राष्ट्रिय जनगणनाका लागि जिल्लामा कार्यालय स्थापना

भञ्ज्याङ समाचारदाता (दमौली)

राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएसंगै कार्यालयले काम अगाडि बढाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क संकलनका लागि जिल्लामा करिब पाँच सय गणक र एक सय सुपरीवेक्षक परिचालन गर्ने गरी काम अगाडि बढाइएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले विहीबार पत्रकार सम्मेलन गरी विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको १२औं श्रृंखला भएको जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी गराए ।

उनले स्थानीय तहका जनशक्तिलाई प्राथमिकता दिएर गणक र सुपरीवेक्षकलाई करारमा राख्ने गरी काम भइरहेको समेत बताए । ‘आगामी १० वर्षलाई नेतृत्व गर्ने भएकाले सही सूचना संकलनमा जोड दिइएको छ’, उनले भने, ‘समावेशी सहभागिताका लागि महिला र पुरुष दुवैलाई स्थान दिइएको छ । महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।’

पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगेर घर तथा घरपरिवारको विवरण लिइन्छ । पुरुष, महिला र अन्य लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण संकलन गरिने छ । दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइ लगायत विवरण संकलन गर्ने भएको छ ।

यस्तै, दोस्रो चरण अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता पूर्वाधार र विपद् सम्बन्धी विवरण संकलन गरिनेछ । घर तथा घरपरिवार सूचीकरण फाराम ०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली ०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने तयारी गरिएको छ ।

एक सुपरीवेक्षकले २० दिनको अवधिमा एक हजार घरपरिवारको सूचीकरण तयार गर्नुपर्ने छ । त्यस्तै एक सुपरीवेक्षकको मातहतमा रहेर चार गणकले काम गर्ने बताइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस कार्यलाई सफल बनाउनका लागि सबै निकायबाट अनुगमन तथा खबरदारी गर्न आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker