भोटेकोशी बाढी : तनहुँका बेपत्ताकोे खोजी, परिवारजनबाट डिएनए परीक्षणका लागि नमुना संकलन

दमौली : गत भदौ १० गतेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी तनहुँबाट बेपत्ता भएका नागरिकको खोजी तथा पहिचानलाई वैज्ञानिक विधिबाट टुङ्गोमा पुर्याउन डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ । बाढी प्रभावित क्षेत्रमा खोजीका क्रममा भेटिन सक्ने शवको पहिचान सहज बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले बेपत्ता नागरिकका परिवारजनबाट डिएनए नमुना संकलन सुरु गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा भेटिएका वा भविष्यमा फेला पर्न सक्ने शवको पहिचानमा कठिनाइ हुन सक्ने भएकाले प्रशासनले बेपत्ताका नजिकका नातेदारको डिएनए परीक्षण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । विशेषगरी बुवाआमा तथा दाजुभाइबाट नमुना संकलन गरी शवसँग मिलान गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बेपत्ता नागरिकको पहिचान सुनिश्चित गर्न वैज्ञानिक विधि अपनाउँदै परिवारजनबाट डिएनए नमुना संकलन थालिएको हो ।
‘बाढी प्रभावित क्षेत्रमा भेटिन सक्ने शवको छिटो र सही पहिचानका लागि वैज्ञानिक विधि अपनाउन डिएनए परीक्षणको काम अघि बढाइएको हो’, उनले भने, ‘यसका लागि तोकिएका परिवारजनलाई डिएनए नमुना संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सूचित गरिसकिएको छ ।’
प्रशासनले मानवीय संवेदनालाई ध्यानमा राख्दै बेपत्ता नागरिकको नाम तथा व्यक्तिगत विवरण सार्वजनिक नगरी सम्बन्धित परिवारलाई व्यक्तिगत रूपमा जानकारी गराएर परीक्षण प्रक्रियामा सहभागी गराएको छ । तोकिएको समयमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई डिएनए नमुना उपलब्ध गराउन प्रशासनले बेपत्ताका परिवारजनलाई आग्रह गरेको छ ।

३३ सम्पर्कविहीन, नौ परिवारको सम्पर्कमा

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीको अवस्था खोजी गर्ने क्रममा ३३ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको थियो। खोजी तथा समन्वयका क्रममा नौ जना परिवारको सम्पर्कमा आइसकेको पुष्टि भएको छ । हाल २४ जना तनहुँवासी अझै बेपत्ता रहेको प्रशासनले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणका क्रममा पुगेका जिल्लावासी लामो समयदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि प्रशासनले उनीहरूको खोजीलाई प्राथमिकतामा राखेको हो । प्रमुख जिल्ला अधिकारी तिवारीले बेपत्ता नागरिकको खोजीलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको बताए ।
उनले भने, ‘हाल २४ जना नागरिक अझै बेपत्ता हुनुहुन्छ । उहाँहरूको खोजीका लागि भोटेकोशी क्षेत्रका सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग निरन्तर समन्वय भइरहेको छ ।’

त्रिशूली किनारमा खोजी तीव्र

बाढीले बेपत्ता व्यक्तिलाई नदीको बहावले तल्लो तटीय क्षेत्रमा बगाएर ल्याउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तनहुँमा समेत खोजीको दायरा फराकिलो पारिएको छ । आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी किनारमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा खोजी भइरहेको प्रशासनले जनाएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहाव र त्यसले बगाएर ल्याउन सक्ने सम्भावित शव तथा मानिसको अवस्थालाई ध्यानमा राखेर नदी किनारका जोखिमयुक्त तथा सम्भावित स्थानमा निगरानी बढाइएको छ । बाढी गएको लामो समय बितिसक्दा पनि परिवारसँग सम्पर्कमा नआएका नागरिकको खोजीमा प्रशासनले सम्बन्धित जिल्लाका सुरक्षा निकाय, स्थानीय तह र परिवारजनसँग समन्वय गरिरहेको छ ।

शव पहिचानमा नयाँ चुनौती

बाढीपहिरो तथा नदीजन्य विपद्मा शवको अवस्था बिग्रिन सक्ने, परिचय खुल्ने सामग्री छुट्टिन सक्ने वा शव अन्य जिल्लाको नदी किनारमा पुग्न सक्ने भएकाले पहिचान प्रक्रिया जटिल बन्ने गरेको छ। यस्तो अवस्थामा डिएनए परीक्षणले शवको वैज्ञानिक पहिचान गर्न महत्वपूर्ण आधार प्रदान गर्ने प्रशासनको विश्वास छ । प्रशासनले सम्भावित शव भेटिएमा तत्काल पहिचान गर्न सकिने गरी बेपत्ता व्यक्तिका परिवारजनको डिएनए नमुना सुरक्षित राख्ने प्रक्रिया अघि बढाएको हो ।
यससँगै नदी तटीय क्षेत्रमा जारी खोजी कार्यलाई पनि निरन्तरता दिइएको छ। बेपत्ता नागरिकका परिवारजन भने आफ्ना आफन्तको अवस्था पत्ता लाग्ने आशामा खोजी र पहिचान प्रक्रियाको परिणाम पर्खिरहेका छन् । बाढीबाट सिर्जित मानवीय संकटमा बेपत्ताको खोजी मात्र नभई फेला परेका शवको सही पहिचान र परिवारसम्म पु¥याउने कार्यसमेत चुनौतीपूर्ण बनेकाले डिएनए परीक्षणलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker