आफु अनुकुलको अख्तियार बनाउने होड्का कारण मुलुकलाई संकटमा फसाइयो : नेता पौडेल

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिमा रहेकाहरुले संवैधानिक निकायलाई आफु अनुकुल बनाउने होड्बाजी चल्दा मुलुक यो अवस्थामा आइपुगेको बताएका छन् । सरकारले संसद विघटन गरेको विरुद्ध कांग्रेसका विभिन्न शुभेच्छुक संस्थाहरुले शनिबार दमौलीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संसद विघटन हुनुको मुख्य कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफु अनुकुलको व्यक्ति नियुक्तिको विषय भएको दाबी गरेका छन् ।
नेता पौडेलले भने, ‘आफु अनुकुलका व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्नका लागि प्रधानमन्त्रीले संविधानको मुल भावना, लोकतन्त्रको मुलमर्म माथि प्रहार गरी अध्यादेश ल्याएको र उक्त अध्यादेशले नेपालको संविधानको मर्ममाथि प्रहार भयो ।’
‘हामी जस्तालाई त्यो अख्तियारमा कस्ले नियुक्ति पायो भन्ने कुराले केही फरक पार्दैन’, नेता पौडेलले भने, ‘यहाँ ठूलाठूला भ्रष्टाचार गर्नेहरुका लागि यो अख्तियारको विषय सबै भन्दा चासोको विषय बनेको छ । यो षड्यान्त्र अख्तियारकै लागि भएको हो, भ्रष्टाचार गर्ने अनि त्यसलाई दबाएर, लुकाएर राख्नका लागि ठूलो अपराध गरिएको छ ।’
वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै नयाँ राजनीतिक धु्रवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त भएको चर्चा गरे ।
‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ’, नेता पौडेलले भने, ‘संसद पुनःस्थापना भएपनि नभएपनि कांग्रेसकै तालुमा आलु फल्ने अवस्था छ, यस तर्फसबै सचेत बनौ ।’
यस्तै, नेता पौडेलले कांग्रेसले बिगतमा गरेका गल्ति कम्जोरी समिक्षा गरी हामी भित्र लागेको धुलो टकटकाएर जनतालाई आफ्नो कुरा प्रष्ट राख्नु सक्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको इतिहास, सिद्धान्त, नेता हेर्दा ९० प्रतिशत जनताको भोट पाउनु पथ्र्यो तर, अहिले ३० प्रतिशतमा खुम्चिनुपरेको अवस्था किन आयो भनि गम्भिर रुपमा समिक्षा गरी अगाडि बढ्नुपर्ने नेता पौडेलले बताएका छन् ।
वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाई राख्नु गलत भएको बताउँदै कम्युनिष्ट फुटेकमा खुशी नहुन आग्रह गरे ।










