आँवुखैरेनीका कृषकलाई उन्नत जातका व्याड बोका वितरण

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई उन्नत जातको व्याड बोका वितरण गरेको छ । कार्यक्रम अन्तर्गत कृषि फर्म र कृषक समूहहरूको माग अनुसार उच्च प्रजनन् क्षमता भएका ८ वटा जमुनापारी क्रस र १५ वटा बोएर क्रस जातका बोकाहरू वितरण गरिएको हो ।
गाउँपालिकाद्वारा वितरण गरिएका बोकाहरूको निःशुल्क बीमा समेत गरिएको छ । कार्यक्रमको अवसरमा पालिका अध्यक्ष शुक्र चुमानले गाउँपालिका भित्र उत्पादित खसीबोकाहरूको सहज बजारिकरण र उत्पादनको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित अनुदान कार्यक्रममा खसीबोकाको मासुलाई समेत समावेश गर्ने योजना रहेको छ ।’
कार्यक्रममा कृषकहरूले बोकाहरूको गुणस्तर, प्रजनन् क्षमता र बीमा योजनाबारे जानकारी गराइएको थियो । स्थानीय कृषकहरूले यस कार्यक्रमलाई आफ्ना पशुपालन व्यवसायको सुदृढीकरणमा महत्वपूर्ण कदमको रुपमा लिएका छन् ।