मादी उपत्यका र नदीतटमा रहेका प्रमुख तीर्थस्थलहरु

देव वस्न्यात

मादी उपत्यकामा रहेका प्रमुख तीर्थस्थलहरु र तीनको संक्षिप्त वर्णन ।

कोलाहल पर्वत रानी गिरीका

महाभारतकालमा एकजना राजा उपरीचर थिए। राजा उपरीचरको तपश्याले देवराज इन्द्रको आशन हल्लियो । देवराज इन्द्रले वशुलाई चेदी देशका राजा बनाएर पुष्पक विमान पनि उपहार दिएका थिए। इन्द्रले दिएको विमानद्वारा आकासमार्गमा डुलफिर गरी हिंड्ने राजा भएकाले उनलाई राजा उपरीचर भन्न थालियो । तर उनको वास्तविक नाम वसु थियो। राजा उपरीचरको  रानीको नाम  गिरीका थियो। रानी गिरीकाको जन्म विषयमा महाभारतमा एउटा रोचक कथा पाइन्छ । एक पटक अन्नापूर्ण हिम श्रृंखलाका कोलाहल पर्वत -अन्नापूर्ण दोश्रो अन्नापूर्ण चौथो)मा पहिरो जाँदा शुक्तिमती -मादी) नदी थुनिन गयो। कोलाहल पर्वतमा आएको पहिरोको कारणले शुक्तिमती -मादी) नदी थुनिएर ठूलो ताल बन्न गयो। त्यही ताललाई अहिले कपुचे ताल भनिन्छ। कोलाहल पर्वत र शुक्तिमती नदीको मिलनले शुक्तिमतीका गर्भबाट जुम्ल्याहा सन्तानको रुपमा एक पुत्र र छोरी गिरीकाको जन्म भयो । अन्ततः जवान गिरीकासंग चेदी देशका राजा उपरीचर वशुले विवाह गरे भने जेठानलाई आफ्नो सेनाको सेनापति बनाएका थिए। झट्ट हेर्दा अन्नापूर्ण दोश्रो र चौथोमा आएको कोलाहल पहिरोले आजसम्म शुक्तिमती नदीमा क्हपुचे -कपुचे) ताल बन्न गएको अति सान्दर्भिक देखिन्छ ।
त्यही कपुचे ताल राजा उपरीचरका रानीको माइतीघर भएकाले पनि धार्मिक महत्व बोकेको ताल मान्न सकिन्छ। लामो समय पछि राजा उपरीचर वसु पितृको लागि द्वैत -सपनकोटको र क्यामिन) वनमा सिकार खेल्न जाँदा राजाले रानी गिरिकालाई पठाएको वीर्य -शक्ति) मादी नदीमा खस्न पुग्दा मादी नदीमा श्रापित भइ माछाको जीवन यापन गरी रहेकी अद्रिका अप्सराले खाइदिंदा मत्स्यराज र मत्स्यकन्या जुम्ल्याह सन्तानको जन्म हुन पुगेको कथा व्यास रचित महाभारतमा पढन पाइन्छ । तिनै मत्स्यकन्या र ऋषि पराशरको संसर्गले श्रीकृष्ण द्वैपायन वेदव्यासको जन्म हुन पुगेको थियो ।

कपुचे ताल

कपुचे ताल कपुचे ताले मादी गाउँ पालिका वडा नं. १ मा पर्दछ । यो ताल २४२१ मिटरको उचाइमा रहेको छ। कुनै समयमा अन्नापूर्णा दोश्रो र अन्नापूर्ण चौथो हिमालको बीचबाट आएको हिमपहिरोले कपुचे ताल बन्न पुगेको हो। यो विश्वकै कम उचाइमा रहेको हिमताल हो । यस तालले करिव १०४४० वर्गा किलोमिटरमा फैलिएको छ । हरियो र निलो रङको तालको पानीमा घामका किरणहरु पर्दा देखिने दृष्य नै यहाँको प्रमुख आकर्षण मानिन्छ । यहाँ निवासी गुरुङहरु यस ताललाई क्हफुचे ताल भन्न रुचाउँछन। जस्को भावार्थ क्ह भन्नाले हिंउँ, फू को अर्थ डल्लो र चे को अर्थ समथर भूभाग भन्ने जनाउँछ । अन्नापूर्ण हिम श्रृंखलाको काखमा प्रकृतिप्रद्धत्त यस तालमा स्नान गरेमा भगवान सदाशिव र माता पार्वती शुभआशिष मिली धर्म, अर्थ, कामबाट मोक्ष प्राप्त हुने जनविश्वास रहंदै आएको छ ।

ठूलो दूधपोखरी

ताङतिङ गाउँ लमजुङ र मनाङ जाने पदमार्ग पनि हो। ताङतिङको उत्तर पूर्वमा लमजुङ र मनाङ जिल्लामा रहेका दूघपोखरीहरु मध्ये मनाङ र लमजुङको दोसाँधमा लगभग ४५७० मिटरको उचाइमा रहेको सबै भन्दा ठूलो दूधपोखरी-हिमताल)मा कठिन यात्रा तय गरेर मात्र पुग्न सकिन्छ। बाटोमा लज तथा भेडगोठहरु अप्रयाप्त भएकाले यात्रा गर्दा खाने पिउने र बस्नका लागि सरसामानहरु आफैले व्यवस्था गरेर मात्र यात्रा तय गर्नु पर्दछ । यहाँ हरेक वर्षको जनैपूर्णिमाको दिन मेला भर्न आउने भक्तहरुको ठूलो मेला लाग्दछ । ताङतिङ बाटै नामुन भञ्ज्याङ हुँद ५५६० मिटिर उचाइमा रहेको मनाङ जिल्लाको तिमाङमा पुग्न सकिन्छ ।

ताङतिङका गुम्बा

कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं २ मा पर्ने ताङतिङ बौद्ध, वोन र हिन्दु धर्मालम्वीहरुको बसोबास स्थल हो। यहाँ स्थापना गरिएको गुम्बामा शाक्यमुनी बुद्ध र पद्यसंभवका मूर्तिहरु रहेका छन् । यहाँ दैनिक पूजाआजा हुँदै आएका पाइन्छ । यो गुम्बा १६६० मिटर उचाइमा स्थापना गरिएको छ । यसको पूर्वमा गुरुङहरु मौलिक थलो क्वोंलासोथर, मादी गाउँपालिका सिक्लेस गाउँहरु रहेका छन् । यहाँको गुरुङ भाषामा  ताङतिङलाई तोनीनिसा पनि भन्ने गरिन्छ । यसै गरी स्थानीय गुरुङ भाषामा तोउँ भनेको रमाइलो र नासा भनेका गाउँ बुझाउने गर्दछ। यस रमाइलो गाउँमा १०० भन्दा बढी घरधुरी रहेको र यस गाउँको पुच्छारमा स्थापना गरिएको यस गुम्बाले यहाँका स्थानीय गुरुङहरु परम्परागत संस्कृति, रहनसहन र चालचलनलाई जोगाइ राख्न विशेष मद्दत पुर्याएको छ । यहाँबाट अन्नपूर्ण पहिलो दोश्रो, तेश्रो चौथो र लमजुङ हिमाल समेतको मनोरम दृष्यको सहजै अवलोकन गर्न सकिन्छ। विशेष गरेर यहाँका वासिन्दाहरु भीर माहुरीको सिकारमा पनि ब्यस्त रहने गर्दछन् ।

भगवती मन्दिर

कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ११ भगवतीटारमा भगवतीको मन्दिरको स्थापना गरिएको छ। यो मन्दिर मादी नदीको किनारमा रहेको एउटा सुन्दर तीर्थस्थल हो । यहाँं हरेक माघे संक्रान्तिको अवसरमा मेला भर्ने भक्तजनहरुको भिड रहने गर्दछ । भक्तहरु आफ्नो आँटे ताकेको कुरा पुराहोस भन्ने कामनाका साथ भगवतिको भाकल गर्दछन्। भाकलीहरुले भगवतीलाई कामना अनुसारको बलि चढाउने परम्परा पनि जीवन्त रहेको पाउँदछौं ।
विशेष गरेर माघे संक्रान्तिको जात्राको शुभअवसर पारेर यहाँका कल्वतथा स्थानीय पालिकाहरुको संयुक्त सहकार्यमा  भलिवल प्रतियोगिता हुने गर्दछ। यसै गरी यहाँका भक्तजनहरु पनि स्पूर्त रुपमा  भजन, चुड्का, सोरठी, घाटु, कौरा नाच छेलो लगायतका प्रतियोगिताहरु पनि सञ्चालन गर्ने परम्परा आजसम्म रहेको छ । ठाडोभाका तथा झ्याउरे भाकाका लोकगीतका पारखीहरु बीच यहाँ राष्ट्रिय तथा स्थानीय रुपमा पनि दोहोरी गीत प्रतियोगिताहरु सञ्चालन गरेको पाइन्छ ।

लम्तरी मन्दिर

कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १० को भानचोक गाउँमा अवस्थित लम्तरी डाँडामा देवीको मन्दिर स्थापना गरिएको छ । लम्तरी डाँडामा मन्दिर स्थापना गरिएकाले यहाँ स्थापना गरिएको देवीको नाम पनि लम्तरीदेवी नै राखिएको छ। पतिराम गुरुङले निर्माण गरेको पुरानो मन्दिर जीर्ण भएकाले पुनः इश्वर बहादुर गुरुङको सक्रियतामा यहाँका नादा समाजको तमुहरु र नेपाल सरकारको करिव ३ करोडको लगानीमा मन्दिरको निर्माण कार्य सम्पन्न गरेको पाइन्छ । यस मन्दिरमा विशेष गरेर हरेक वर्ष कार्तिक र चैत्र महिनामा पूजाआजा गर्ने परम्परा रहेको छ। मन्दिर निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रको धार्मिक महत्व दिन प्रतिदिन बढदै गएको महसुस गरिएको छ ।

इशानेश्वर महादेव मन्दिर करापुटार

इशानेश्वर महादेव मन्दिर मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटारमा पर्दछ । इशानेश्वर महादेव मन्दिर काठमाडौंको पशुपति नाथ पछिको सबै भन्दा महत्वपूर्ण धार्मिक स्थलका रुपमा मान्दै आएकोे पाउँदछौं । सन्तान शुख प्राप्त होस भनि रातभर जाग्राम बसेर यहाँ हजारौं भक्तजनहरुले ठाडोबत्ती बाल्ने प्रचलन रहेको छ । इशानेश्वर महादेवलाई कसैले सन्तानेश्वर महादेव र कसैले तारकेश्वर महादेव र कसैले पृथ्वीमण्डलको इशानकोणमा अवस्थित भएकाले इशानेश्वर महादेवकोे रुपमा पनि पूजाआजा र आरधना गर्दै आएको पाउँदछौं। इशानेश्वर महादेवको उत्पति कथा अनौठो एवं रोचक रहेको छ। आज भन्दा ६०० वर्ष पहिला चिसंकुका शिवदास पोखरेलले धानको बिउ राख्न हल गोरु लिएर जोत्न लगाउँदा हलोको फालिको टुप्पोले शिवलिङ्ग स्वरुपको शिला जोतिन पुग्दा भलभलती रगत बगेको र जोत्न प्रयोग गरिएका गोरुहरु सहित हलिको पनि मृत्यु भएको जनोक्तिहरु सुन्नमा पाइन्छ । तथापि श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकी हिंड्दा यस स्थानमा सतीदेवीको दाहिने तिघ्रा पतन भएको कथा सुन्नमा पाइन्छ ।
त्यसपछि करापुटारमा इन्द्राक्षीदेवी अर्धगामिनी योगिनी र तारकेश्वर महादेव उत्पन्न भइ शिवशक्ति स्वरुपले रहेको कुरा हिमवत खण्डमा उल्लेख गरिएको कुरा धार्मिक विश्वास पाइन्छ । शाकेसम्वत १४१४ मा गोरखाका राजा कृष्ण शाहले पुत्र प्राप्त होस भनि ठाडो बत्तीबली पूजा आरधना गरेको र महादेवको आर्शिवादले रुद्रशाह नामक पुत्र लाभ भएको भनाइ पनि सुन्नमा पाइन्छ। शाके १६९४ लमजुङका राजा वीरनारायण शाह र उनकी रानीहरु शालधरा, शकलानकुमारीहरुले ९३५ माटोमुरी मन्दिरका लागि गुठी जग्गा उपलव्ध गराइएको कुरा मन्दिर प्राङ्गणमा राखिएको शिलालेखले बताउँछ । त्यही गुठी जग्गाबाट प्राप्त हुन आउने आम्दानीबाट यस मन्दिरको पूजाआजा हुँदै आएको छ ।

जटेश्वर महादेव मन्दिर रुपाकोट

जग्गा उपलव्ध जटोश्वर बूढामहादेव मन्दिर रुपाकोट गाउँपालिका र मध्यनेपाल नगरपालिका करापुटारको बीचको मादीनदी किनारमा रहेको छ। मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटार महादेवको प्रख्यातिले जटेश्वर महादेव मन्दिर ओझेलमा पर्न गएको हो ।

तारकेश्वर महादेव पोल्याङ

कुनै एक दिन ताराकाशूर योद्धा घुम्दै फिर्दै कर्पुटारमा पुग्यो । तारकाशूर वीर आँटिलो र सुरो पनि थियो । उस्ले पौडी खेल्ने पोखरीमा महादेव र पार्वती जलक्रिडा गर्दै थिए । आफुले पौडी खेल्ने गरेको तलाउको पानी महादेव पार्वतीले धमिल्याएको कारण तारकाशुर खुबै रिसायो। महादेवलाई नचिनेको कारण तारकाशूरले महादेवलाई खुब गाली पनि ग¥यो । तारकाशुरको गाली सुनेर महादेव पनि रिसाए । अन्ततः महादेवले तारकाशूरलाई युद्ध लड्नलाई हाँक दिए । महादेव र तारकाशूर बीच घमसान मल्लयुद्ध भयो । मल्लयुद्धमा तारकाशूरले महादेवलाई हराउन नसकेपछि तारकाशूरले शस्त्र युद्ध गर्ने हाँक दियो । ताराकाशूरले हानेका सबै शस्त्रअस्त्र महादेवले निलीदिनुभयो । आफ्ना अस्त्र काम नलाग्ने भएकाले डरका मारे तारकाशूर त्यहाँबाट कुलेलम भाग्यो ।
तारकाशूरको हंशले ठाउँ छोड्दै गयो। तारकाशूर ज्यान जोगाउनका लागि अझ बेगले दगुर्दै गयो । दाङसीम¥याङ नजिकको सानो खोल्सी फड्कंदा शिवजीको त्रिशुलका भेदनले तारकाशुरको देहत्याग ग¥यो । तारकाशुरको पार्थिव शरिर पोल्याङमा जलाइयो । तारकाशुरको अस्तु शेषघाटमा लगेर विसर्जन गरियो भने नजलेको अङ्ग सोही ठाउँमा खाल्टो खनेर गाडियो । शिवको हातबाट मृत्यु भएकोले शिवकृपाले तारकाशूर वीरको नामबाट ताराकाशूर महादेव उत्पति भइ शिवशक्तिरुपले रहे। अहिले पोल्याङमा उनै तारकेश्वर महादेवको विरात्री र बालचर्तुदशीमा पूजाआजा गंर्दै आएको पाउँदछौं ।

श्मसानकाली घाटकी देवी शिःसाघाट

पूर्वीय परम्परा अनुसार भगवती कालीका दश रुप रहेको पाउँदछौं जसलाई दश महाविद्या पनि भन्ने गरिन्छ । महाकाली, मातगी काली, छिन्नामस्ती काली, श्मसानकाली, बगलाकाली भैरवीकाली तारादेवी, स्वादशी काली, कमलादेवी र धुमावती काली समेत दशवटा कालीका रुप पाइएका छन् । घाटमा वास गर्ने भएकी कालीलाई मसान काली भनेर पुकारिन्छ । शिःसाघाट निवासीहरु घाटकी देवीलाई इष्टदेवी मानेर पूजाआजा गर्दै आइरहेको पाउँदछौं । यहाँ हरेक ठूलो एकादशीमा फूलतार्ने मेला लाग्ने गरेको पाउँदछौं । फूलतार्ने कामको साथसाथै यहाँ ठाडोभाकामा लोकगीत र ठेलोहान्ने जात्रा पनि लाग्ने गर्दछ ।

शिःसाकोटी महादेव तथा गौरी शङ्कर महादेव शिःसाघाट

तनहुँको शिंसाघाट तर्फ शिःसाकोटी महादेव र लमजुङको मध्यनेपाल नगरपालिकाको दुइपिपले तर्फ गौरी शङ्कर महादेवको मन्दिरहरु रहेका छन्। शिःसाघाट बजारको दक्षिण भागमा हात्ती गैरा नामको स्थान रहेको छ। यहाँका तान्त्रिक साधकहरु मध्यरातमा निर्वस्त्र भएर अर्धनारीश्वर स्वरुपका शिःसाकोटी महादेवको पूजा आरधना गर्दथे भन्ने नेपाल सरकारका अवकाश प्रप्त उपसचिव उत्तम नागिलाले बताए। यहाँ स्थित गुफामा शिवपार्वती, कामधेनु गाइका थुनहरु लगायत विभिन्न देवी–देवताहरुको आकृति देख्न पाइन्छ । कुनै एक समयमा जगत सृष्टिको क्रममा ब्रह्माले पुरुषहरुको मात्र रचना गर्दा सृष्टिमा निरन्तरता हुने लक्षण देखिएन । आफ्नो सृष्टिकार्य अधुरो भएकाले ब्रह्माले शिवजीको तपस्या गरे। भगवान शिवजी खुसी भइ यही शिःसाघाटमा महिला पुरुष दुवैको स्वरुप युक्त अर्धनारीश्वर स्वरुप ब्रह्मालाई देखाइ दिएकोले ब्रह्माले पुरुषका साथमा नारीको पनि सृष्टि गरेका हुन भन्ने शास्त्रीय मत पनि सुन्नमा पाइन्छ । महादेव पार्वती -शिःसाकोटीमहादेव) गुफासंगै श्री ३ जङ्गबहादुर राणाको मित ढुङ्गा पनि आडैमा रहेको पाइन्छ ।

शेषटार र शेषघाट

शेषटार नजिकको मोदी र मादी वेनीमा तारकाशूरको अस्तु जलाइएको हुनाले अहिले सो स्थानलाई शेषघाट नामले पुकार्ने गरिएको छ। गण्डकीका अन्य जलाधारका मानिसहरुले मृत ब्यक्तिको अस्तु कालीगण्डकीमा लगेर विसर्जन गर्ने प्रचलन रहेपनि मादी जलाधार क्षेत्रका तनहुँ, लमजुङ र कास्कीका ब्यक्तिहरुको लाश जलाइ बाँकी रहेको अस्तु यही शेषघाटमा विर्सजन गर्दथे भन्ने लोक कहावत अद्यापि सुन्नमा पाइन्छ ।

पितृघाट

पितृघाट व्यास नगरपालिकाको वडा नं. ६ र ७ बीच बहने मादीनदीमा पर्दछ । मादी नदी अन्नपूर्ण हिमश्रृंखलाको पेरी हिमाललाई मुहान बनाएर मादी गाउँपालिका, मध्यनेपाल नगरपालिका रुपा गाउँपालिका, व्यास नगरपालिका–६ शिःसाघाट हुँदै दमौली पुगेर सेती नदीमा समाहित हुन पुग्दछ । शिःसाघाट उपत्यका भित्रै मादी नदीको जलाधार क्षेत्रमा समाहित हुन आउने मादी–मोदी बेनीमा शेषघाट र मादी लामादी बेनीमा पितृघाट तीर्थस्थलहरु रहेका छन्। यही घाटको दायाँवायाँमा महाभारतमा वर्णित द्वैतवन, अद्रिका, चिरिका र हर्किसरा अप्सराहरुको कृडाथलोमा माछीको रुप धारण गरेकी अद्रिका अप्सराको शिला, अन्नापूर्णा हिमालको आकृति मिल्ने गणेश शिला र विशाल पाथर -न्यौपाने कुलायन मन्दिर रहेको पत्थर शिला) पनि यहीं स्थित दुलैपानीमा नै भेटिन्छन् ।
मादी जलाधरक्षेत्र बाहिरका मानिसहरु पितृको अस्तु कालीगण्डकीमा विसर्जन गर्न लग्ने गरेता पनि कास्की लमजुङ र तनहुँका मादी जलाधार क्षेत्रका नागरिकहरुले मृत व्यक्तिको अस्तु यही पितृघाटमा विर्सजन गर्ने भएकाले यस घाटलाई पितृघाट भन्ने गरिएको किंवदन्ती सुन्नमा पाइन्छ। त्यही पितृघाट शब्द अपभ्रंश हुन गइ पित्तरघाटबाट पत्थरघाट हुँदै अहिले आएर पाथरघाट नामले सम्वोधित हुन पुगेको तितो सत्य हो। यहाँका स्थानीय दराइ, बोटेहरुले दशहराका दिन यही घाटमा आएर गण्डकी पूजा गर्ने परम्परा अझै पनि जीवन्त रहेको पाउँदछौ। यही घाटमा कौडिन्य गोत्रका न्यौपानेहरुको कुलायन मन्दिर पनि मादी नदीको वारपारी दुवै ठाउँमा देख्न पाइन्छ ।

पण्डित रामनाथ लम्साल र पाथ्राको मत्स्यशिला

व्यास नगरपालिका वडा नं. ७ पाथ्रामा मत्स्य शिला रहेको छ । यस विषयमा व्यास–८ निवासी रामनाथ लम्सालले महर्षि वेदव्यासको हजुरआमा -अद्रिका अप्सरा)को शिला भएको कुरा प्रचार प्रसार गरेपछि यसको महत्व दिन प्रतिदिन बढदै गएको छ। व्यास न.पा. ७ का पूर्व वडाअध्यक्ष सतिश न्यौपानेका अनुसार पुरातात्विक तथा प्राकृतिक सम्पदा खोज अभियानमा सकृय व्यास–५ निवासी डा. विद्युतकेशरी न्यौपाने र व्यास–२ निवासी देव बस्न्यातको टोली पनि सम्वधित स्थानमा पुगेका थियो। नभन्दै उक्त शिला व्यास न.पा. वडा नं. ७ का वर्तमान वडाअध्यक्ष कृष्ण न्यौपाने एवं नीजकै भाइ दिपेन्द्र न्यौपानेको घर पछाडि क्यामिन कालिका मन्दिर जाने कच्ची मोटरबाटो स्थित मत्स्यशिला चोकमा माछा आकारको शिला भेटियो। व्यास–९ बर्लाची निवासी रामनाथ लम्सालका अनुसार उक्त शिला महर्षि वेदव्यासको हजुरआमा -अद्रिका अप्सरा)को पौराणिक महत्वको शिला मानिएको छ ।

कलेस्तीघाट शिवमन्दिर

काठमाडौंबाट कलेस्ती बसाइ सर्न आइपुगेका शेषवीर जङ्गबहादुर राणाले आफ्नै नीजि लागतमा वि.सं. २०४२ सालमा कलेस्ती खोला र मादी नदीको बेनीमा शिव मन्दिर निर्माण गर्नु भएको थियो । मन्दिर जीर्ण भएकोले अहिले पुरानो मन्दिर भत्काइ रमेशचन्द्र वाग्लेको अध्यक्षतामा गठित उपभोक्ता समितिले गण्डकी प्रदेश सरकारबाट विनियोजित भएको रु १,५१,२६,२२३/– को लागतमा वि.सं. २०८२ सालमा शिव मन्दिर निर्माण कार्य सम्पन्न गरेको पाइन्छ ।

छाङ्गा वाराही मन्दिर

छाङ्गा वाराही मन्दिर व्यास नगरपालिका वडा नं. १० दुम्सी बजारमा पर्दछ । दुम्सी क्षेत्र दराइ र बोटेहरुको बसोबास रहेको स्थल हो । आज भन्दा ६० वर्ष पहिले यहाँका एक जना रैथाने दराइलाई खोलामा घाँस काट्दा काट्दै हातमा पिडा महसुस बढदै गयो । दराइ ६ महिनासम्म थलामा परे । बिस्तारै बिस्तारै उनी हिंड्नै नसक्ने भए । यसै गरी यहाँका अन्य वासिन्दाहरु पनि लामो समय विरामी भइरहे । कविराज बैद्य र गुरौहरुबाट दवाइ पानी र झारफुक गर्दा पनि कोही कसैलाई सुधार भएन। कास्की थुम्की गा.वि.स.का कालु जैसीलाई हेराउन जाँदा दुम्सीको खहरे खोलामा घाँस काट्न जाँदा वाराही माइको शिला कुल्चिएको र यहाँको कुण्डमा देखिएका माछाहरु मारेर खाएको, र वारहीमाइको सघन क्षेत्रमा दिशापिसाव गरी फोहर गरेको हुनाले यहाँका वासिन्दासंग वाराहीमाइ रिसाएर यहाँक मानिसहरु बिरामी भएका कुरा कालु जैसीले बताए ।
कालु जैसीले छाङ्गा वाराही माइको मन्दिर निर्माण गरी खहरे खोलामा रहेको वाराहीमाइको शिला मन्दिरमा स्थापना गरी पूजाआजा गरेमा सबै विरामीहरु निको हुने बताए । विगतका गल्तीहरु माफ गरी दिनुहोला भनी वाराहीमाइको भाकल गर्ना साथ गाउँका विरामीहरु क्रमशः निको हुँदै गए । त्यही बेलादेखि वाराही मन्दिरमा बलि सहितको पूजाआजा हुँदै आएको छ । छाब्दी वाराहीमा जस्तै यहाँ पनि माछा पौडने जलकुण्ड रहेको छ । माछा तथा रजवामहरु पौडी रहेको अनुपम दृष्य हेर्न भक्तहरुको भिड लाग्ने गर्दछ। अन्ततः छाङ्गा वाराहीमाई वरदायिनी भएको सबैमा पूर्णविश्वास रहंदै आएको छ ।

शिद्धिविनायक त्रिपुरेश्वर महादेव मन्दिर

शिद्यिविनाकयक त्रिपुरेश्वर महादेव मन्दिर ब्यास नगरपालिका वडा नं. १० बैरेनीको गणेश टोलमा रहेको छ । यस मन्दिरको निर्माण २०४३ साल बैशाख १ गतेका दिन सम्पन्न भएको हो । तीन ठाउँको संगम पर्ने भएकोले यस मन्दिरको नाम त्रिपुरेश्वरमहादेव मन्दिर राखिएको हो। यस मन्दिरमा नियमित पूजाको अतिरिक्त शिवरात्री, बालचर्तुदशी र पुरुषोत्तम  महिनामा मेला पर्वका साथसाथै विशेष पूजाआजा हुँदै आएको छ ।

दुमदुमेश्वर महादेव मन्दिर

दुमदुमेश्वर महादेव मन्दिरको वि.सं २०३४ सालमा व्यास–१० स्थित दुम्सीमा विधिवत स्थापना गरिएको थियो । यस मन्दिरको दैनिक पुजाआजा प्रवन्धको लागि  पुजारीको रुपमा हिरा दाहाल रहनु भएको छ । यस मन्दिरमा प्रत्येक वर्ष शिवरात्रीमा बत्ती बाल्ने, श्रावणदेखि कार्तिकसम्म पुरुषोत्तम माहात्म्य लगाउने र बैशाख महिनामा बैशाख माहात्म्यम् लगाउंदै आइएको पाइन्छ। यस मन्दिरको नाम महान योगी नरहरिनाथले राख्नु भएको स्थानियवासीहरुको भनाइरहेको छ ।

जलवाराही मन्दिर

जल वारही मन्दिर ब्यास–१० बैरेनीटारमा रहेको छ । व्यास–१० बैरेनी निवसी रत्न बहादुर बोटेको नाति मंगल बहादुर बोटे मादी नदीमा माछा मार्न जाँदा ढुङ्गा भित्र लुकेको माछा मार्नको लागि पानी भित्रबाट उठाएको अर्को ढुङ्गालाई हेर्दा रजबामको आकृतीको शिलादेखि सो शिलालाई मादी नदी भुण्डे खोलाको दोभानबाट बाजा बजाउँदै गाउँसम्म ल्याएर  जलवाराही देवीको रुपमा स्थापना गरी पूजाआजा गर्दै आइरहेको पाउँदछौं। जलवाराही माइको पूजाआजा गर्न थालेपछि गाउँलेहरुमा रोगव्याध हटी सुख शान्ति छाएको  बताइन्छ । यहाँ नियमित रुपमा कोरी पूजा गरिन्छ भने बडादशैं चैतेदशैं र अष्टमी तिथिका दिनहरुमा हाँस, कुखुरा, राँगा, परेवाहरुको जिव बलि दिएर विशेष पूजा आरधना हुने गर्दछ ।

इशानेश्वर महादेव मन्दिर बैरेनी

इशानेश्वर महादेव करापुटार जान टाढा महसुस गरी ब्यास नगरपालिका–१० बैरेनीका सचेत नागरिकहरुले वि.सं २०५५ सालमा इशानेश्वर हादुव मन्दिर स्थापना गरेका हुन् । यहाँ शिवरात्री, बाल चर्तुदशीका समयमा विशेष मेला लाग्ने र अन्य दिनहरुमा नियमित रुपमा पूजाआरधना हुँदै आएको छ। श्रावण महिनाको सोमवार, जनै पूर्णिमाको दिन र ऋषि पञ्चमीका दिनहरुमा पनि भक्तहरुको उल्लेखनीय उपस्थिति रहने गर्दछ ।

इशानेश्वर महादेव मन्दिर पत्यानीटार

इशानेश्वर महादेव मन्दिर  व्यास नगरपालिका–६ सांगे पत्यानीटारमा पर्दछ । यो मन्दिर वि.सं. २०६८ सालमा निर्माण गरिएको हो । मन्दिर स्थापना गरिनु पूर्व यहाँ पत्थरशिला स्थापना गरी इशानेश्वर महादेवको पूजाआजा गरिदै आइएको थियो। बालचर्तुदशी, शिवरात्री, जनै पूर्णिमा र ऋषि पञ्चमीका दिन यहाँ विशेष पूजाआजा र मेला लाग्ने गर्दछ । मध्यनेपाल नगरपालिका–७ लमजुङ्गको करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिरसम्म तीर्थयात्रीहरु जानलाई कठिनाइ हुने महसुस भएकाले भक्तहरुको सुविधाका लागि इशानकोणको दिशा पारी यहांका स्थानीयवासीहरुले इशानेश्वर महादेव मन्दिरको निर्माण गरेका हुन् ।

तमु क्योहोइवो

तमुक्योहोइवो -ध्याङ्ग) व्यास नगरपालिकाको विभिन्न वडामा बसोबास गर्ने तमुहरुले वि.सं. २०६४ साल पौष १५ गतेका दिन अर्थात चुल्होसारको शुभअवसरमा क्योहोवो निर्माण कार्य सम्पन्न  गरेका हुन् । झांक्री धर्म मान्ने घ्याप्रिङ्ग प्हच्युहरुले मृतक परिवारका आसौचको काय गर्दा घ्याप्रिङ्गलाई लगाउने गर्दछन्। आसोचको बेला घ्याप्रिङ प्हच्युहरुले एका तर्पm मात्र मोहोरिएकोे ढ्याङ्ग्रो प्रयोग गर्ने गरेको पाइन्छ । हरेक वर्ष १५ पौष दिन तमुहरुले ल्होसार पर्व -नयांवर्ष) धुमधामका साथ मनाउँदै आएका छन । यसै गरी बैशाख पूर्णिमाका दिन पितृहरुको सम्झनामा बाजेबजै पूजा र चैत्र महिनामा घांटु नाच लगाउने प्रचलन पनि रहेकोछ ।
वोन धर्म हुम्ला निवासी वोन्पा शेरावले चलाएका हुन् । यो आफ्नै दर्शन भएको धर्म हो । वौद्ध धर्म जस्तै हिन्दु सनातन धर्मबाट नै वोन धर्मको विकास भएको हो । वोनपा सेरावबाट नयाँ दर्शनको परिष्कृत सम्पादन गरिएको हुनाले उनैको नामबाट वोन शब्दको प्रयोग गरिएको हो -मुस्ताङ्ग दिग्दर्शन–पेज १२७) । वौद्धधर्म भन्दा ज्यादै पुरानो वोनधर्मलाई तिब्बतबाट विस्थापित गराउना वौद्ध धर्मालम्वी लामाहरुको ठूलो हात रहेको छ। आफ्ना धर्म र कुल संरक्षणको लागि तिब्बतबाट नेपाल पसेका गुरुङ्ग र थकालीहरुको आफ्नै पैतृक संस्कृतिको रुपमा यस धर्मलाइ हेर्ने गरेको पाउँदछौं ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker