झिंगु नेवा पुचः डुम्रेको अध्यक्षमा सुनिल

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेको झिंगु नेवा पुचःको दशौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको बन्दीपुर गाउँपालिका–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले उद्घाटन गर्दै विभिन्न जातजाति तथा समुदायले आफ्नो मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘समुदायको पहिचान जोगाउन सांस्कृतिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहने छ ।’
कार्यक्रममा नेवा देय दवु जिल्ला अध्यक्ष किसान प्रधान, राजेश पिया, राजेन्द्र पिया लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, दशौँ साधारण सभा तथा चौथो अधिवेशनले सुनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा तारा पिया, कोषाध्यक्षमा अर्जुन श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक राजेन्द्र पियाले जानकारी दिए ।
त्यस्तै सदस्यहरूमा सुलभकुमार श्रेष्ठ, रविन्द्र श्रेष्ठ, लक्ष्मण जोशी, शर्मिला श्रेष्ठ र विशाल श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । नव निर्वाचित कार्यसमितिले नेवार समुदायको भाषा, संस्कृति तथा परम्पराको संरक्षण गर्दै संस्थालाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।










