डमौली “दमौली” बन्यो, तर नासियो डमौलीको सभ्यता !

नारायण खड्का

चन्द्र बहादुर दरै उमेरले सात दशक कटे । तनहुँको व्यास नगरपालिका-१ भादगाउँका बासिन्दा दरै दमौलीलाई डमौली नामबाट चिन्छन्। वि.सं. २००८ सालमा जन्मेर यही डमौलीमा हुर्किएका चन्द्र बहादुर दरै यो दमौली भन्दा त्यो डमौली नै रमाइलो भएको स्मरण गर्छन ।

तनहुँको सदरमुकाम दमौलीलाई अघिल्लो पुस्ताले डमौली भनेर चिन्छन् । त्यही डमौलीमा दरै, बोटे समुदायको वाहुल्यता थियो । तनहुँ मगर समुदायको पनि बाक्लो बस्ति भएको जिल्ला हो । डमौली र डमौलीबाट दमौली नामाकरणका विषयमा धेरै कथनहरु भेटिन्छन् ।

मगर जातिको घना बस्ती रहेको यस क्षेत्र वरपराका प्रायः ठाउँको नाममा ‘डी’ जोडिएको पाइन्छ । मगर समुदायले पानीलाई डी भन्छन् । शुक्ला (सेती) र माहेन्द्री (मादी) नदी अन्नपूर्ण हिमश्रृंखलाको छुट्टाछुट्टै मुहान उद्गमस्थल भई डमौलीमा आई मिल्नुका साथै प्रसस्त पानीको मूल भएको ठाउँ भएकाले डिमूली भन्ने गरिएको पनि पाइन्छ । डिमूलीबाट डमौली भन्दै गर्दा हालको दमौली नामाकरण हुन गएको मानिन्छ । डमौली नामाकरणको सम्बन्धमा भएका थुप्रै तर्कहरु मध्ये एउटा यसलाई पनि लिइन्छ ।

मुख्यत, डमौली बिगत केही वर्ष अघिसम्म टाप्रेघारी हो । यहाँ दरै र बोटे समुदायको बसोवास रहेको थियो । गाईगोरु, बाख्रा पाल्ने, घइया धान, भट्टमास, मकै लगायतको खेती गरी जिविकोपार्जन गर्नुका साथै बोटे समुदायले माछा मार्ने, ढुङ्गा तार्ने गरेको चन्द्र बहादुर दरै सम्झन्छन् । यो, त्यो डमौलीको सभ्यता हो । तर, अहिले यो सभ्यता लोप भएको छ ।

‘डमौलीमा हामी दरै, बोटे वस्तुभाऊ पाल्ने, घइया, मकै, मास लगायतको खेतीपाती गथ्र्यौ, त्यसैबाट गुजरा चल्थ्यो । औलो लाग्छ भनेर गाउँका मान्छे डमौली आएर बस्न डराउँथे त्यतिबेला’, उनले भने, ‘जिल्ला सदरमुकाम आयो, रोड आयो अहिले नगरपालिका छ । डमौली त कता हरायो कुन्नी ? अहिले त दरैबोटेहरु पनि भेट्न गारो छ । चरिचरान नभएकाले वस्तुभाऊ पनि पाल्न छाडिसकियो । खेती गर्ने बारीमा जम्मै घरैघर छन् ।’

तनहुँको सदरमुकाम बन्दिपुरबाट वि.सं. २०२५ मंसिर १ गते तत्कालिन सरकारको निर्णयानुसार दमौलीमा स्थान्तरण गरिएको थियो । सोही समयमा पृथ्वीराजमार्गको पनि विस्तार भएको हो । जिल्ला सदरमुकाम दमौलीमा स्थान्तरण भयो, राजमार्ग पनि आएपछि विस्तारै डमौली ‘दमौली’ बन्दै गएको हो । दमौली गाउँ पञ्चायत, दमौली गाउँ विकास समिति हुँदै २०४६ सालको राजनैतिक परिवर्तन पछि तत्कालिन सरकारले २०४८ साल चैत्र ३० गते व्यास नगरपालिका घोषणा गरेको थियो ।

दमौली सफा सडक २०७९

जिल्लाको सदरमुकाम दमौली, जिल्लाको पहिलो नगर व्यास नगरपालिकाको वडा नं. २, ३ र ४ क्षेत्र अहिले दमौलीका नामले चिनिन्छ । डमौलीबाट दमौली बन्यो, बर्साईसर्राई गरी आउने मानिसको चाप बढेसंगै यस क्षेत्रमा बजारीकरण भएको पाइन्छ । बन्दिपुरबाट सदरमुकाम डमौली स्थान्तरण, पृथ्वी राजमार्गको निर्माण प्रक्रियासंगसंगै शहरीकरणको नक्शाङ्कन र बसोवास पनि द्रूत गतिमा बढ्यो । जर्मन आर्केटेकहबाट योजना तयारपारि बनेको दमौली बजार सायद नेपालकै सबैभन्दा मिलेर बसेको सुन्दर शहर मध्ये एक हो ।

निकै आकर्षक ढंगले दमौली बजार क्षेत्रको नक्शाङ्कन गरिएको भएपनि १/२ आनामा पनि अहिले घर तथा भौतिक संरचनाहरु निर्माण गरिदिंदा दमौलीको सुन्दरतामा आच आएको ७८ वर्षीय देवनिधी पन्थ बताउँछन् । १५ वर्षको उमेरमा डमौली चिनेका पन्थ त्यो बेलाको डमौली र अहिलेको दमौलीमा धेरै परिवर्तन आएको बताउँछन् ।

‘तत्कालिन समयमा डमौली विशेषत ठूलो एकादशी र माघे संक्रान्ति पर्वका समयमा चिनिन्थ्यो । अहिले पनि यी दुइ पर्वमा चहलपहल त हुन्छ तर त्यो समयको जस्तो रौनकता देखिदैन’, पन्थ भन्छन्, ‘भौतिक विकाससंगै डमौलीको नाम त फेरियो तर, यस क्षेत्रका धार्मिक, साँस्कृतिक, प्राकृति तथा यहाँका रैथाने समुदायको जुन रुपमा विकास र संरक्षण हुनुपथ्र्यो त्यो भने हुन सकेन् । डमौलीको सभ्यता नै अहिले हरायो, यसको संरक्षणमा कोही कसैले ध्यान पुर्‍याएको देख्दिन ।’

‘बस्ति विकास भएको छ । यातायातका साधान सडकले थेगिनसक्नु गरी चल्छन् । बजार क्षेत्रमा पैदल हिड्न नसक्ने अवस्था पनि भइसकेको छ । व्यापार व्यवसाय पनि राम्रै फस्टाएको छ । अहिलेको आधुनिक र प्रविधिको समयमा यो हुनु पनि विकास नै हो’, उनले भने, ‘तर, दमौलीको पहिचानसंग जोडिएको व्यास पराशर क्षेत्र, छाब्दी मन्दिर, मादीसेती नदीको संगम स्थल लगायत यस वरपरका क्षेत्रका सभ्यता र सम्पादाको जुन रुपमा विकास र संरक्षण हुनुपथ्र्यो त्यो भने ओझेलमा परेका छन् । यस तर्फयहाँका बासिन्दा, व्यापारी, व्यवसायीले मात्र होइन् उच्च ओहोदामा पुगेका राजनीतिक दलका नेताहरुले पनि ध्यान पुर्‍याएको देखिदैन् ।’

बस्ती विस्तारसंगै यहाँका परम्परागत रैथाने समुदाय, चालचलन, संस्कार, संस्कृति लोपको संघारमा पुगेका छन् । दरै र बोटे समुदायको बस्ती पातलिएको छ । प्रकृति पुजक यो समुदायको परम्परागत संकार संस्कृति लोप हुँदै गएका छन् । दरै र बोटे समुदायको पहिचान झल्कने परम्परागत घुमाउने घर, चिम बारेर (बाँस र बुल्ध्याङ्ग्रोको काठ प्रयोग गरी) माटोले लिपपोत गरी खर तथा स्याउँलाको छानो हाली बनाइएका घर लोप भइसकेका छन् । यी र यस्ता घर अब एकादेशका कथा जस्तै बनिसके ।

यहाँका रैथाने बोटे समुदायले शुक्ला र माहेन्द्री (सेती र मादी) नदीमा माछा मार्ने, काठको ढुङ्गा चलाएर बटुवाहरुलाई नदी वरपार गराउने गर्थे । यी नदीसंग बोटे समुदायको पहिचान, संस्कार, संस्कृति अनि सभ्यता जोडिएको थियो । तर, अहिले यो सबै लोप भएका छन् । बोटे समुदायले पनि समय अनुसार आफ्नो दैनिकी र जीवनशैलीलाई परिवर्तन गरेका छन् । फुर्लुङ, ढडिया र जाल बोकेर माछा मार्न हिड्ने बोटे समुदाय अहिले वैदेशिक रोजगार तथा ज्याला मजदुरी गर्न तर्फउन्मुख छन् ।

यस्तै, भारतको विहार राज्यको सिवाना जिल्लाबाट २०३६ सालमा दमौली आइपुगेका सुरेश साह पनि डमौलीको विकास प्रति दंग छन् । १८ वर्षको उमेरमा मासिक ५० रुपैयाँ तलब लिने गरी डमौलीमा जेरीपुरी लगायतको खाजा बिक्री गर्ने काम गरेका शाह छोटो समयमा डमौलीले काँचुली फेरेर दमौली बनेको बताउँछन् ।

शाह डमौली आउँदा स-साना घरका झुप्रा केही ठूला घर निर्माणका क्रममा थिए। पृथ्वीराजमार्गको विस्तारको काम भइरहेको थियो । गाउँगाउँबाट सदरमुकाम आउनेहरुलाई खाजा खुवाउँन थालेको ४३ वर्ष लागेको साह बताउँछन् । अहिले आफ्नै खाजा पसल समेत सञ्चालन गर्दै आएका छन् । दमौलीको भौतिक विकास जति छिटो भयो सोही अनुसार यहाँको सभ्यताको संरक्षण र सम्पदाको विकास हुन नसकेको उनको बुझाई छ ।

धार्मिक पर्यटकीय हिसावले व्यास परासर क्षेत्र, छाब्दी बाराही मन्दिर, मादीसेती नदीको संगम स्थलको जुन रुपमा विकास हुनुपथ्र्यो त्यो भने नभएको साहको बुझाई छ । यी सम्पदाको पनि समयमै यथोचित विकास भइदिएको भए अहिले दमौलीको पहिचान छुट्टै भइसक्ने थियो । तर, त्यो हुन सकेन । उनको चिया तथा खाजा पसलमा धेरै राजनीतिक गफ चुट्नेहरुको भिड लाग्छ, यो र त्यो भन्दै घण्टौं गफ पनि गर्छन तर, गफ अनुसारको केही नभएको साह बताउँछन् ।

डमौली (दमौली)संग जोडिएका पहिचान

यस्तै, व्यास पराशर क्षेत्र, मादी र सेती नदीको संगमस्थल, छाब्दी बाराही मन्दिर, मानहुँकोट लगायतका क्षेत्र दमौलीसंग जोडिएका पहिचान हुन । दमौली बजारबाट करिब दुइ सय मिटर तल व्यास परासर क्षेत्र, मादी र सेती नदीको संगम स्थल छ । मादी र सेती नदीको संगमस्थलसंगै पराशर ऋषिको आश्रम छ । सोही नदीको पूर्वपट्टी चार वेद आरा पुराणका रचायीता वेद व्यासको जन्मस्थल(व्यास गुफा) छ ।

महषिर् पराशरको तपोभूमि तथा वेद व्यासको जन्मभूमि दमौलीले एउटा सिङ्गो इतिहास बोकेको छ । यति मात्र होईन यिनै कथासंग जोडिएको दमौलीबाट करिब १० किलोमिटर उत्तर तर्फ पाथरघाट (पराशर ऋषिको अर्को आश्रम), ७ किलोमिटर पूर्वतर्फ छाब्दी बाराही मन्दिर, पश्चिम र दक्षिणतर्फ करिब १ हजार १ सय मिटरको उचाईमा फैलिएको मानहुँकोट दमौलीको शीर बनेर ठडिएको छ । यीसंगै दमौली वरपर घाँसीकुवा विभिन्न समुदायको पहिचान र संस्कृतिसंग जोडिएका मठ, मन्दिर, गुम्बा, मस्जित, चर्च तथा संग्रहालयहरुले विविधतायुक्त दमौली बनाउन मद्दत पुर्‍याएको पनि छ ।

२०४८ सालमा ५९ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर कायम गरिएको व्यास नगरपालिका अहिले करिब २४८ वर्ग किलोमिटर क्षेत्रफलमा १४ वटा वडामा विस्तार भएको छ । यस नगरपालिकामा ३० भन्दा बढी जातजातिहरुको बसोवास रहेको छ । यी जातजातिको आ-आफ्नै भाषा, संस्कार, संस्कृति र पहिचान झल्कने भेषभूषा पनि छन् । दमौली क्षेत्रको प्रमुख आदिवासीको रुपमा दरै र बोटे जातिलाई लिइन्छ । छत्री, ढकीया, गुदको गुन्द्री एवं माछा मार्ने ढडीया दरै समुदायको पहिचान झल्कने हस्तकला हुन् । यीनको संरक्षणमा पनि नगरपालिकाले ध्यान दिन सकेको छैन ।

वि.सं. २०७९ साल मानहुँकोटबाट देखिएको दमौली बजार क्षेत्र । तस्विर : भञ्ज्याङ

दरै समुदायको संस्कृति एवं खानाका परिकार र पेय पदार्थमा मत (मकै तथा कोदोको जाँड)ले सबैलाई लोभ्याउने गर्छ । बटुवाहरुलाई सिमलको काठबाट बनाइएको ढुङ्गाको माध्यमले नदी वरपार गराउने बोटेहरुको कला र संस्कृतिका साथै उनिहरुको चेली मत्स्यगन्धा (वेदव्यास ऋषिकी माता)संग जोडिएको कथन दमौलीको अर्को महत्वपूर्ण पहिचान र विशेषता हो । यस्ता संस्कार, संस्कृति, सम्पदा तथा सभ्यता दमौली (व्यास नगरपालिका)को पहिचान भएपनि अहिले लोपको संघारमा पुगेका छन् ।

मुलुक संघीय संरचनामा गएसंगै पहिलो पटक भएको स्थानीय तह सदस्य निर्वाचनबाट व्यास नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकाल पुरा गरिसकेको भएपनि दमौली क्षेत्रको सभ्यता र सम्पदाको संरक्षण, प्रवर्द्धनमा खासै ध्यान दिन सकेनन् । स्थानीय तहको दोश्रो निर्वाचन पनि सम्पन्न भइसकेको छ । व्यास नगरपालिकाको प्रमुखमा पुनः दोश्रो कार्यकालका लागि बैकुण्ठ न्यौपानेनै निर्वाचित भएर आएका छन् । पहिलो कार्यकालमा त्यस्तो वहाँ ! भन्ने खालको काम गरेर देखाउन नसकेका प्रमुख न्यौपानेले अबको पाँच वर्षो कार्यकालमा के-के गर्छन त्यो समयले नै देखाउँला ।

पहिलो कार्यकालमा प्रमुख न्यौपानले डमौली र दमौलीको सभ्यता र सम्पदा संरक्षण र प्रवर्द्धनमा यथोचित काम गर्न नसकेपनि केही सपनाहरु भने देखाएका छन् । प्रमुख न्यौपानले नारेश्वर ताल, १०८ फिट अग्लो व्यासको मुर्ती निर्माण, मादी नदीमा बाँध बाधेर कृतिम ताल निर्माण, व्यास झुला निर्माण, नगरपालिकाको वहुउद्देश्यीय नयाँ भवन निर्माण, २५ वेडको अस्पताल भवन निर्माण, भाँदगाउँ खानेपानी, कमेरेसाँध खानेपानी, देवीडाँडा खानेपानी योजना निर्माण, शितभण्डार, विपि वनवाटीका खेलमैदान, दमौली सेन्ट्रल पार्क, मानहुँकोट, गलेखामकोट, तनहुँसुर, पुलिमर्‍याङ लगायतका पर्यटकीय क्षेत्रको विकास लगायतका नयाँ तथा अधुरा योजना पुरा गर्ने र व्यासलाई उप-महानगपालिकामा स्तरोन्नतीका लागि पूर्वाधार निर्माण गर्ने सपना देखेका छन् ।

नगरप्रमुख न्यौपानेले देखेका यी सपना पुरा गर्दै जाँदा डमौली र दमौलीको सभ्यताको संरक्षण, यस क्षेत्रको सम्पदाको प्रवर्द्धन गर्नमा कत्तिको टेवा पुग्छ ? यो विषय भोलीका दिनमा पक्कै पनि देख्न र अनुभूति गर्न सकिन्छ होला । तर, अहिले नगरप्रमुखलाई दमौली बजार क्षेत्रको बढ्दो बस्ति व्यवस्थापन, अव्यवस्थित बन्दै गएको बजार क्षेत्रको सौन्दर्यकरण, फोहोरको उचित व्यवस्थापन, खानेपानी, पार्कीङ, सार्वजनिक जग्गा संरक्षण, व्यवस्थित खेलमैदान अभाव, खाद्यान्यमा परनिर्भता, बाँझिदै गएका खेतीयोग्य जमिनको उपयोग, नगरपालिकाबाट जनताले सहज रुपमा पाउनुपर्ने स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता विषयले नै गिज्याइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker