जनगणनाका लागि चार गुणा बढी आवेदन

भञ्ज्याङ समाचारदाता (दमौली)

जनगणना २०७८ का तनहुँमा दुइ हजार ३४६ ले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालयका अनुसार अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमध्ये महिलाको संख्या बढिरहेको छ। जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले तनहुँमा एक हजार ६२५ महिला, ७१९ पुरुष र दुइ अन्य लिङ्गीको दरखास्त परेको जानकारी दिनुभयो । “जनगणनाका लागि आवश्यक भन्दा चार गुणा बढी निवेदन परेको छ, त्यसमध्ये पनि महिलाको सङ्ख्या अधिक छ,” सापकोटाले भन्नुभयो । आवेदन दिनेमध्ये दुइ सय आठ महिला र ८३ पुरुषले गणक र सुपरिवेक्षक दुवैका लागि फारम भरेका छन् ।

उहाँका अनुसार जिल्लामा ५३५ गणक र १२० सुपरिवेक्षक खटाइनेछ। “चैत १९ गतेसम्म प्राथमिक सूची पठाउने कुरा छ, त्यसपछि संख्या कति हुन्छ थाहा हुन्छ,” उहाँले भन्नुभयो । जिल्लामा तथ्याङ्क संकलन दुइ चरणमा सञ्चालन गरिनेछ । पहिलो चरणमा विसं २०७८ वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म २० दिन सञ्चालन हुनेछ । उक्त क्रममा सुपरिवेक्षकद्वारा प्रत्येक घर तथा परिवारमा पुगी घर तथा घरपरिवार सूचीकृत फारममार्फ् घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेका महिला तथा पुरुष र अन्य तेस्रो लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण सङ्कलन गरिनेछ ।

दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । उक्त क्रममा गणकमार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण संकलन गरिनेछ । दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावली मार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरण पनि संकलन गरिने छ। सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँड, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्क गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker