देवघाटको नीति तथा कार्यक्रम : आर्थिक समृद्धिका लागि कृषि तथा पशुपंक्षी विकासका कार्यक्रम प्राथमिकतामा
भञ्ज्याङन्यूज

देवघाट । तनहुँको देवघाट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाको १४औं अधिवेशनबाट गाउँपालिकाको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपंक्षी विकास कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
‘समुन्नत देवघाटको आधार : धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार’ भन्ने लक्ष्यका साथ अगाडि बढेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उनले भने, ‘गाउँपालिकाले दिगो विकासको राष्ट्रिय लक्ष्यहरुलाई स्थानीयकरण गर्दै नागरिकको आवश्यकता पुरा गर्ने उद्देश्यका साथ धार्मिक पर्यटनको प्रबर्द्धन, गुणस्तरीय पूर्वाधार निर्माण, कृषिमा आत्मनिर्भर बन्दै आयआर्जनमा बृद्धि र स्वरोजगार कार्यक्रममा बृद्धि तथा स्थानीय श्रोतको पहिचान र परिचालन गरी समावेशी र दिगो आर्थिक विकास मार्फत सार्वजानिक, समुदाय र नीजि क्षेत्रको साझेदारी गरिने मुख्य लक्ष्य लिईएको छ ।’
गाउँपालिकाले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनका लागि किसान सूचीकरणमार्फत व्यावसायिक र निर्वाहमुखी कृषक वर्गीकरण गरी व्यावसायिक कृषकहरूलाई नाफामूलक र प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकास गर्न सहयोग गर्ने नीति तथा कार्यक्रम अगाडि ल्याएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘निर्वाहमुखी कृषकहरूलाई कृषि उत्पादन, उत्पादित सामग्रीहरूको सहुलियतपूर्ण उपलब्धताको सुनिश्चितता गरिनेछ’, उनले भने, ‘कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी ग्रामीण रोजगारी सिर्जना गरिनेछ । कृषिमा आधारित अर्थतन्त्र मार्फत ग्रामीण जीविकोपार्जनलाई प्रगतिशील बनाउने नीतिलाई प्रभावकारी बनाइने छ ।’
कृषक समूह र कृषि सहकारीलाई विस्तार एवं विकास गर्दै कृषि प्रसार सेवाको सञ्चालन विन्दुको रूपमा विकास गरी ग्रामीण कृषकहरूलाई सहकारीमा आवद्ध हुनको लागि प्रोत्साहन गर्ने नीति लिइएको गाउँपालिकाले सुन्तलाजात फलफूल बगैंचा विस्तार एवं व्यवस्थापन, सुन्तला पकेट क्षेत्र स्थापना र निरन्तरता दिँदै उत्पादकत्व वृद्धि गर्ने र सुन्तला मूल्य श्रृंखला प्रवर्द्धन गर्ने भएको छ ।
यस्तै, प्रमुख खाद्यान्न बालीको उत्पादकत्व वृद्धि गर्न बीउ प्रतिस्थापन दरमा सुधार गर्ने, बीउविजनमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरी उन्नत बीउको उपलब्धताको सुनिश्चितता गरी उन्नत बीउ प्रयोगमा अनुदान प्रदान गर्ने भएको छ । ‘बाँझो कृषियोग्य जमिनमा बहुउपयोगी रुख प्रजातिहरू र कन्दमूल बाली सहितको कृषिवन प्रणालीको प्रवर्द्धन गरिनेछ’, अध्यक्ष थापाले भने, ‘रैथाने बालीको प्रवर्द्धन गरी गाउँपालिकाको ब्राण्डमा बजारीकरण गर्ने, कृषि योजना निर्माणको लागि कृषि तथ्याङ्क संकलन तथा अद्यावधिक प्रणाली सम्बन्धी सफ्टवेयरको निर्माण गरिनेछ ।’
प्राङ्गारिक विषादी एवं मलको उत्पादन र प्रयोगको विस्तार गरी प्राङ्गारिक कृषि प्रवर्द्धन गर्ने, कृषि व्यवसायको जोखिम न्यूनीकरणको लागि कृषि वीमा कार्यक्रममा कृषकहरूको पहुँचमा वृद्धि गर्ने, एक वडा एक उत्पादनलाई जोड दिँदै सम्बन्धित बालीको बहुबर्षीय योजना सहितको परियोजना निर्माण गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
कृषक क्षमता अभिवृद्धिको लागि विभिन्न सरकारी एवं गैरसरकारी निकायहरूको समन्वयमा कृषि तालिम, अवलोकन भ्रमण लगायतका कार्यक्रमहरूमा जोड दिइने, कृषकहरूलाई मौसम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने व्यवस्था गर्ने, जलवायुमैत्री कृषि प्रणालीसँग सम्बन्धित परम्परागत ज्ञान, सीप र अभ्यासको अभिलेखन र विस्तार गर्ने, मौरीपालन, पुष्प खेती, बगर खेती, बेमौसमी तरकारी खेती जस्ता तुलनात्मक लाभ भएका क्षेत्रहरूको विस्तार गर्ने, अदुवा तथा बेसार खेतीको प्रवर्द्धन गरी बजारीकरण गर्ने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।
उच्च उत्पादकत्व तथा कृषि बालीको क्षेत्रफल वृद्धिको लागि सिँचाई सुविधाको विस्तार गर्ने नीति लिइएको गाउँपालिकाले स्थानीय कृषि उपजको बजारीकरणको लागि प्रत्येक वडामा हाट बजार विकास एवं विस्तार गर्ने, मौरीपालन श्रोत केन्द्रको स्थापना तथा विस्तार गर्ने, गुणस्तरीय फलफूल बेर्ना उत्पादन तथा आपूर्तिको लागि निजी नर्सरीहरू दर्ता गरी क्षमता अभिवृद्धि गर्ने, सुन्तलाजात फलफूल बेर्नामा ग्रिनिङ रोग नियन्त्रणको लागि पि.सि.आर. परीक्षण अनिवार्य गर्ने भएको छ ।
रसायनिक मलको आपूर्ति, वितरण र अनुगमन व्यवस्थित र पारदर्शी बनाउने, जैविक विविधता संरक्षण, संवर्द्धन तथा उपयोगको अभियान संचालन गर्ने, किसानको क्षमता विकासका लागि किसानसँग अध्यक्ष कार्यक्रमलाई सञ्चालन गरिने भएको छ ।
यस्तै, गाउँपालिकाले पशु स्वास्थ्यका लागि घुम्ति शिविर/अभिमुखीकरण कार्यक्रम, व्यावसायिक पशुपालन तालिम संचालन गर्ने भएको छ । पशुपन्छीको नश्ल सुधार, पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउने किसिमका कार्यक्रमहरुमा जोड र एकीकृत रुपमा पशुपन्छी स्वास्थ्य सेवा प्रदान गर्ने, सम्भावित पशुजन्य उत्पादनहरूको पहिचान एवं उत्पादन वृद्धि कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले पशुपन्छी विशेष उत्पादन क्षेत्रतोकी त्यस्ता क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरी उन्नत नश्ल, पशु आहारा, पशु सेवा, पशु स्वास्थ्य र वीमा सहितको प्राविधिक सेवा प्रदान गर्ने, पशुपालनका लागि बाँझो जग्गामा घाँस खेती कार्यक्रमलाई जोड दिने, स्थानीय नश्लका पशुपन्छीहरुको अनुसन्धानमा आधारित नश्ल सुधार कार्यक्रम कार्यान्वयन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम ल्याएको छ ।
निजी तथा सहकारी क्षेत्रको संलग्नता बढाउँदै करार सम्झौतामा आधारित पशुपालन व्यवसायलाई प्राथमिकता दिई एकीकृत रूपमा कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइएको गाउँपालिकाले साना किसान प्रोत्साहन, व्यवसाय सुधार र पशुपालक कृषकहरुको क्षमता अभिवृद्धि कार्यक्रमको अवधारणा अवलम्बन गर्ने भएको छ ।
यस्तै, गाउँपालिकाले जुनोटिक तथा महामारीजन्य रोगहरुको नियन्त्रण तथा रोकथामको लागि सरोकारवालाहरुको समन्वयमा ‘एक स्वास्थ्य” नीति सहितको एकीकृत (शिक्षा, स्वास्थ्य/पशुपन्क्षी) कार्यक्रम संचालन गर्ने भएको छ ।
गाउँपालिकाले राजश्व व्यवस्थापन तथा आर्थिक विकासका लागि राजश्व संकलनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन राजश्व सुधार योजनालाई समसामायिक बनाई कार्यान्वयनमा ल्याउने भएको छ। राजश्व सुधारलाई प्रभावकारी बनाउन आन्तरिक उत्पादन कर लगायत राजस्वका दायरालाई वृद्धि गरी राजश्वका दरहरुमा समयानुसार केही परिमार्जन गरी कर, दस्तुर, सेवा शुल्क संकलनको कार्यलाई प्रभावकारी बनाउने भएको छ ।
यस्तै, वातावरणीय प्रभाव पार्न सक्ने उद्योगहरूलाई वातावरण शुल्क लगाई राजश्व संकलनमा प्रभावकारिता बढाउनुका साथै सामुदायिक वनको आम्दानीको १० प्रतिशत गाउँपालिकामा बुझाउनु पर्ने व्यवस्थामा कर्डाईका साथ लागु गर्ने नीति ल्याउने भएको छ ।










