छ महिनाका लागि दमौली ट्रेड सेन्टरको टेण्डर खुलाइने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरको टेण्डर खोलिने भएको छ । जिल्ला सभाको आइतबार बसेको बैठकले ट्रेड सेन्टरको टेण्डर छ महिनाकालागि खुलाउने निर्णय गरेको हो ।
सभाले छ महिनाका बीचमा अध्ययन गर्ने र त्यसपछि के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने निर्णय गरेको छ । व्यास नगरपालिका-२ का टोलवासीले भने उक्त ठाउँ हटाएर त्यहाँ पार्क बनाउनुपर्ने माग राख्दै आएका छन् ।
स्थानीयले जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै साउन १ देखि त्यहाँ टेण्डर नगर्न ध्यानाकर्षण गराएका थिए । जिल्ला समन्वय समितिले विसं २०६९ साउन १ गतेदेखि दिपेश बस्नेतलाई भाडामा दिँदै आएको जग्गा भाडामा लिने दिनेबीच भएको पछिल्लो सम्झौता अनुसार २०८० असार मसान्त पश्चात् सम्झौताको म्याद समाप्त हुने र उक्त जग्गामा बनेको संरचना स्वतः जिल्ला समन्वय समितिको स्वामित्वमा आउने उल्लेख छ ।
तर सम्झौताकर्ता दिपेश बस्नेतले सम्झौतामा उल्लेख भए बमोजिमको जग्गा प्रयोग गर्न नपाएको भन्दै पुनः चार वर्षका लागि उक्त ठाउँको सम्झौता गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका छन् ।










