कांग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौ : नेता भण्डारी
प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याए : नेता पौडेल

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने दाबी गरेका छन् । तनहुँको भानु नगरपालिका-६ स्थित कटहरेमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताएका छन् ।
नेता भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताएका छन । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीले अदालतलाई धम्क्याएको आरोप लगाएका छन् । शुक्लागण्डकी-३, तपरगाउँमा आइतबार पार्टीका युवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना हुनै सक्दैन, निर्वाचन हुन्छ भनेर अदालतलाई धम्क्याएको आरोप लगाएका हुन् ।
‘आफुले चाँही संसद पुनःस्थापना हुनै सक्दैन, संसद विघटन संविधानरत छ भनेर भन्न मिल्ने, अरुलाई खबरदारी गर्ने, गाली गर्ने, धम्क्याउने, राज्य संयन्त्र प्रयोग गरेर सबैलाई तर्साउने छुट हुने तर पुर्व प्रधानन्याधिसहरुले अनुभवको हिसावले यसो हुन्छ भनेर भन्न पनि नपाउने -‘, नेता पौडेलले भने, ‘नेपाली कँाग्रेसले यो कदम असंवैधानिक छ भनेर भन्यो, अदालतको फैसला पर्खेको भए पनि त हुन्थ्यो नि । यो कानुनी विषय मात्र होइन, राजनीतिक विषय पनि हो ।’
‘प्रधानमन्त्री ओलीलाई निर्वाचन गर्ने अधिकार नै छैन’, नेता पौडेलले भने, ‘केपी ओलीले तत्काल राजीनामा दिनुपर्छ, उनलाई प्रधानमन्त्री भएर बस्नै मिल्दैन ।’ वडा सभापति लिलानाथ ढुङ्गानाको सभापतित्वमा भएको भेलालाई नेपाली काँग्रेसका जिल्ला प्रवक्ता, महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित, नगर सभापति माधवप्रसाद भट्टराइ, जिल्ला सदस्य तथा तरुण दलका क्षेत्रीय अध्यक्ष भक्तबहादुर श्रेष्ठ, पूर्व जिल्ला प्रतिनिधि हरिप्रसाद वाग्ले, क्षेत्रीय प्रतिनिधि युवराज श्रेष्ठ, नेपाल तरुण दल नगर सचिव इश्वर कुमार श्रेष्ठ, दिपेन्द्र रिमाल, स्थानीय काजिराम खत्री, रामशरण बस्नेत, केशर थापा, दिपेन्द्र पौडेल लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।










