तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहभित्र काम गर्ने क्रममा लडेर मजदुरको मृत्यु
दमौली : तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको विद्युतगृहमा काम गर्ने क्रममा लडेर मंगलबार बर्दियाको बारबर्दिया नगरपालिका–१ बस्ने ३८ वर्षीय रामकुमार थारुको मृत्यु जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विद्युतगृहभित्र बन्दै गरेको भवनमा काम गर्नेक्रममा लडेर घाइते भएका उनलाई उपचारका लागि पोखरा लगिएकोमा पोखरास्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले बताए ।
तनहुँ जलविद्युत आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशनले विद्युतगृहको काम गरिरहेको छ । मृतक थारु त्यहाँ लामो समयदेखि कार्यरत थिए ।
तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले २० मिटर उचाइबाट खसेर घाइते भएका उनको उपचारका क्रममा दुःखद् निधन भएको बताए ।










