बाटो बिराएकालाई आममाफी भयो, आउनोस् मिलेर काम गरौँ : अध्यक्ष ओली

रासस

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताउनुभयो ।

“पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।”

पार्टी एकतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।” यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केही साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उहाँले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको स्पष्ट पार्नुभयो । “मैले समृद्ध नेपाल ः खुशी नेपाली राष्ट्रको सङ्कल्पका लागि काम गरेको हुँ”, उहाँले भन्नुभयो, “यो आन्दोलन कर्कलाको पानी होइन, हल्लाउँदमा टुप्लुक्क झर्ने, यो सङ्घर्षको मैदानमा उत्रिएको छ ।”

प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश, स्थानीय तहमासमेत एमाले पहिलो पार्टी भएको स्मरण गराउँदै अध्यक्ष ओली वर्तमान सरकार सर्वोच्च अदालतको परमादेशमार्फत बनेको र अदालतले न्यायलयप्रति मर्यादा हुने गरी काम गर्नुपर्ने बताउनुभयो । पुष्पलालले देखाएको बाटो र प्रेरणाबाट अघि बढ्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताउनुभयो । एमालेका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँले २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गर्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker