तनहुँको भानु -३ स्थित दोरदोरकोट पर्यटकीय गन्तव्य
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-३ दोरदोरकोटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । बाईसे चौबीसे राज्यको पालामा तनहुँसुरको सेन वंशीय राजाले सुरक्षा पोष्टको रुपमा प्रयोग गरेको उक्त गढीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।
भानु नगरपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चासो देखाएको छ । नगरपालिकाको उक्त कदमलाई भानुस्थित नेपाली सेनाको रुरु भैरव दल गणले पनि हातेमालो गर्ने भएको छ ।
नगरपालिकाले गढीलाई व्यवस्थित बनाई नेपालको राष्ट्रिय झण्डा राख्ने योजना बनाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । साथै यस क्षेत्रमा आयमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उनले बताए ।
रुरु भैरव दल गणले गढी संरक्षणमा स्थानीयसँग सहकार्य गरी कार्य गर्ने योजना बनाएको गणका गणपति प्रमुख सेनानी हिमाचलजंग शाहले बताए । गणले नागरिकसँगको हातेमालो कार्यक्रम अर्न्तर्गत उक्त गढीमा सरसफाई र वृक्षारोपण गरेको छ ।
गढीलाई थप व्यवस्थित बनाउन कालिका मन्दिरको जीर्णोद्वार, खानेपानी र बिजुली बत्तीको व्यवस्था गर्नुपर्ने दोरदोर कालिका मन्दिर संरक्षण समितिका अध्यक्ष मङ्गलबहादुर रानाले बताए । उनले भने, ‘प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको छ, नगरपालिकाले यसमा चासो दिएर यसलाई प्रचारप्रसार गर्नेतर्फ ध्यान दिनुपर्छ ।’
डुम्रेबजारबाट भन्सार नारेश्वरटार, भकुन्थोक हुँदै करिब १४ किलोमिटरको दूरीमा अवस्थित गढीबाट तनहुँको बन्दिपुर, मैवल, भन्सार, तनहुँसुर, बसन्तपुर थानीथान, चोकचिसापानी, लमजुङका विभिन्न स्थान, गोरखाको पालुङटार, लिगलिग, गाइखुर, च्याङ्ली लगायतका ठाउँ देख्न सकिन्छ ।










