शुक्लागण्डकीमा बी र सी लेबल पुरुष, महिला तथा नवबालक ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार भीमादचोक स्थित कभर्ड हलमा आयोजित प्रथम खुल्ला बी र सी लेबल पुरुष, महिला तथा नवबालक ब्याटमिन्टन प्रतियोगिता गरिएको छ। प्रतियोगिता अन्तरगत बी लेबलको स्पर्धामा जियुस व्याटमिन्टन खैरेनीटारका कमल राना र लक्ष्मण लामाको जोडी च्याम्पियन बनेको छ ।
फाइनल खेलमा दमौलीका देव गुरुङ र मनबहादुर आलेको जोडीलाई २२-२० र २१-१४ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । च्याम्पियन कमल र लक्ष्मणको जोडीले नगद २१ हजार १११ रुपैयाँ, दोस्रो हुन सफल देव र मनबहादुरले नगद १२ हजार २२२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय हुन सफल धनबहादुर गुरुङ र गोविन्द श्रेष्ठ तथा कृष्ण बस्नेत र आशिष श्रेष्ठ पोखरा बाटुलेचौरको समुहले समान नगद ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।
त्यस्तै सी लेबलको स्पर्धामा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिना र धनबहादुर गुरुङको जोडी प्रथम भए । उनीहरुले नगद ११ हजार १११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै सागर थापा र काशीराम कंडेलको जोडी द्धितीय हुँदै नगद ५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । यस स्पर्धामा पोखराका कृष्ण बस्नेत र शौरभ थापा तथा भोटेपानीका तुलाराम थापा र सफल भुजेलको जोडी तृतिय भए। उनीहरुले समान ४ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र जिते ।
त्यस्तै ४० बर्षमाथिको महिला स्पर्धामा खैरेनीटारकी चित्रकला आले र पविता आलेको जोडी प्रथम भए । उनीहरुले ३ हजार ३३३ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र जिते । विष्णु थापा र मिलन राना द्धितीय हुँदै २ हजार २२२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
४० बर्षुनिको महिला स्पर्धामा देवी थापा र शनिसरा थापाको जोडी प्रथम भए । उनीहरुले ५ हजार ५५५ रुपैयाँ, शर्मिला थापा र लिला गुरुङको जोडी द्धितीय, गंगा राना र सुकु थापा तथा मनिता राना र मुष्का रानाको जोडी तृतीय हुँदै क्रमशः ३ हजार ३३३ रुपैयाँ र १ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसै गरी नावालक १३ बर्षमुनिको खेलमा संगम आले र सुप्रेश आलेको जोडी प्रथम हुँदै नगद १ हजार १११ रुपैयाँ, सुप्रिम थापा र प्रभु थापाको जोडी द्धितीय हुँदै ५ सय ५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा नावालकतर्फ भोटेपानीका सफल भुजेल उत्कृष्ट भए । त्यस्तै बी लेबलमा शशांक अधिकारी, ४० बर्षमुनिको महिलातर्फ सरस्वती लाली र ४० बर्षमाथिको खेलमा चित्रकला आले उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र पाए । प्रतियोगिताका विजेताहरुलाई वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, वडा नं. ७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्री र आयोजक संस्था युवा खेलकुद विकास समितिका अध्यक्ष एवं वडा नं. ६ का वडा सदस्य बुद्धिबहादुर थापाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष कृष्णबहादुर पौडेल, रामबहादुर थापा क्षेत्री, राष्ट्रिय जनमुक्ति पार्टीका शुक्लागण्डकी अध्यक्ष जयबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीका अध्यक्ष विमल जि.सी भुजेल, नेपाल मगर संघकी चन्द्रा आले, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिना लगायतले स्वास्थ्यका लागि खेलकुद महत्वपुर्ण भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । प्रतियोगितामा ११० समुहले सहभागिता थियो ।