तनहुँका सबै स्थानीय तहबाट भूमि प्रशासन सेवा विस्तार गरिंदै

दमौली : तनहुँका दसवटै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुने भएको छ । भूमि प्रशासन कार्यालय तनहुँले जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने प्रक्रिया अघि बढाएको हो । यसअघि भानु नगरपालिकाबाट सेवा सञ्चालन गरिसकेको कार्यालयले बाँकी नौवटा स्थानीय तहमा पनि सेवा सुरु गर्न आवश्यक तयारी थालेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न लागिएको हो । स्थानीय तहबाटै सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन भूमि प्रशासन कार्यालयले सम्बन्धित पालिकालाई पत्राचार गरेको छ ।
भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख भूमि प्रशासन अधिकृत राजेन्द्रप्रसाद पौडेलले मन्त्रालयको निर्देशनअनुसार जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तारको प्रक्रिया अघि बढाइएको बताए । सेवाग्राहीलाई स्थानीयस्तरबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित पालिकासँग समन्वय भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न कार्यालयका कर्मचारीसमेत तोकिएका छन् । स्थानीय तहमा सेवा सुरु भएपछि जग्गा तथा भूमि प्रशासनसम्बन्धी कामका लागि सदरमुकाम दमौली धाउनुपर्ने सेवाग्राहीको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
कार्यालयले व्यास, भिमाद र शुक्लागण्डकी नगरपालिका तथा देवघाट, घिरिङ, बन्दीपुर, म्याग्दे, ऋषिङ र आँबुखैरेनी गाउँपालिकालाई सेवा सञ्चालनका लागि पत्र पठाएको छ । मन्त्रालयको निर्देशनअनुसार सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित स्थानीय तहले सेवा सञ्चालन गरिसक्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयले २०८३ कात्तिक १६ गते भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका विषयमा सूचना प्रकाशित गरेको थियो। सोही सूचनाका आधारमा भूमि प्रशासन कार्यालय तनहुँले मङ्सिर ३ गते बाँकी नौवटै स्थानीय तहलाई सेवा सञ्चालनका लागि पत्राचार गरेको हो ।
सेवा सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न कार्यालयका नायब सुब्बा गणेशप्रसाद अधिकारी र सर्वेक्षक सुमन श्रेष्ठलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ । स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुँदा नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा प्राप्तिका लागि जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने झन्झटसमेत कम हुने विश्वास गरिएको छ ।










