रूखमाथि “घर” !
कृष्ण न्यौपाने (दमौली)

तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो । डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनमा गत महिनाबाट हरियाली उद्यानको काम शुरु गरिएको थियो । साथै सोही उद्यानभित्र रहेको रूखमा घर निर्माण भइरहेको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।
उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुइ लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल रु १५ लाखको लागतमा उद्यान निर्माणको काम भइरहेको रानाभाटले बताउनुभयो । पृथ्वीराजमार्गबाट २०० मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ, उहाँले भन्नुभयो, “रूखमा नै घर जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”
रानाभाटका अनुसार रूखलाई भित्र पारेर काठको घर निर्माण भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र चैतभित्रै सबै काम सम्पन्न हुनेछन् । उद्यानभित्र हाल ढुङ्गा बिछयाउने काम भइरहेको छ भने बत्ती जडानको काम पनि शुरु गरिनेछ। “दुइ स्टेप बस्न मिल्ने गरी घर बनिरहेको छ, पाँच/ सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ”, उहाँले भन्नुभयो ।
उक्त ठाउँलाई वनभोजस्थलका रूपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ । “चैतभित्रै सबै काम सम्पन्न गरेर र्सवसाधारणलाई प्रवेश खुल्ला गर्नेछौँ”, रानाभाटले भन्नुभयो। डिभिजन वन कार्यालयमार्फत गत आवमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका-१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका-१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछन् । सहायक वन अधिकृत अरुण पराजुलीले म्याग्देको ज्यानटाङ सहित अन्य पाँचवटा उद्यान निर्माण गरिने जानकारी दिनुभयो । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी-१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका-१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ ।
त्यसका लागि वन कार्यालयले रु पाँच/पाँच लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी भीमाद-६ मा शहरी उद्यान निर्माण गर्नका लागि इष्टिमेट सम्पन्न भएको र सम्झौता हुन बाँकी छ। व्यास नगरपालिका-२ डाङ्ग्रेखोल्सीमा पनि उद्यान निर्माणका लागि उपभोक्ता समितिसँग छलफल भएको छ । “उक्त ठाउँको स्थलगत अध्ययनपश्चात् उपभोक्ता समितिसँग सम्झौता गरेर काम अगाडि बढाउँछौँ”, सहायक वन अधिकृत पराजुलीले भन्नुभयो । रासस










