ऋषिङ गाउँपालिकाले एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई अनुदान दिने
भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिकाले एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको कार्यापालिका बैठकले एमविविएसमा नाम निकाल्ने गाउँपालिकावासी विद्यार्थीलाई अध्ययनका लागि अनुदान दिने नीति लिइएको हो ।
चिकित्साशास्त्र अध्ययन गरेका जनशक्तिको संख्या कम भएको र आर्थिक अभावका कारण अध्ययन गर्न नसक्ने भएपछि गाउँपालिकाले अनुदानको व्यवस्था गर्न लागेको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए ।
गाउँपालिकाले कोभिड-१९ का कारण समस्यामा परेका ५२० जनालाई जनही दश हजार रुपैयाँका दरले अनुदान वितरण गर्ने निर्णय समेत गरेको छ। बैठकले न्यायिक समितिको सदस्यमा वडा नम्बर ५ का सदस्य दलबहादुर थापा र वडा नम्बर ६ का सदस्य माधव थापालाई मनोनित गरेको छ ।
यस्तै, गाउँपालिकाले आगामी वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रमका लागि टोल टोलमा पुगेर योजना तर्जुमा गर्ने निर्णय गरेको प्रवक्ता दरैले जानकारी गराए ।










