गण्डकी प्रदेशको क्रियाशील पत्रकारिता पुरस्कारबाट तनहुँका नेपाली पुरस्कृत

तनहुँ : राष्ट्रिय समाचार समिति तनहुँका सम्वाददाता सानेबहादुर नेपाली गण्डकी प्रदेशको क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा शनिबार नेपालीलाई पुरस्कार प्रदान गरिएको हो ।
नेपालीलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरे। नगद पाँच हजार रुपैयाँको साथमा सम्मानपत्र सहित पुरस्कृत गरिएको छ ।
क्रियाशिल पत्रकारिता पुरस्कारबाट हरेक प्रदेशका एक जना प्रेस सेन्टरकर्मीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टर तनहुँ पूर्वअध्यक्ष समेत रहेका नेपाली हाल उनी प्रेस सेन्टर गण्डकीको सचिव पदमा कार्यरत छन् । उनी जनचाहना डटकमका कार्यकारी सम्पादक समेत हुन् ।









