अपडेट : चितुवाको छाला, हड्डी सहित वडा सदस्य र दुइ युवा पक्राउ

भञ्ज्याङ न्यूज

जिल्ला प्रहरी कार्यालय तनहुँले चितुवाको छाला, खप्पर लगायत शरीरका विभिन्न अङ्गका हड्डीको साथमा वडा सदस्य सहित तीन जनालाई पक्राउ पक्राउ गरेको । जिल्लाको व्यास नगरपालिका-५ पतेनीस्थित पक्कीपुल नजिक बाख्रेतर्फजाने स्थानबाट प्रहरीले वडा सदस्य सहित तीन जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यास-६ सिरुबारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र शुक्लागण्डकी-१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराए।

पक्राउ परेका मध्ये शुक्लागण्डकी-१ का सन्जित वडा सदस्य भएको तनहुँ प्रहरीले जनाएको छ । गुरुङ नेपाली काँग्रेसबाट शुक्लागण्डकी-१ को वडासदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् ।

केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ र प्रहरी कार्यालय तनहुँबाट खटिएको संयुक्त टोलीले पतेनीबाट शनिबार राती वडा सदस्य सहित ती युवाहरुलाई पक्राउ गरेको हो ।

एकान्त स्थानको चोकमा शंकास्पद गतिविधि गरी रहेका उनीहरुलाई जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुको साथबाट चितुवाको छाला, दात, हड्डी र खप्पर लगायतका वस्तु बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक क्षेत्रीले भने, ‘पक्राउ परेकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ ।’

प्रहरीले अर्जुनको साथबाट ५ फिट ७ इन्च लम्बाई २ फिट ५ इन्च चौडाइ भएको चितुवाको छाला एक थान, ३ फिट लम्बाई एक फिट ५ इन्च चौडाइ भएको चितुवाको छाला एक थान र स्कुटर बरामद गरेको छ।

यस्तै, सन्जितको साथबाट बाघका शरीरको विभिन्न भागका हड्डीहरु सानो ठूलो गरी १२२ थान र कालो रङको पल्सर मोटसाइकल बरामद गरिएको छ । प्रहरीले सन्तोषको साथबाट पल्सर मोटरसाइकल र ३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरेको छ ।

बरामद भएका खप्पर र हड्डी प्रहरीले बाघको भनेपनि प्रयोगशालामा अनुसन्धान गरेपछि मात्र एकिन गर्न सकिने डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत अरुण पराजुलीले बताए। उनले भने, ‘छालाको फोटो हेरेरै चितुवाको हो भन्न सकिन्छ तर खप्पर र हड्डीहरु भने प्रयोगशालामै परीक्षण गर्नुपर्ने हुन्छ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker