पुल निर्माणअघि बढेसंगै तनहुँको थप्रेक क्षेत्रमा समृद्धि र विकासको आशा

वासुदेव पौडेल

पुलकै अभावमा लामो समयसम्म ओझेलमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेराबेँसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा यतिखेर भने समृद्धि र विकासको आशा जाग्दै गएको छ । तालखोला र खुदी खोलाको दोभानमा लामो समयसम्म पुल नबन्दा धेरै सम्भावना भएर पनि ओझेलमा परेको यस क्षेत्रका स्थानीयवासी यतिखेर भने पोखरा महानगरपालिका-३२ गगनगौँडा र तनहुँको शुक्लागण्डकी-२ जोड्ने गरी दोभानमा पुल निर्माण हुन थालेपछि उत्साहित बनेका हुन् ।

कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबेँसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेका अवस्थामा गण्डकी प्रदेश सरकारको रु तीन करोड ७५ लाख १२ हजार लागतमा पक्की पुल निर्माण गर्न लागिएको हो ।

रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको यो खोलामा दुइ दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । वर्षेनि खोलामा मानिस बग्न थालेपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको तत्कालीन भोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उक्त समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बनेको जनाउँदै उहाँले झोलुङ्गे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजीकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताउनुभयो।

पक्की पुलको आवश्यकतालाई महसुस गरी अधिकारीकै अध्यक्षतामा गठित खुदी खोला तालखोला दोभान पुल निर्माण उपभोक्ता समितिको निरन्तर क्रियाशीलतासँगै पछिल्ला समयमा स्थानीय तहले समेत देखाएको जागरुकताले यतिखेर पुल निर्माण कार्य अघि बढिरहेको छ । आगामी असार मसान्तसम्म पुलको निर्माण कार्य सक्ने लक्ष्य रहेको जानकारी दिँदै अध्यक्ष अधिकारीले खोलामा रहने तीनवटा जीपमध्ये दुइवटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

पक्की पुलको अभावमा सेराबेँसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उहाँले यसको निर्माणले स्थानीयमा आशा जगाएको उल्लेख गर्नुभयो । “पुलको अभावले स्थानीयवासीको आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पुर्‍याउन असहज भएको थियो”, उहाँले भन्नुभयो, “पुलको निर्माणसँगै हुने उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउने छ ।”

सेराबेँसी, नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहाँरा, तल्लोपोखरी, काठेपीपल, राङ्दी, झुप्राङ, देउराली, दगाम लगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित हुनेछन् । पुल सम्पन्न भएसँगै थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्का जस्ता पर्यटकीयस्थलको विकास एवम् प्रवर्द्धन हुन नसकेको, सेराबेँसी लगायत उर्वर भूभागका उत्पादनले बजार पाउन विश्वास लिइएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरासँग अत्यन्त नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेँसीलगायत स्थानका बासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको शुक्लागण्डकी-१ का वडाध्यक्ष रविचन्द्र पौडेल बताउनुहुन्छ । सरोकारवाला सबैको साथ र सहयोगका साथै स्थानीय तहको क्रियाशीलतामा प्रदेश सरकारको सहयोगमा पुलको निर्माण अघि बढेको उहाँले बताउनुभयो । पुल निर्माणको विषय लामो समयदेखि चले पनि यसले र्सार्थकता पाउन नसकेको बताउँदै उहाँले पुल निर्माणका लागि दुइदुइ पटक विस्तृत आयोजना प्रतिवेदन -डिपिआर) तयार भएको जानकारी दिनुभयो ।

पर्यटकीय नगरी पोखराबाट दूरीका हिसाबले नजिक रहेर पनि पुलकै अभावमा पर्यटकीय उपयोग हुन नसकेको स्थल थप्रेकको समग्र विकासका लागि पनि निर्माणाधीन पुल बरदान साबित बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्थानीयवासीको समृद्धि र विकासको चाहनालाई पूरा गर्न आफूहरू निर्वाचित भइसकेपछि निरन्तर लागिरहेको उल्लेख गर्दै पौडेलले वडाभित्र लगभग रु साढे दुइ करोडको लागतमा मकैमुरो खानेपानी आयोजनासहितका नौदशवटा खानेपानी योजना सम्पन्न गरिसकिएको बताउनुभयो ।

शहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेँसीलगायत स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने विश्वास लिइएको छ । सेराबेँसी लगायत स्थानका स्थानीयवासीका लागि भौतिक विकासका साथै शिक्षा, स्वास्थ्य लगायत हरेक कुराको पहुँच वृद्धिमा निर्माणाधीन पुल महत्वपूर्ण बन्ने पोखरा महानगरपालिका-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो ।

लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चापसमेतलाई कम गर्नका लागि निर्माणाधीन पुल सम्पन्न भएपछि रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गको विकास गर्न सकिने उहाँले बताउनुभयो । पुलको निर्माणले कृषिजन्य उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको शिक्षा, स्वास्थ्य रोजगार आदिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको समाजसेवी एवं पुल निर्माण सहयोग समितिका सदस्य अर्जुन मल्लले बताउनुभयो ।

पछिल्ला वर्षमा खोला किनारमा बढ्दै गएको भूक्षय नियन्त्रणमा पनि पुल निर्माणसँगै चासो बढ्ने उहाँको भनाइ छ । पुलकै अभावमा पाँच/सात मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा अहिले तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिन यहाँका स्थानीयवासी बाध्य छन् । तनहँुको कोत्रेहुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका शहीद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको छ ।

त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको छ । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेकहुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने स्थानीयवासीको तर्क छ । दोभानको पुलसँगै शुक्लागण्डकीको सेराबेँसीमा रहेको गुवे खोलामा शुक्लागण्डकी नगरपालिकाको सहयोगमा रु एक करोड ४० लाखको लागतमा पुल निर्माण गर्न लागिएको शुक्लागण्डकी-१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो ।

बाटोमा पर्ने सानातिना खोलामा पुलका साथै अन्य आवश्यक पूर्वाधार विकासले क्रमिक गति लिँदै गएको अवस्थामा पक्की पुलको आवश्यकता झन् बढ्दै गएको छ । पुल नहुँदा लगभग पाँच वर्षता हिउँदको समयमा स्थानीयवासीले आफ्नै खर्चमा मोटरसाइकल तथा अन्य सवारीसाधन आवतजावतका लागि कलभर्ट राख्न थालेको तालखोला कलभर्ट निर्माण समितिका सचिव ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो ।

हिउँदको समयमा आफूहरूले आफैँ खर्च जुटाएर असोजदेखि बर्सात शुरु नहुँदासम्म कलभर्ट हालेर सवारीसाधन आवतजावत गराउने गरेको बताउँदै उहाँले पछिल्ला वर्ष शुक्लागण्डकी-१ ले ह्युमपाइप झिक्न र राख्न सहयोग गर्ने गरेको जानकारी दिनुभयो । निर्माणाधीन पुललाई समयमा नै सम्पन्न गरी वर्षौंदेखि शेराबेँसी सहत थप्रेक र आसपासका र्सवसाधारणले भोग्दै आएको दुःख कष्ट दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा उहाँको जोड छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker