बारी छैन : कौसी छँदैछ !

कृष्ण न्यौपाने

तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनु भएको छ ।

दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करीब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाउनुभएको छ । उहाँको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ ।

घरमा भ¥याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनुभएको छ । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाउनुभएको छ ।

उहाँको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उहाँले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्नुहुन्छ । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहँु शाखा महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहनुभएकी गौलीले सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसीखेती गरेको सुनाउनुभयो । “छिमेकीहरुले तरकारी बेच्न सुझाव दिए पनि बिक्री गर्ने प्रयोजन अहिलेसम्म छैन, बरु कहिलेकाहीँ धेरै उत्पादन भयो भने छिमेकी र साथीभाइलाई उपहार पठाउँछु”, उहाँले भन्नुभयो ।

घरमा उपभोग गर्ने तरकारी घरमै उत्पादन गर्न सक्ने हो भने धेरै रकम बचत हुने गौलीको भनाइ छ । उहाँले कौसीखेती गर्न थालेको करीब १५ वर्ष भइसकेको छ । दमौलीमा घर बनाएर बसेदेखि नै अहिलेसम्म तरकारी किनेर खानु नपरेको उहाँको भनाइ छ ।

तरकारी उत्पादनका लागि गौलीले कम्पोष्ट मल बनाउनुभएको छ । खेर गएका तरकारी र खानेकुरालाई ठूलो ड्रममा कुहाएर कम्पोष्ट मल बनाउने उहाँले बताउनुभयो । त्यसबाहेक तरकारीमा किरा नलागोस् भनेर पिना तथा गाईको गहुँत पनि कहिलेकाहीँ प्रयोग हुन्छ । पानीका रुपमा भाडा माझेको पानीलाई थोपा सिँचाइमार्फत सिञ्चित गर्ने गरेको उहाँले सुनाउनुभयो ।

अहिले बजारमा बिक्रीका लागि राखिने प्रायजसो तरकारीमा विषादी प्रयोग हुने गरेका कारणले उपभोग गर्न नहुने अवस्था भएको भन्दै गौलीले आफ्नो घरमा उपभोग गर्ने तरकारी जग्गा जमिन हुनेले जमीनमा र नहुनेले कौसी या छतमा लगाउन सुझाव दिनुभयो ।

दमौली बजारमा थोरै क्षेत्रफलको जग्गा लिएर घर बनाउनेको सङ्ख्या अत्यधिक रहेकाले कौसीखेतीका बारेमा सबै जानकार हुनसके घरमै तरकारी फलाउन सकिने गौलीको भनाइ छ । कौसीखेतीलाई प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा तरकारी लगाउने जग्गाको अभाव भएका कारण कौसीखेती उपयुक्त विकल्प रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार विषादीरहित तरकारी उपभोग गर्न पाइने, तरकारी किन्ने पैसाको बचत हुने, घरमा खेर गएको खानेकुरा र पानीको उचित व्यवस्थापन हुने, छतको सदुपयोग हुने, समयको व्यवस्थापन हुने हुँदा यसका धेरै फाइदा छन् ।

कौसीखेती प्रोत्साहन गर्दै शुक्लागण्डकी

शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजारवासीलाई कौसीमा तरकारी फलाउन वडा कार्यालयले सघाउँदै आएको छ । यहाँका करीब ८०० परिवारलाई कौसीखेतीका लागि प्रोत्साहन गर्न तरकारीका बिरुवा वितरण गरिएकोे वडा सचिव कल्पना गैरे सुवेदीले जानकारी दिनुभयो । लहरेबाली काँक्रो, घिरौँला र करेलाका बिरुवा टोल विकास संस्थामार्फत् प्रत्येक घरलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिरुवासँगै कोकोपिटसमेत उपलब्ध गराइएको छ । गत वर्ष पनि वडावासीलाई तरकारीका बिरुवा र प्लाष्टिकका गमला वितरण गरिएको थियो ।

वडाबाट बिरुवा लगेर कौसीमा तरकारी फलाउनेमध्ये उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । “वडावासीलाई घरमै तरकारी फलाएर उपभोग गर्न प्रोत्साहन गरेका छौँ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “कौसीमा तरकारी फलाएर परिवारलाई मात्र पु¥याए पनि स्वाथ्यका लागि फाइदा हुन्छ ।”

निर्यात घटाएर अर्थतन्त्रलाई सघाउन खोजेको उहाँको भनाइ छ । बजारबाट पैसा तिरेर विषादीयुक्त तरकारी खरीद गर्ने बानीको अन्त्य हुनुपर्नेमा श्रेष्ठको जोड छ । वडाले सघाउन थालेपछि दुलेगौँडा बजारमा कौसीमा तरकारी फलाउने बढेका छन् । वडा कार्यालयले चालू आर्थिक वर्ष २०७७÷०७८ मा कौसीखेतीका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker