ऋषिङ गाउँपालिकाद्वारा गर्भवतीलाई स्वास्थ्य परीक्षणसंगै भत्ता
भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक पाँच सय रुपैयाँ दिने निर्णय गरेको थियो ।
पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
‘गर्भवती अस्पतालसम्म पुग्न मान्दैनन्, आमा र बच्चा स्वस्थ जन्मिनुपर्छ, त्यसैले प्रोत्साहनका लागि प्रयास गरिएको हो’, उनले भने, गर्भवतीले स्वास्थ्य परीक्षण गराएबापत उक्त रकम तत्काल उपलब्ध गराउने व्यवस्था गरिएको छ ।’
गर्भवतीले आवश्यक मात्रामा गर्भ परीक्षण नगराउँदा सुत्केरी हुने समयमा समस्या हुनसक्ने भएकाले जटिल समस्याबाट जोगाउन यस्तो निर्णय गरेर सहज बनाउने प्रयासमा गाउँपालिका लागि परेको उनले बताए । निर्णय सर्वसम्मत पारित भइसकेकाले अब तत्काल कार्यान्वयनमा लगिने पनि उनले बताए ।
यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पुर्याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए ।










