भानुमा करारका कर्मचारीको म्याद नथपिएको प्रति विवाद चर्किदै, के भन्छन नगरप्रमुख ?

भानु । तनहुँको भानु नगरपालिकालमा करारका कर्मचारीको म्याद नथपिएको विषयले कर्मचारी संघ संगठन र नगरपालिका बीच विवाद चर्किएको छ । नगरपालिकाको १४औं नगरसभाबाट करारमा कार्यरत छ जना कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन नगरी कार्यरत कर्मचारीलाई पुनःबहाली गर्न नेपाल निजामति कर्मचारी युनियन र नेपाल निजामति कर्मचारी संगठनले माग गरेको छ ।
युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष रुद्र ठकुरीले बिहीबार संयुक्त विज्ञप्ती जारी गरी हटाइएका कर्मचारी पुनःबहाली गर्न माग गरेका छन्। भानु नगरपालिका अन्तर्गत २० औं वर्षदेखि कार्यरत केही कर्मचारीहरुका सन्दर्भमा भानु नगरपालिकाको १४औं नगर सभाको निर्णयले अवकास गर्ने प्रस्ताव बहुमतका आधारमा स्वीकृत गरिएको विषयबाट कर्मचारीमा पर्न गएको अन्याय प्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, नगरपालिकाका करारका कर्मचारीको म्याद कानुनी आधारमा नथपिएको नगर प्रमुख त्रिपाठीले बताएका छन् । नगरपालिकाको १४औं नगरसभा मार्फत ६ जना कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय भएको उनले बताए ।
महालेखा परिक्षकको कार्यालयले कानुनविपरीत नगरपालिकाले करारमा कर्मचारी राखेको भनी पटक–पटक प्रतिवेदनमा उल्लेख गर्दै आएकोले ६ जना कर्मचारीहरुको करार अवधि नथप्ने निर्णय गरिएको नगर प्रमुख त्रिपाठीले बताए ।
नगर प्रमुख त्रिपाठीका अनुसार महालेखा परीक्षकको कार्यालयको बुँदा नं. २७ मा स्थानीय सरकार संचालन ऐन २९७४ को दफा ८३ मा स्थानीय तहले संगठन तथा ब्यवस्थापनका सर्भेक्षणको आधारमा स्थायी कर्मचारी तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नु पर्ने उल्लेख भएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७४ चैत्र १४ मा जारी गरिएको स्थानीय तहमा करारमा जनशक्ति ब्यवस्थापन गर्ने कार्यविधि २०७४ मा स्वीकृत दरबन्दी भन्दा बाहिर अन्य रुपमा कर्मचारी राखी तलबभत्ता वा पारिश्रामिक भुक्तानी गर्न नमिल्ने र त्यस्तो कार्य प्रचलित कानुन विपरित हुने हुँदा भुक्तानी गर्ने पदाधिकारीबाट असुल उपर हुने ब्यहोरा पटक–पटक उल्लेख भएकाले पनि त्यस्ता कर्मचारीहरुको सेवा अवधि थप नगरिएको हो ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कानुन विपरीत राखेका कर्मचारीहरूको सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउन आदेश दिएसँगै मलेपको प्रतिवेदनमा नाम नै तोकिएका छ जना कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेको उनले बताए ।
यता नगरपालिकाले करारका कर्मचारीको म्याद नथपिएको प्रति कर्मचारी सम्बद्ध संघ संगठनहरुले आपत्ती जनाएका छन् । नेपाल निजामती कर्मचारी युनियन तनहुँ, नेपाल निजामती कर्मचारी संगठन तनहुँ, स्थानीय तह कर्मचारी संघ नेपाल तथा भानुका करार कर्मचारीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आपत्ती जनाएका छन् ।
भानु नगरपालिकाको हालै सम्पन्न १४औं नगरसभाले नगरपालिकामा कार्यरत ६ जना कर्मचारीहरूको करार सम्झौता अन्त्य गर्ने निर्णय गरेपछि कर्मचारी सम्बद्ध संघ संगठनहरुले आपत्ती जनाउँदै ध्यानाकर्षण भएको बताएका छन् ।
नगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा वृद्धि विकासको प्रत्याभूति गर्नुको सट्टा महालेखा परीक्षकको प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्र लगायतका विषयवस्तुलाई जोडेर कर्मचारीहरूको करार सम्झौता अन्त्य गरिनु असान्दर्भिक निर्णय भएको भन्दै उक्त निर्णय तत्काल पुनःविचार गर्न अनुरोध गरिएको छ ।










