तनहुँका २ हजार ६२५ किशोरीलाई एचपिभी खोप लगाइने

दमौली : पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तनहुँ जिल्लामा २ हजार ६२५ किशोरीलाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । नियमित खोप कार्यक्रममा विद्यालय केन्द्रित एचपिभी खोप सेवा सुरु गर्नुअघि जिल्लामा यसको तयारी तीव्र पारिएको छ ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा दमौलीमा सम्पन्न जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा पत्रकार–सञ्चारकर्मीहरूका लागि आयोजित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । कार्यक्रममा तनहुँ जिल्लाभर सञ्चालन हुने विद्यालय केन्द्रित एचपिभी खोप कार्यक्रमको लक्ष्य, कार्ययोजना र सरोकारवालाको भूमिकाबारे विस्तृत जानकारी गराइएको थियो ।
चालु वर्ष तनहुँमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, साथै गत वर्ष खोप छुटेका कक्षा ७ देखि १० मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप प्रदान गरिने कार्यालय प्रमुख अमर दवाडीले बताए । उनले भने, ‘यी सबै समूहलाई समेटेर जिल्लामा जम्मा २ हजार ६२५ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य छ।’
‘पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर स्वास्थ्य समस्यामध्ये एक हो’, उनले भने, ‘एचपिभी भाइरसका १६ र १८ प्रजाति सबैभन्दा जोखिमपूर्ण मानिने र नेपालमा देखिने पाठेघरको मुखको क्यान्सरका करिब ८० प्रतिशत घटना यिनै प्रजातिका कारण हुने गर्दछ । प्रारम्भिक अवस्थामा कुनै लक्षण नदेखिने भएकाले खोपमार्फत रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो ।’
सरकारले माघ–फागुन २०८१ मा देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिसकेको र यसलाई नियमित खोप सेवामा समेटेर निरन्तरता दिन लागिएको उनले बताए । ‘पछिल्लो वैज्ञानिक अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसअनुसार एचपिभी ‘सिकोलिन’ खोप एक मात्राले नै प्रभावकारी हुने भएकाले एक मात्रा लगाउने खोप तालिका लागू गरिएको छ’, कार्यालयका प्रमुख दवाडीले बताए, ‘यो खोपले एचपिभी १६ र १८ प्रजातिका कारण हुने पाठेघरको मुखको क्यान्सरबाट करिब ९८ देखि १०० प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने छ ।’
तनहुँमा एचपिभी खोप कार्यक्रम २०८२ माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । विद्यालयमै खोप केन्द्र सञ्चालन गरी अधिकांश किशोरीलाई विद्यालयबाटै खोप दिइने र विद्यालय नजाने किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थाबाट खोप सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । एचपिभी खोप कार्यक्रमका लागि कार्यालयले २९८ विद्यालयका लागि १७१ वटा खोप केन्द्र निर्धारण गरेको छ ।
तनहुँमा सञ्चालन हुन लागेको एचपिभी खोप कार्यक्रमले जिल्लामा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्दै किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा कार्यालयले गरेको छ ।










