तनहुँसुर राम्चेका चेपाङ समुदायलाई खाना लाउनकै दुःख
सुनिता आचार्य/तनहुँ
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित राम्चेका चेपाङ समुदायको दैनिक निकै कष्टपूर्ण रुपमा बित्ने गरेको छ । यहाँका चेपाङ समुदाय आधारभूत आवश्यकताबाटै बञ्चित छन् । खानलाउनकै लागि संघर्ष गरिरहेका चेपाङहरु चरम गरीविको रेखामुनि बाँचिरहेका छन् ।
मुख्य गरी स्वास्थकर खाना, लुगा र बासस्थानकै अभावमा बाचेका यहाँका चेपाङहरुका लागि सरसफाइ, चेतना, स्वास्थ्य सेवा, शिक्षा धेरै पछिका कुरा बन्न पुगेको छ । पानीको अभाव, धुलोमैलो, फोहोर कपडा, अन्नको अभाव छ । एक जनाले धेरै सन्तान जन्माउने भएकाले पनि छोराछोरीको लालनपालनमा समेत महिलाहरुले संघर्ष गर्नुपरेको छ ।
चेपाङ बालबालिकाहरुको शरीरमा पुरा कपडा देखिदैन । पुस माघको जाडोमा समेत एकसरो लुगाको भरमा बालबालिका तथा वृद्धवृद्धाहरु बस्नुपर्ने बाध्यता छ । पानीको अभावमा गाउँमा सरसफाइको अवस्था ज्यादै नाजुक छ । अनुहारमा लत्तपतिएको सिँगान, शरिरभरी घाउँ चोटले साथ छोड्न सकेको छैन ।
दिनरात ज्याला मजदुरी गर्दा पनि हातमुख जोडन समस्या रहेको स्थानीय सुमित्रा चेपाङ बताउँछिन् आधारभूत आवश्यकता परिपूर्तिकै लागि उनी बिहानदेखि रातीसम्म ज्याला मजदुरी गर्छिन् । ‘घरमा काखे छोराछोरी छोडेर काम गर्दा पनि छोराछोरीलाई राम्रो खाना लाउन दिन सकेको छैन्’, उनले भनिन्, ‘मेरो २५ वर्ष उमेर भयो । १/१ जना छोराछोरी छन् । ३ कक्षामा पढ्ने दिदीको भरमा भाइलाई छोडेर आफु काममा जानुपर्ने बाध्यता छ ।’
अधिकांश चेपाङ समुदायको बासको समेत राम्रो व्यवस्था हुन सकेको छैन । चेपाङ्का घरमा न त झयाल ढोका छ, नत सुत्ने खाट र ओछयाउने बिस्तारा । स्याउलाले छाएको सानो छाप्रोमा गुन्द्रीको भरमा रात काटाउने गर्दछन् । आमाबाबु ज्यालामजदुरीमा गएपछि बालबालिकाको खाना, खाजाको कुनै ठेगान हुँदैन । घरमा खानेकुरा छैन । कठयाङग्रिने जोडोमा एक सरो त्यो पनि च्यातिएका लुगा । गतिला ओढने ओछ्याउने छैनन् । आगोको भरमा रात काट्नु पर्ने बाध्यता चेपाङ समुदायको रहेको छ ।
राम्चेमा रहेको सुर्योदय प्राथमिक विद्यालयमा आउने बालबालिकाको अवस्था हर्ेर्ने हो भने पनि उस्तै छ । चेपाङ गाउँका बालबालिकाहरु जाडोमा काम्दै विद्यालय पुग्छन् । सो क्षेत्रको ३९ वटा घरपरिवारबाट २५ जना चेपाङ बालबालिका विद्यालय जाने गरेका छन् । विभिन्न संघसंस्थाले समय समयमा गरेको सहयोगबाट कहिले काही पाएका कपडा पनि सफा गर्ने पानी नहुँदा धुलोमैलोले छिटो फाटने गरेको विद्यालयका प्रधानाध्यापक रश्मी थापा मगर भुजेल बताउँछिन् ।
चेपाङ परिवारका बालबालिका विद्यालय आउँदा समेत फोहोर तथा पुराना लुगा र प्रायः खाली खुट्टा आउने गरेको प्रधानाध्यापक रश्मी बताउँछिन् । ‘विद्यार्थी खाली खुट्टा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गर्छन’, उनले भनिन्, ‘बच्चाहरुसँग घर र विद्यालयको लागि अलग पोशाक नहुँदा एउटा कपडा नच्यातिदासम्म त्यही प्रयोग गर्छन ।’
प्रधानाध्यापक रश्मीले भनिन, ‘चरम आर्थिक संकटबाट गुज्रिएका चुपाङ समुदायको एउटै घरबाट ५/६ जनासम्म बालबालिका विद्यालय आउँछन् । कठ्याङ्ग्रिने जाडोमा खाली खुट्टा, च्यातिएका पोषाक, न कापी कलम यस्तो अवस्था छ चेपाङ बालबालिकाको ।’
मकवानपुरबाट ४० वर्ष अघिदेखि तनहुँसुरको राम्चेमा आएर बस्न थालेका चेपाङ समुदायको आफ्नो खेतबारी छैन । जग्गा आफ्नो नाममा नहुँदा धेरै खेतीपाती गर्न पनि समस्या भएको स्थानीय रामलाल चेपाङले बताए । ‘सुकुम्वासी समस्या समाधान गर्ने आशा देखाएर कति पटक नेताहरुले चुनावमा भोट मागे’, उनले भने, ‘नेताहरुले हामीलाई जग्गा दिलाउने आश्वासन दिए तर जितेपछि यहाँ कुनै नेता फर्केर आएका छैनन् ।’ ‘आफ्नो इच्छा अनुसार फलफुलका बोट लगाउँदा भोली सरकारले कुनै पनि बेला हामीलाई जग्गा खाली गर भन्छ कि भन्ने चिन्ताले पनि सोचे अनुसार गर्न पाएका छैन’, उनले भने ।
‘स्थानीय सरकार आएको ६ वर्ष बितिसक्दा पनि अझैसम्म हाम्रो आर्थिक तथा सामाजिक अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन’, उनले भने, ‘हामीलाई जग्गा दिलाउने, गाउँमा सहज पानीको व्यवस्था गर्ने, आवास निर्माण गरिदिने कति नेताहरुले प्रतिवद्धता गर्छन फेरी ती नेता फर्केर हाम्रो गाउँ आउँदैन ।’ विभिन्न दातृ संघसंस्थाको पहलमा हामीलाई केही सहयोग त प्राप्त भयो तर यसले हाम्रो जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेको उनले बताए ।
‘हामीलाई सबैले माछा दिएर गए, हामी माछा मार्ने तरिका सिक्न चाहन्छौ’, स्थानीय बिष्णुलाल प्रजाले भने, ‘एक पटक पाएको सहयोगले हाम्रो जीवनमा परिवर्तन आउँदैन, परिवर्तन हुनका लागि त्यहाँ पूर्वाधार बिकासको खाँचो छ ।’
चेपाङ उत्थान तथा संरक्षण समितिले गरेका केही पहलबाट गाउँमा बालबिहाह न्युनिकरण, महिलाको प्रजनन् तथा यौन स्वास्थ्यमा चेतनाको केही प्रभाव परेको भएपनि गाउँको आर्थिक अवस्थामा सुधार आउन सकेको छ्रन । बजेट अभावमा अहिले त्यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन नसकेको बताउँदै उनले भने, ‘हामीले स्थानीय सरकारसँग चेतनामुलक कार्यक्रमको निरन्तरताका लागि सहयोगको माग गरेका छौ तर स्थानीय सरकारले हाम्रो गाउँलाई हेर्दैन ।’

छाप्रा बनाएर बसेको गाउँमा यस अघि जनता आवास कार्यक्रम मार्फत १५ वटा घर पुनःनिर्माण भएका छन् । तनहुँसुर क्षेत्रका ३९ घर मध्य बाँकी घर अहिले पनि साह्रै नाजुक अवस्थाको छाप्रामा गुजारा गर्दै आएका छन् । गाउँमा पानी छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको चेपाङका लागि आयआर्जनको कुनै उपाय नभएपछि अधिंकाश ज्याला मजदुरी गर्न जाने गर्छन । अभिभावक छाक र्टार्नका लागि काममा जानै पर्ने भएकाले बालबालिकाहरुको दैनिक टिठलाग्दो अवस्था छ ।
घरमा धारा हुँदा पनि खानेपानी वापतको शुल्क तिर्न नसकेर दैनिक साढे एक घण्टाको बाटो हिडेर कुवाँमा पानी लिन जानुपर्ने बाध्यता स्थानीयको छ । पानी उपभोग गरे वापतको शुल्क महंगो हुँदा चेपाङहरुले धाराको पानी पिउन नसकेको बताउँछन् । पानीको महसुल महंगो भएको भन्दै उनीहरूले पटक पटक पानीको महसुल घटाउन आग्रह गरेको भएपनि कतैबाट सुनुवाइ नभएकाले कुवाँको पानी पिउन बाध्य भएको स्थानीय बिष्णु प्रजा बताउँछन् ।
मासिक दुइ सय रुपैयाँ शुल्क तिरेर पानी उपभोग गर्न नसक्ने अवस्था भएपछि खानेपानी निःशुल्क उपलब्ध गराइदिन माग गरेपनि कतैबाट सुनुवाइ नभएको प्रजाको गुनासो छ । उनले भने, ‘हामीलाई पानीसम्म निःशुल्क गर्दिने हो भने हाम्रो छोराछोरी र घरआँगन सफासुग्घर गर्न सकिन्थ्यो । बिहान खाए बेलुका के खाने भन्ने अवस्थामा बाचेका आफुहरुलाई २ सय रुपैयाँ धेरै महंगो शुल्क हो ।’
तनहुँको छिम्केश्वरी, तनहुँसुर, भानु, बन्दिपुर लगायतका गाउँमा चेपाङ समुदायको बसोवास रहेको चेपाङलाई जनजातिको सिमान्तकृत जातीका रुपमा सरकारले सूचिकृत गरेको छ ।










