तनहुँबाटै विद्युतीय राहदानी सेवा
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी सेवा सुरु गरेको छ । प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी प्रदान गर्न शुक्रबारदेखि सेवा सुरु गरेको हो । पहिलो चरणमा दैनिक दश जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उनले भने, ‘सुरुवाती चरण भएकाले अहिले दैनिक दश जनालाई मात्रै सेवा दिने गरी काम सुरु गरेका छौ, विस्तारै संख्या बढ्दै लग्छौं ।’
विद्युतीय राहदानी सेवाका लागि आवेदन बुझाउन विभिन्न प्रक्रिया पूरा गरी फारम भर्नुपर्ने हुन्छ । अनलाइनमार्फत् भरिएको फारम लिएर सेवाग्राही प्रशासन कार्यालयमा जानुपर्ने हुन्छ । विद्युतीय राहदानीका लागि फोटो खिच्ने व्यवस्था प्रशासन कार्यालयमै गरिएको छ । विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको दश कको नम्बर अनिवार्य गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि नियमित रुपमा काम भइरहेको छ । त्यसका अतिरिक्त व्यास नगरपालिकाका १४ वटै वडामा पनि विवरण दर्ताको काम भइरहेको छ ।
लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित राहदानीलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले झण्डै ११ वर्षपछि विद्युतीय राहदानी प्रयोगमा ल्याएको छ । अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ ।
प्रत्येक पाँच-दश वर्षमा राहदानीमा सुरक्षाका प्रावधानहरू अद्यावधिक गर्नुपर्छ । राहदानीमा सुरक्षा प्रावधान अद्यावधिक गरिएको छ । एमआरपीको तुलनामा विद्युतीय राहादानी बढी विश्वसनीय र सुरक्षित भएको विभागको दावी छ । अब स्वयं व्यक्तिबाहेक अरुले कुनै पनि तरिकाले राहदानी लिन नसक्ने र नक्कली काम नहुने विभागले गरेको छ । विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिएको छ ।










