छिम्कालेकमा आँवुखैरेनी गाउँ कार्यापालिकाको बैंठक, पर्यटन प्रवर्द्धनका लागि उक्त बैठकबाट १५ लाख बजेट विनियोजन
- भञ्ज्याङ समाचारदाता (दमौली)
महाभारत पर्वत श्रृंखला अन्तरगत पर्ने जिल्लाकै अग्लो पहाड छिम्केश्वरीको पर्यटन प्रवर्द्धनका लागि भन्दै तनहुँको आँबुखैरेनी गाउँ कार्यपालिकाको आठौ गाउँ कार्यपलिकाको बैठक शुक्रबार छिम्कालेकमा बसेको छ ।
समुन्द्री सतहबाट करिब २१३४ मिटर उच्चाईमा फैलिएको छिम्केश्वरी क्षेत्र धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसावले महत्वपूर्ण क्षेत्र भएपनि भौगोलिक विकटता र उचित प्रचार प्रसार हुन नसक्द ओझेलमा परेको भन्दै गाउँपलिकाले वडा नं. ५ को लम्बिदमा गाउँ कार्यपालिकाको बैठक बसेको हो ।
‘छिम्केश्वरी माई चर्चित धार्मिक स्थलका साथै जिल्लाकै सबैभन्दा अग्लो पहाड छिम्केश्वरी रहेर पनि ओझेलमा परेकाले यसको प्रचार, प्रसार तथा प्रवर्द्धनका लागि छिम्केश्वरी क्षेत्रमा कार्यपालिका बैठक बसिएको हो’, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले भने, ‘हामीले यो आर्थिक वर्षा छिम्केश्वरी मन्दिर निर्माणको लागि १५ लाख बजेट विनियोजन गरेका थियौ र यो बैंठकबाट मन्दिर वरापरा पुर्वधार विकासका लागि भनेर १५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेका छौं ।’
मन्दिर निर्माण कार्यले त्रि्रताका साथ गति लिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । उनले भने, ‘हामीले छिम्केश्वरी मन्दिर निर्माणका लागि भनेर भक्तपुरबाट कुुदिएको बुट्टेदार इट्टा ल्याएका छौं । साथै विभिन्न आकारमा कुदिएको काठका झ्याल ढोका राखि मन्दिरलाई आकर्ष बनाउने योजना बनाएका छौं ।’
पर्यटकीय हिसावले प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेको छिम्केश्वरी क्षेत्रको प्रचारप्रसारका लागि कार्यपालिका बैठक गरिएको र आगामि दिनमा यो क्षेत्रमा रहेको सम्भाव्यताको अध्ययत गरी थप प्रवर्द्धनका कार्यक्रमलाई अगडि बढाउने अध्यक्ष थापाले बताए ।
तनहुँकै सबैभन्दा अग्लो डाँडा छिम्केश्वरी पर्यटन र धार्मिक हिसाबले निकै महत्वपूर्ण छ, यसकै प्रचारप्रसारका लागि पहिलो पटक कार्यालयभन्दा बाहिर कार्यपालिका बैठक बसिएको हो ।

आँबुखैरेनीबाट लाब्दीसम्म १५ किलोभिटर कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फ छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु र बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साहिँली गोरखकालीमाई, काहिँली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णमाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
छिम्केश्वरी मन्दिर जाने बाटोमा गत वर्षप्रदेश सरकारको सहयोगमा ५०० मिटर पैदलमार्ग निर्माण गरिएको छ । ४० लाख रुपैयाँको लागतमा मन्दिरसम्म पुग्नका लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ भने बाटोमा फलामको रेलिङमा पनि राखिएको छ ।
गाउँपालिकाले लाब्दीदेखि केही माथिसम्म गत वर्षनै बाटासमेत विस्तार गरेको छ । सवारी साधनको अन्तिम विन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करीब दुइ घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ ।
उच्च पहाडी क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिको जडिबुटी, वन्यजन्तुको अध्ययन अवलेकन गर्न सकिन्छ भने यस क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायका मानिसहरुको आ-आफ्नै भाषा, संस्कृति, रितिरिवाज र चालचलनहरु छन् ।










