जिल्लास्तरीय रनिङ शिल्डका पदकधारी खेलाडीलाई सम्मान
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सहभागि भई पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको छ । पौष ९ र १० गते दमौली संचालित १५औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शुक्लागण्डकी दोस्रो भएको थियो।
जिल्लाका दश पालिकामध्ये शुक्लागण्डकीलाई जिल्लामै दोस्रो स्थान हाँसिल गराउन उत्कृष्ट खेल प्रदर्शन गरी पदक जित्ने खेलाडीलाई शुक्लागण्डकी नागरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
नगर प्रमुख कृष्णराज पण्डित, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष सचिन भुजेल, ४ नं वडाध्यक्ष राजकुमार वाग्लेले पदकधारी एवं सहभागी खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । रनिङ शिल्डमा शुक्लागण्डकीले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै दोस्रो भएको छ ।
शुक्लागण्डकीले छात्र र छात्रा दुवै विद्याको भलिबल स्पर्धामा स्वर्ण पदक जितेको थियो । छात्र समुह निश्चल गोतामेको कप्तानी र छात्रा समुह अनिशा शाहीको कप्तानीमा स्वर्ण जित्न सफल भएका थिए । भलिबलको व्यवस्थापकमा राष्ट्रिय भलिबल रेफ्री टुकबहादुर र किसान थापा रहेका थिए ।
यसैगरी ४०० मिटर छात्रतर्फको रिले दौडमा सुरज हमाल ठकुरी, सुमन सेजवाल, इन्द्रबहादुर वि.क र सुदिप भण्डारीको समुहले स्वर्ण पदक जितेका थिए । छात्रातर्फको हाइजम्प र लङ्गजम्पमा मनकुमारी लामाले स्वर्ण पदक दिलाएकी थिइन् ।
यस्तै, ८०० मिटर छात्र दौडमा सुरज हमाल ठकुरीले रजत, छात्रा सटपुटमा कृष्ण खड्का मगरले रजत र १०० मिटरको छात्र दौडमा सुदिप भण्डारीले रजत पदक जितेका थिए । छात्र लङगजम्पमा आश्विन थापा र सटपुटमा आयुष हमालले कास्य पदक जितेका थिए ।
४०० मिटर रिले दौडमा सुदिप भण्डरी, अंकित रानाभाट, विजय तामाङ र सुमन जेसवालको समुहले कास्य पदक जितेका थिए । सो अवसरमा खेल संयोजक लेखमान श्रेष्ठ, भलिवल व्यवस्थापक गुरुङ र थापालाई पनि सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले उत्कृष्ट खेल प्रदर्शन गरी शुक्लागण्डकीको शिर उच्च बनाएको भन्दै खेलाडीहरुलाई बधाईसहित धन्यवाद दिए । उनले खेलसंगै पढाइलाई पनि संगसंगै अगाडि बढाउन सुझाव दिदै विद्यार्थीहरुको खेल तथा शैक्षिक विकासका लागि नगरपालिका संधै साथमा रहेको बताए ।
आर्थिककै कारण कुनै विद्यार्थीले पढाइलाई अगाडि बढाउन नसकेको अवस्थामा आफुलाई जानकारी गराउन आग्रह गर्दै नगरपालिका र आफु नगर प्रमुख भए वापत प्राप्त हुने रकम सहयोग गर्ने प्रतिवद्धता जनाए ।