आँवुखैरेनी गाउँपालिका : “कृषि र पर्यटनमैत्री गतिविधिमा युवालाई जोडेर रोजगारी र आर्थिक उपार्जन गर्छौ”

गाउँपालिका अध्यक्ष : शुक्र चुमान

आँवुखैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वारका रुपमा रहेको छ । पूर्वमा चितवन र गोरखा जिल्ला, पश्चिममा बन्दिपुर र देवघाट गाउँपालिका, उत्तरमा बन्दीपुर गाउँपालिका र गोरखा जिल्ला, दक्षिण तर्फ देवघाट गाउँपालिका र चितवन जिल्ला सिमाना रहेका छन् । ६ वटा वडा कायम गरिएको छ । साविक आँबुखैरेनी नगरपालिका, छिम्केश्वरी र देउराली गाविस समावेश गरी कायम गरी मर्स्याङदी नदीको किनारमा अवस्थित यस गाउँपालिकामा आँधीमुल, अकला मन्दिर, शिवालय मन्दिर, ऐना पहरा, तनहुँकै अग्लो पहाड छिम्केश्वरी र छिम्केश्वरीमाईको मन्दिर, पौवा, भुकुण्डे, हिलेखर्क, मर्स्यादी ड्याम लगायतका पर्यटकीय स्थल छन् । यीनै क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारको विकास गर्दै गाउँपालिकाले रोजगारीको वातावरण सृजना गर्दै आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएको छ ।

आँबुखैरेनी गाउँपालिकाले स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गर्न र पालिकाबासिलाई आर्थिक समृद्धिको यात्रामा डोर्‍याउन विभिन्न स्वरोजगारमुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । आर्थिक विकासका क्षेत्रमा पर्यटन, कृषि र पशुपालनलाई व्यवसायिक रुपमा अगाडि बढाउन योजनावद्ध रुपमा अगाडि बढेको अध्यक्ष शुक्र चुमान बताउँछन् ।

गाउँपालिकाले उद्यमशिलता, जनशक्तिको सीप र दक्षताको विकास लगायतका क्षेत्र छुट्टयाएर अगाडि बढेको छ । ‘निर्वाचित भएर आएको पहिलो वर्षशिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकाससंगै हामीले पर्यटकीय क्षेत्रहरु पहिचान गर्ने, आवश्यक पूर्वाधार विकास गर्दै रोजगारी संगसंगै गाउँपालिकाको पनि आन्तरिक आय वृद्धि गर्ने योजनाका साथ अगाडि बढ्यौ’, अध्यक्ष चुमानले भने, ‘पर्यटन क्षेत्रमा गरिएको कामबाट केही सकरात्मक नतिजा आउन थालेका छन् । यो आर्थिक वर्षको अन्त्यसम्ममा हामीले प्रत्यक्ष रुपमा ५० जना र अप्रत्यक्ष रुपमा ३ सय जनालाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौं ।’

राजमार्गसंगै जोडिएको प्राकृतिक मनोरम दृष्यले भरिपूर्ण ऐना पहरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विभिन्न पूर्वाधारहरु बनाइरहेको गाउँपालिकाले यहाँबाट पनि स्थानीयलाई रोजगारीको वातावरण सृजना गरी आर्थिक उपार्जन गर्ने आधार बनाएको छ । मर्स्याङ्दी नदीमा र्‍याफ्टिङका माध्यमबाट जलपर्यटन प्रवर्द्धन गरी रोजगारी सृजना गर्ने योजनाका साथ अध्ययन गरिरहेको गाउँपालिकाले जिल्लाको अग्लो पहाडी चुचुरो छिम्केश्वरी र धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास भएको छिम्केश्वरीमाई मन्दिर, आदीमुल वाराही मन्दिरमा पनि पर्यटन लक्षित पूर्वाधारहरु निर्माण गरी रोजगारीसंगै आर्थिक उपार्जनको माध्यम बनाउने गरी अगाडि बढेको अध्यक्ष चुमानले बताए ।

आँवुखैरेनी हस्पिटल । तस्विर : भञ्ज्याङ

यस्तै, गाउँपालिकाले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य कडि मानेको गाउँपालिकाले व्यवसायिक रुपमा कृषि पेशा अंगालन कृषकहरुलाई प्रेरित गर्दै उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्थापनमा समेत लागिपरहेको छ । ‘हामीले व्यवसायिक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाउन विभिन्न अनुदानका कार्यक्रम चलाएका छौ । कृषकलाई मल, विऊविजन, कृषि प्राविधिकको व्यवस्थापन, औषधिउपचारको व्यवस्थापन पनि गरेका छौं’, अध्यक्ष चुमानले भने, ‘तर, युवालाई कृषि पेशामा आकषिर्त गर्न निकै समस्या देखिएको छ । कोही पनि कृषिमा आधारित भएर आफ्नो जीवन चलाउन तयार देखिदैनन् । किनभने कृषिमा आधारित रहेर जिविकोपार्जनसम्म त हुने भयो तर मान्छे समृद्ध, सबै खालको आवश्यकता पुर्ति गर्न कृषिबाट सकिदैन भन्ने भाष्य स्थापित हुँदा समस्या आइरहेको छ । यो समस्य हटाउन कृषिका हरेक उत्पादनमा राज्य जोडिनु पर्छ । राज्यले सहुलियत नदिने र कृषिलाई बचाउने कोशिस नगर्ने हो भने कृषिमा आधारित रहेर जिविकोपार्जन तर्फ युवाहरु उन्मुख हुँदैनन् ।’

गाउँपालिकाले कृषि क्षेत्रमा रहेका समस्याको पहिचान गरी उत्पादित उपजको बजारको व्यवस्थापन गर्ने, कृषि हाटबजारको व्यवस्थापन, कृषि उपजको निःशुल्क ढुवानीको व्यवस्था गरेको छ । गत वर्षेखि नै दुध उत्पादनमा आत्मनिर्भर बनेको गाउँपालिकाले दुध बिक्री नहुने, बजार नपाउने जस्ता कारणले अहिले दुधबाट बन्ने अन्य बस्तुको अध्ययन भइरहेको र चाडै नै डेरी प्रोडक्टको उद्यमीकरणमा जान र व्यवसायिकीकरण गर्नतर्फगाउँपालिका योजनावद्ध रुपमा अगाडि बढेको छ । यसका लागि पालिका आफै उद्योगमा सहभागी हुने कि अनुदान उपलब्ध गर्ने भन्ने विषमा छलफल चलिरहेको अध्यक्ष चुमानले बताए ।

कृषिमा रैथाने बालीको संरक्षण गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना गाउँपालिकाको रहेको छ । यसका लागि पालिका भित्र रहेका आमा समुहलाई उद्यमी समूहमा बदल्ने अभियाननै चलाएको गाउँपालिकाले १ नम्बर वडाको यानचोक र आदीमुल आमा समूहलाई व्यवसायिक रुपमा सयपत्री फूल उत्पादन गर्न लगाई उत्पादित फूल अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सफल भएको छ । यो कार्यलाई ऐतिहासिक मानेको गाउँपालिकाले रैथाने उत्पादनलाई प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याई आर्थिक उपार्जन गर्न पालिकाबासिलाई प्रेरित गर्दै आएको अध्यक्ष चुमान बताउँछन् ।

यस्तै, कृषकले उत्पादन गरेको फूल बिक्री नभएमा त्यसलाई बाइप्रडक्टका रुपमा धुप बनाउनका लागि आवश्यक तालिम समेत सञ्चालन गरिसकिएको छ । गत फागुपूर्णिमाको अवसरमा छिम्केश्वरीमा लागेको मुलामा स्थानीय कृषकले बिक्री नभई उब्रिएको फूलबाट तयार गरेको करिव ५० हजार रुपैयाँको धुप बिक्री वितरण गर्न सफल भएका छन् । गाउँपालिकाले आँबुखैरेनी बजार लगायत जिल्लाका अरु बजारसंग समन्वय गरी महिला तथा आमा समुहले उत्पादन गरेको धुप, झोल सावुन, सरफ, हार्पिक जस्ता उपजहरुको बजारीकरण गर्ने तयारी गरेको छ भने विस्तारै यी वस्तुहरुको ब्राण्डिङ गरी व्यवसाय प्रवर्द्धन गर्ने योजनामा रहेको अध्यक्ष चुमानले बताए ।

‘पालिका आफैले उद्योग खोलेर रोजगारी उत्पादन गर्नुपर्छ भन्ने लागेपछि प्रदेश सरकारको सहयोगमा मार्कीचोकमा करिव २ करोड रुपैयाँको लगानीमा उद्योग निर्माण गरिएको छ । त्यहाँ बाँस र फलामबाट बन्ने सामानहरु बनाउने काम हुन्छ । अहिले २० जनाले यस सम्बन्धी तालिम लिइरहनुभएको छ । तालिम लिदै सामानहरु पनि उत्पादन गर्ने र यही रोजगारी उत्पादन गर्नेकाम भइरहेको छ’, अध्यक्ष चुमानले भने, ‘हामी चाडै नै कृषिमा चहिने विभिन्न फलामका कृषि औजारहरु, विद्यालयलाई आवश्यक पर्ने डेक्सबेन्चहरु, खेल्ने सामाग्रिहरु, खुल्ला व्यायमशालामा आवश्यक पर्ने सामानहरु बजारमा ल्याउँदै छौं । गाउँपालिकाले आफै यसको बजारीकरणको व्यवस्थापन गर्छ र अरु पालिकालाई पनि सहयोगको अपिल गर्ने छ ।’

बाँसको डस्टविन, टेवल कुर्सिमा पनि व्यवसायिकीकरण गर्न २० जनालाई तालिम दिइरहेको गाउँपालिकाले नेपालमै बसेर स्वारोजगार हुन पनि सीप आवश्यक पर्ने र विदेश नै गएपनि सीप आवश्यक पर्ने हुनाले सिटिइभिटिसंग आवद्ध रहेर गाउँपालिका आफैले प्राविधिक कलेज स्थापना गर्ने अभियान चलाएको छ । यसमा स्वास्थ्यसंग सम्बन्धित कोर्स र युवाहरुलाई के कुराको आवश्यक छ जसले युवाहरुलाई रोजगारसंग जोड्ने छ त्यसमा केन्द्रित रहने तयारी रेहको बताउँदै अध्यक्ष चुमान भन्छन्, ‘युवाहरु जे व्यवसाय सुरु गर्दै हुनुहुन्छ उहाँहरुलाई पनि प्राविधिक सहयोग कि नगद सहयोग गर्ने भनि केही बजेट पनि छुट्टाएका छौं ।’ घरघरमै स्वरोजगारको वातावरण सृजना गराउने उद्देश्यका साथ गाउँपालिकाले एक घर ५ घार मौरी पाल्ने अभियान पनि सञ्चालन गरेको छ । यसलाई बढाएर ५०/१०० घारसम्म मौरी पाल्न प्रेरित गर्ने योजना बनाएको गाउँपालिकाले मानिसलाई नयाँ ढंगले संमृद्ध जीवन जिउन मद्दत गर्न एउटा वडा/गाउँ/स्थान छान्ने र यसलाई उद्यमीकरण गर्नेतिर लागिरहेको छ ।

यस्तै, गाउँपालिकाको वडा नं. ५ र ६ सतप्रतिशत अर्गानिक वडा हो । यी वडाका गाउँमा रसायनिक मल प्रतिवन्ध गरी प्राकृतिक रुपमा उत्पादन गरिएको छ । यहाँ उत्पादित महसंगै अन्य कृषि उपजको ब्राण्ड पनि बजारमा स्थापित भएको छ । यी गाउँमा उत्पादित मह अहिले बजारमा प्रतिकेजी एक हजार रुपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । प्राकृतिक वा अर्गानिक उत्पादनमा अहिले मानिसको चासो र बजार पनि भएकाले हाम्रो यो अर्गानिक उपज बढाउनका लागि अन्य वडामा पनि केन्द्रित गर्ने योजना बनाएको अध्यक्ष चुमान बताउँछन् । उनले भने, ‘यी दुइ वडामा वर्षायाम् सुरु भएसंगै करिब एक सय रोपनी क्षेत्रफलमा चिया र कफिको खेती गर्ने सोच बनाएका छौं । यहाँबाट चिया र कफि ब्राण्डिङ गरी पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने योजना हामीले बनाएका छौ ।’

हाम्रा गाउँठाउँमा गरिएको व्यवसायबाट अन्य मुलुकमा गएर गरिएको कामबाट भएको आम्दानीको तुलना गर्न त नसकिएला तर, युवालाई यही केही गर्नुपर्छ भन्ने भावना जागृत गराउनु हाम्रो मुख्य लक्ष्य रहेको अध्यक्ष चुमान बताउँछन् । उनले भने, ‘मुल रुपमा युवाहरु निराश हुनु यहाँको सुशासन रहेछ । विदेशिएका युवा भन्छन्, म विदेशमा भए म धनि हो या गरिव, म के काम गर्दै छु, के जातको हुँ, कुन वर्गको हुँ त्यसमा तुलना हुँदैन सबै समान हुन्छन्, तर नेपालमा जात, वर्ग, पेशा, कुनै राजनीतिक दलमा भएको नभएको आधारमा हेर्ने प्रणाली छ, यसले युवालाई आफ्नै गाउँठाउँमा केही गरौं भन्ने भावनामा ठेस पुर्‍याइरहेको छ । त्यसैले पहिलो नम्बरमा हामीले सुधार्न पर्ने सुशासन नै हो जस्तो लाग्छ । दास्रो नम्बरमा युवाले के चाहान्छन्, परम्परागत रुपमा रहेको आर्थिक प्रणालीलाई बदलेर युवाहरु कसरी जान चाहान्छन् भन्ने कुरा तलबाट नै सुरु गर्नुपर्ने देखिन्छ ।’

यस्तै, गाउँपालिकाले विद्यालय तहबाटै सीपयुक्त शिक्षा प्रदान गर्ने गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । वडा नं. ६ को कन्यादेवि माध्यमिक विद्यालयमा अघिल्लो वर्ष खाली रहेको कक्षा कोठामा स्थानीय जातका कुखुराको व्यवसायीक उत्पादन गर्न सुरु गरिएको छ । त्यसबाट पहिलो लगानीलाई जोगाएर ५० हजार रुपैयाँ आम्दानी गर्न विद्यालय सफल भएको छ । उक्त आम्दानीबाट विद्यालयले यस वर्षएसइइ दिएर बिदा हुँदै गरेका १९ जना विद्यार्थीलाई ५/५ सय रुपैयाँ दिएर बिदाई गरेको छ । अध्यक्ष चुमान भन्छन्, ‘यस्ता कार्यले उहाँहरु आत्मनिर्भर बन्नुहुन्छ भन्ने त होइन तर यसले श्रम के हो, श्रमको आधार तय गर्न विद्यार्थीलाई सिकाउँछ भन्ने हो। पढ्दै पनि कमाउन सकिन्छ है भन्ने आशा यसले बढाएको छ ।’

गाउँपालिकाको मित्रता माविका ३ जना विद्यार्थीले सयपत्री फूलखेती गरेका थिए । प्रत्येकले ३०/३० हजार रुपैयाँ कमाउन सफल भएका छन् । गाउँपालिकाको सहयोगमा अहिले केही विद्यार्थीलाई आर्टस् सिकाउन थालिएको छ । आर्टस् सिकेको विद्यार्थीहरुले तयार गरेको चित्रहरु बिक्री गरी करिब १४ हजार रुपैयाँ विद्यार्थीहरुले आम्दानी गर्न समेत सफल भएका छन् । यस्तै, पर्यटकीय क्षेत्रमा फोटोग्राफी र भिडियोग्राफी सिकाउनका लागि २० घण्टाको कोर्स गाउँपालिकाले तयार गरेका छ । यी सबै कुरा केन्द्रित गर्नुको मुख्य कारण विद्यालय उमेरबाटै श्रमसंग जोडिनु पर्छ र सीपसंग जोडनुपर्छ भन्ने रहेको अध्यक्ष चुमान बताउँछन् । अहिलेको मुख्य समस्या भनेको विद्यालय तहका विद्यार्थीहरुमा ३ घण्टाको परीक्षामा प्रथम कसरी हुने भन्ने छ । परीक्षामा एक जना प्रथम हुनु भनेको अरु नहुनु हो । एक जना प्रथम हुनलाई अरु असफल हुन पर्‍यो । हामी प्रथम हुनलाई अरु असफल हुन् भनि कामना गर्ने मानसिक्ताबाट गुज्रिएका छौ र हामी विद्यार्थीलाई त्यहि हिसाबमा पढाउने पनि गरेका छौं । यो खालको प्रवृत्तिलाई अब विस्तारै चिर्नुपर्छ र विद्यालय शिक्षालाई सीपयुक्त, जीवन उपयोगि बनाउनुपर्ने धारणा गाउँपालिकाको रहेको छ ।

गाउँपालिका अध्यक्ष चुमान भन्छन्, ‘युवाहरुलाई सबैभन्दा पहिला तपाई स्वदेशमै बसेर केही गर्न चाहानुहुन्छ भने तपाईलाई अध्यक्षको कार्यकक्षमा स्वागत् छ । तपाई आफ्नो योजना वा समस्य मलाई आएर सुनाउनुस् पालिकाले तपाईले सोच्नुभएको सोच अगाडि बढाउनका लागि आर्थिक, प्रविधि के सहयोग गर्नुपर्छ वा सीप मुलक तालिम सञ्चालन गर्नुपर्छ वा तपाईले गरिरहनुभएको व्यवसायका लागि अन्य सहयोग वा बजार व्यवस्थापन गर्न आवश्यक छ भने पालिका सहयोगका लागि सधै तयारी अवस्थामा छ ।’

गाउँपालिका उपाध्यक्ष : दुर्गा अर्याल

आँवुखैरेनी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउँनका लागि विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको उपाध्यक्ष दुर्गा अर्याल बताउँछिन । गत वर्ष स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएर अगाडि बढेको गाउँपालिका अहिले पर्यटन क्षेत्रको प्रवर्द्धनका साथै कृषि क्षेत्रलाई व्यवसायिक बनाई रोजगारीको वातावरण सृजना गर्नुका साथै आर्थिक वृद्धि गर्न योजनावद्ध रुपमा अगाडि बढेको उनि बताउँछिन् । गाउँपालिकाको न्यायीक समितिमा बढिमात्रमा लेनदेन, घरेलु हिंसा र पालन पोषण सम्बन्धीका मुद्दाहरु आउने गरेको उनले बताइन् । ‘पालिकाका नागरिकहरुलाई आर्थिकोपार्जनसंग जोड्नका लागि उद्यमशिलता कार्यक्रम भनेर बजेट छुट्याएका छौ’, उनले भनिन्, ‘यस्ता कार्यक्रममार्फत महिला सशक्तिकरण, आर्थिक बृद्धि र महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउने गरी अगाडि बढेका छौं ।’

यस्तै, महिलालाई आर्थिक रुपमा सवल बनाउनका लागि लघुउद्यमका तालिम, सचेतना, महिला नेतृत्व बिकासका तालिम सञ्चालन गर्दै आइएको छ । योजना अनुगमनका क्रममा जनताको घरदैलोमा पुग्दा कामको गुणस्तर र आवश्यकताको पहिचान गरी विकास निर्माणका कामलाई अगाडि बढाउन सहज भएको छ । अनुगमनको संयोजक भएर काम गरिरहदा टेवलमा फाइल पुग्दैमा पास नगरी स्थलगत अनुगमन गरी कामको गुणस्तर र परिणाम हेरेर भुक्तानी प्रक्रियामा अगाडि बढाउने गरेको उनले बताइन् ।

विष्णु प्रसाद शर्मा : प्रमुख प्रशासकीय अधिकारी

आँबुखैरेनी गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार आफ्ना नीति तथा कार्यक्रमहरुलाई अगाडी बढाएको छ । गत वर्ष स्वास्थ्य र शिक्षालाई बढि प्राथमिकता दिइएको गाउँपालिकाले यस वर्ष कृषि, उद्योग, पर्यटन क्षेत्रको पहिचान र प्रवर्द्धनमा जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा बताउँछन् ।

‘समग्रमा गाउँपालिकाले विकास निर्माणको पूर्वाधारदेखि मानवीय संसादन विकास गर्ने लक्ष्य पनि लिएको छ । विभिन्न जातजाति, वर्ग, लिंगका मानिसहरु बसोबास गर्ने गाउँपालिकाका केही वडाहरु विकट क्षेत्रमा पर्ने हुँदा, यहाँका भुजेल, चेपाङ समुदायको जीवनस्तरमा सुधार गर्ने गरी कार्यक्रम अगाडि बढेका छन्’, उनले भने, ‘परम्परागत घरेलु सीपमा आधारित भुजेल समुदायलाई डोको, नाम्लो बुन्ने, पहुँच विस्तार, व्यवसायिक र आधुनिकीकरण गर्दै उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिने योजना गाउँपालिकाको रहेको छ । यसका लागि प्रदेश सरकारबाट २ करोड रुपैयाँ बजेट प्राप्त भई उद्योग सञ्चालनको कार्य भइरहेको छ । यो कार्यक्रमले गाउँपालिकाले मानवीय विकासमा फड्को मार्ने आशा लिएको छ ।’

यस्तै परम्परागत कृषि उत्पादनलाई प्रविधिमत्री बनाउन नसके किसानले राम्रो प्रतिफल प्राप्त गर्न नसक्ने अवस्थालाई ध्यानमा राखि उत्पादित उपजलाई बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले शुक्रबारे हाट बजार सञ्चालनमा ल्याएको छ । यो हाटबजारले कृषकलाई आफ्नो उत्पादन विचौलियालाई नभई सोझै उपभोक्ताहरुलाई विक्रि वितरण गर्ने माध्यम बनेको छ । हाटबजारका लागि गाउँपालिकाले वडा नं. ३ को अमिलेबोटमा निःशुल्क रुपमा ठाउँको व्यवस्थापन गरेको छ ।

तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित यान्चोक आमा समुहले व्यवसायीक रुपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि माला तयार गरिदै । यस वर्ष तीहार पर्व ढिलो भएको र सयपत्री फूल चाँडै फुलेका कारण कृषकहरुलाई फूल जोगाई राख्न समस्या परेको छ । तस्विर : भञ्ज्याङ

गाउँपालिकाका बासिन्दालाई सहज रुपमा सेवा लिने र सेवा प्रवाहमा सहज बनाउन कर्मचारीलाई निर्देशन दिने, शाखागत कर्मचारीको अनुगमन निरिक्षण गर्ने, आर्थिक पारदर्शीताको हिसाबले योजनाको समयमै लक्ष्य हासिल गरिसक्नुपर्ने गरी काम भइरहेको उनले बताए । युवाहरुलाई आफ्नै थातथलोमा स्वरोजगार बनाउन तथा बाँझिदै गएका उर्वर भूमिलाई पुनः हरभर बनाई आर्थिक उपार्जनको माध्यम कसरी बनाउन सकिन्छ भनि गाउँपालिकाले आवश्यकता, समस्याको पहिचान गरी सोही अनुसारको नीति, कार्यक्रम तथा बजेको व्यवस्थापन गर्दै अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनले भने, ‘समग्र रुपमा जनतालाई सामाजिक, मानवीय र आर्थिक विकास, पूर्वाधार, संस्कार संस्कृतिको संरक्षण जस्ता क्षेत्रमा गाउँपालिकाले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker