बन्दीपुर अस्पतालमा स्वास्थ्य सेवा लिने बढे

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पताल मा गत माघ महिनामा कुल १ हजार ९०५ जनाले ओपीडी सेवा लिएका छन् । अस्पतालले विस्तारित सेवा समय लागू गर्दै कर्मचारी, विद्यार्थी, ज्याला–मजदुरी गर्ने वर्ग, व्यवसायी तथा गृहिणी लक्षित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा गत वैशाख १ गतेदेखि हरेक दिन (सार्वजनिक बिदा र शनिबार समेत) बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन हुँदै आएको छ। कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने सेवा समय बेलुकी ७ बजेसम्म कायम गरिएको अस्पतालका प्रमुख अनिल गिरीले बताए ।
उनका अनुसार माघ महिनामा ओपीडी सेवा लिने सेवाग्राहीमध्ये नियमित समयका ९५९ जना अर्थात् ५०.३ प्रतिशत रहेका छन् भने अतिरिक्त समयका ९४६ जना अर्थात् ४९.७ प्रतिशत रहेका छन् ।
नियमित ओपीडी सेवा अन्तर्गत कार्यालय खुल्ने दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म टिकट काटी सेवा लिने सेवाग्राही समावेश गरिएको छ । अतिरिक्त ओपीडी सेवा अन्तर्गत बिहान ७ बजेदेखि १० बजेसम्म, दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म तथा सार्वजनिक बिदाका दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा लिने सेवाग्राहीलाई समेटिएको अस्पतालले जनाएको छ ।
बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म टिकट काटी सेवा लिएका कुल सेवाग्राहीलाई ओपीडी सेवाग्राही संख्यामा समावेश गरिएको छ भने आकस्मिक (इमर्जेन्सी) विभागबाट सेवा लिएका बिरामीको विवरण यसमा समावेश गरिएको छैन ।
अस्पताल प्रशासनका अनुसार विस्तारित सेवा समयका कारण सेवाग्राहीको पहुँच बढ्दै गएको छ । प्रमुख डा. गिरीले सेवा प्रभावकारी बनाउन नियमित तथा अतिरिक्त समयको ओपीडी सेवा निरन्तर सञ्चालन गरिने जानकारी दिए ।










