तनहुँ जलविद्युत् आयोजना : सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा

कृष्ण न्यौपाने

ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम सकिएको हो । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । यसअघि २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ गत जेठ २१ गते पूरा भएको थियो ।

प्याकेज–३ अन्तर्गत प्रसारण लाइनमा हालसम्म २६ फाउण्डेशनको कार्य सम्पन्न भएको आयोजना प्रमुख घिमिरेले जानकारी दिनुभयो । “टावर निर्माणका लागि भारतबाट प्राविधिक टोली आएर साइटमा आवश्यक तयारी गरिरहेको छ”, घिमिरेले भन्नुभयो, “समग्रमा आयोजनाको कामलाई तीव्रता दिइएको छ ।”

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण भएकामा हाल उक्त जग्गाको कित्ताकाट गरी मुआब्जा वितरणको प्रक्रियामा रहेको छ । केही समय अगाडि मात्रै सम्झौता भएको प्याकेज–१ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माणलगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग द कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन (प्राली नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि रु १६ अर्ब ६२ करोड (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोजनाको प्याकेज–१ (हेडबक्र्स) निर्माणका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ गते सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनःबोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूतरुपमा प्रभावकारी हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप विसं २०७६ फागुन १६ गते दोस्रोपटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज–२ अन्तर्गत सात भागमा एकैचोटी काम भइरहेको छ । यो प्याकेजअन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत्गृह खन्ने कार्यका अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ सकिएको हो ।

आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । यस्तै भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्न पनि आयोजनाले सहयोग गरेको छ ।

आयोजनामार्फत् नै तनहुँका विभिन्न ठाउँमा विद्युतीकरणको कामसमेत अगाडि बढेको छ । आयोजनामार्फत् जिल्लाका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत नपुगेका घरधुरीमा विद्युतीकरण गरिनेछ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker