तनहुँका स्थानीय तहबाट दमौली कारागारका कैदीबन्दीलाई खाट उपलब्ध

सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन्। स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका छन् । कारागारमा बजेट अभावका कारण खाट राख्न नसकेपछि यहाँका कैदीबन्दी केही समय चिसो भूइँमा समेत सुत्न बाध्य भएका थिए ।

कारागारलाई ब्यास नगरपालिकाले ४० थान एकल, म्याग्दे गाउँपालिकाले दुइ जना क्षमताको ११ थान, बन्दिपुर गाउँपालिकाबाट पाँच थान, कास्की निवासी कृष्टिना गुरुङले दुइ क्षमताको छ थान खाट सहयोग गरिसकेका छन् । जिल्लाका १० पालिकामध्ये अन्य सात पालिकाले पनि सहयोग गर्ने गरी प्रतिबद्धता जनाएको कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कारागारमा स्थानीय तहले सहयोग गरेपछि कैदीबन्दीलाई सुत्न सहज भएको उहाँको भनाइ छ ।

महिला बन्दीगृह बनाइँदै

कारागारको पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा घेरबार गरी महिला बन्दीगृह बनाउन लागिएको छ । सो कारागारमा महिला बन्दी गृह नहुँदा कास्की कारागार पठाउनुपर्ने बाध्यता रहिआएकाले त्यसको अन्त्य गर्न लागिएको कारागारका निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो ।

ती दुइ भवनलाई व्यवस्थित गरी महिला बन्दीगृह बनाउँदा ४० देखि ५० जनासम्म राख्न सकिने क्षमताको हुने उहाँले बताउनुभयो,”हाल सो भवनलाई क्वारेन्टिन बनाइएको छ भने क्वारेन्टिनमा छ जना बस्दै आएका छन् ।” नयाँ आएका कैदीबन्दीलाई १० दिनसम्म क्वारेन्टिनमा राखेपछि कुनै पनि लक्षण नदेखिए मात्रै कारागारमा पठाउने गरिएको छ ।

महिला बन्दीगृहको लागि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई समेत जानकारी गराइसकिएको कार्यालयका निमित्त जेलर अधिकारीले बताउनुभयो । हाल कारागारमा कैदी १८७ र थुनुवा ८२ गरी कूल २६९ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker