अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ : निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ । लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो ।
विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला कामले पुनः गति लिन थालेको हो । पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले बजेट अभाव, बोलपत्र आह्वानलगायत कारणले दरबारको काम ठप्प रहँदै आए पनि गत वैशाख २० गतेदेखि पुनर्निर्माण अघि बढेको बताउनुभयो । चालु आर्थिक वर्षमा विनियोजित बजेटको काम निर्धारित समयमा सम्पन्न गर्न ठेक्का लागेको रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत जरिवाना दैनिक तिरेर काम गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
पुरातत्व विभागका इन्जिनियर अधिकारीका अनुसार रु ४२ लाखमा ठेक्का सम्झौता भएको हो । अहिले दरबारमा रहेका पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल निर्माण गर्नेलगायत काम भइरहेको पुरातत्व विभागले जनाएको छ । सम्झौताअनुसार यही जेठ १५ गतेसम्म सो बजेटको काम सम्पन्न गरिसक्नुपर्नेछ ।
गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यस दरबारको पुनर्निर्माणले गति लिन थालेको बताउँदै चालु आवको बजेटको काम ढिलाइ भए पनि काम सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । “लामो समयदेखि निर्माण रोकिएको थियो, अहिले सुरु भएको छ हामी स्थानीयमा केही आशा पलाएको छ”, उहाँले भन्नुभयो ।
दुई वर्षमा सक्नेगरी निर्माण अघि बढाइए पनि यतिका वर्षसम्म पुनर्निर्माण सम्पन्न हुन सकेको छैन । बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “यहाँ दरबारको निर्माण सम्पन्न गर्न धेरै ढिलाइ भइरहेको छ, हामीले पटकपटक केन्द्रीय सरकारलाई पत्राचार गर्दै आएका छौँ तर समाधान भएको छैन । यसको सबै जिम्मा र दायित्व केन्द्रीय सरकारको हो । नगरपालिका र गण्डकी प्रदेश सरकारले केही वर्षअघि गेट निर्माण, पर्खाल, ढुङ्गाको सिँढी निर्माण गरेका थियाँै ।” दरबारको पुनर्निर्माण ढिलाइ हुनुमा केन्द्रीय सरकारको बेवास्ता रहेको उहाँको भनाइ छ ।
काम अपलत्र परेपछि पर्यटन आगमन घट्नुका साथै स्थानीयको आयआर्जनमा कमी आएको, धार्मिक महत्त्व घट्नुका साथै यसको अस्तित्व हराउँदै जान सक्ने जोखिम पनि बढेकाले शीघ्र आवश्यक बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्नेतर्फ सरोकार भएका निकायले चासो दिनुपर्ने नगरप्रमुख अर्यालले जोड दिनुभयो ।
विभागका इन्जिनियर अधिकारीका अनुसार दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्याल ढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम बाँकी छ ।
विभागका अनुसार चालु आवको बजेटले पनि पुनर्निर्माण सम्पन्न नहुने जनाउँदै उक्त रकमले माथिल्लो भागमा पर्खाल लगाउने, छानोका लागि काठ राख्ने, त्यहाँ रहेका काठको जाँच गर्नेलगायत कार्य मात्रै सम्पन्न हुनेछ । उहाँका अनुसार गत आव २०८१/८२ मा भ्याटसहित रु ६० लाख बजेट प्राप्त भएको र स्टेमेन्ट गरेर ३५ लाख १७ हजार ८६६ रुपैयाँ तीन पैसामा शिल्पकार निर्माण सेवा, सूर्यविनायक-८ भक्तपुरले निर्माण सम्झौता गरेर काम गरेको थियो ।
आव २०७९/८० मा रु एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा आव २०८०/८१ मा सरकारले रु ५० लाख बजेट छुट्याएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपिएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ ।
दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । दरबार व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा अवस्थित छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने, त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ ।
उक्त घटनापछि उहाँहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनःकास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।
यशोबह्म राजाको मृत्युपश्चात् उहाँको जेठा छोरा नरहरि शाह १५९८ सालमा राजा भए । उनीपछि क्रमशः चूडा शाह विसं १६४५, अचित शाह विसं १६६२, नरेन्द्र शाह विसं १६९३, केहरिनारायण शाह विसं १७३३, भीम शाह विसं १७९४, रिपुमर्दन शाह विसं १७९८ र वीरमर्दन शाह विसं १८०२-१८३९ गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको इतिहासमा पढ्न पाइन्छ ।
यहाँ राजाहरूको पालामा पूजा गर्दै आएको लमजुङ कालिका मन्दिरमा बर्सेनि चैते दसैँ र फूलपातीको दिन ठूलो मेला लाग्ने र सरकारी बलिसमेत दिने गरिन्छ । लमजुङ बेँसीसहर बजारबाट आठ किलोमिटर टाढा यो दरबार अवस्थित छ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker