७ कलेस्तीस्थित व्यासनगर समता विद्यालयमा अध्ययनरत ६५ जना टुहुरा बालबालिकाका लागि स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ । समाजले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्न यस्तो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङले तनहुँ जिल्लाभित्र समाजले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएको उल्लेख गरे। उनले समाज विदेशमा रहे पनि मातृभूमिप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउँदै प्रदान गरिएका सामग्रीहरूको सदुपयोग गर्न सम्बन्धित विद्यालय र विद्यार्थीहरूलाई आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker