देवघाटको वडा नं. ४ मा ९ वटा योजना सम्झौता
- भञ्ज्याङ समाचारदाता (देवघाट)
तनहुँको देवघाट गाउँपालिकाले वडावडामा पुगेर चालु आर्थिक वर्ष गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमको सम्झौता गर्ने अभियानलाई तीब्रता दिएको छ । यही अभियान अन्तरगत गाउँपालिकाले वडा नम्बर ४ मा वडा स्तरीय एकिकृत सेवा तथा योजना सम्झौता कार्यक्रम सम्पन्न गरेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको बारेमा वडा स्तरमा गई उपभोक्ता समितिलाई अभिमुखीकरण सहित सम्झौता गर्ने कार्य अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए ।

यही कार्यक्रम अन्तरगत गाउँपालिकाले वडा नं. ४ मा सञ्चालन हुने ९ वटा योजना तथा कार्यक्रम उपभोक्ता समितिसँग सम्झौता गरेको सापकोटाले जानकारी गराए । उक्त अवसरमा उपभोक्ता समितिका पदाधिकारीलाई योजनाको बारेमा जानकारी दिने तथा उनीहरुको सुझाव समेत संकलन गर्ने गरिएको छ ।
देवघाट-४ मा चालु आर्थिक वर्ष २०७७/०७८ मा १२ वटा बिकास योजनाहरु छनौट गरिएको छ । ति सबै योजनाको सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर तिर्थराज ढुंगानाले बताए । वडा नं. ४ का अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारहरुलाई वडामा सञ्चालन हुने कार्यक्रमका विषयमा अभिमुखीकरण गरिएको थियो । सो अवसरमा नीजि आवास पुनःनिर्माण गर्न बाँकी लाभग्राहीहरुसँग सम्झौता, संघ संस्था, व्यवसाय नविकरण तथा कृषि र पशु सम्बन्धी सेवाहरु पनि उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।










