बाँदर पीडित कृषकलाई अदुवा र बेसारको विउ
राजकुमार आले (दुलेगौंडा)

अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि तनहुँको शुक्लागण्डकी वडा नं. ७ अर्चले र न्यारथुमका किसानहरु हैरान भएका छन् । स्थानीय सोमबहादुर कुवंरले गत बर्ष दुइ हल गोरुले छरेको मकै घरभित्र थन्काउन पाएनन् । मकै लगायतका अन्नबाली बाँदरले सखाप पर्ने भएपछि शुक्लागण्डकी वडा नं. ले कृषकहरुलाई अदुवा र बेसारको विउ वितरण गरेको छ । कृषकहरुको माग र आवश्यकता अनुसार अनुदानमा विउ वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाले अनुदानमा विउ उपलब्ध गराइदिंदा ठुलो सहयोग पुगेको कृषक कुवंरले बताए । उनले वडाको लक्ष्य अनुसार आत्मनिर्भर बन्दै आयआर्जन समेत गर्ने लक्ष्यका साथ अगाडी बढ्ने अठोठट गरेका छन् । उनले भने सकेसम्म धेरै उत्पादन गरेर आफुलाई पनि होस् र बिक्री गरेर आम्दानी पनि लिऊ भन्ने छ, अब हेरौं कस्तो हुन्छ । उनले मकैकोदो लगाउँदा सबै बाँदरले खाएर कत्तिपनि भित्र्याउन नपाएको सुनाउँदै बेसार अदुवा लगाए धेरथोर उत्पादन हुन्छ कि भन्ने आशा लागेको बताए ।
अहिले मकै लगाउँदै गरेको बारीमा अदुवा लगाएको भन्दै राम्रो उत्पादन भए आगामी बर्ष बाँझो बारीहरुमा पनि अदुवा लगाउने योजना रहेको कृषक कुवंरको भनाई छ । ‘पोहोर साल त्यत्रो मकै लगाएर कत्ति पनि स्याहार्न पाइएन, सबै लाखुले नै सखाप पार्यो उनले भने बारी बाँझो राख्नुभन्दा अदुवा बेसार लाए लाखुले खाँदैन, त्यहि भएर अहिले २० किलो अदुवा र ५ किलो बेसार लगाएको छु’, कृषक कुवंरले भने, ‘२५ किलो माग गरे पनि २० किलो मात्र अदुवा पाए भने बेसार पनि माग गरे भन्दा कम पाएको छु । तर पनि वडाको सहयोगले हामी कृषकहरुलाई हौसला मिलेको छ, कृषिमै केही गरौ भन्ने लागेको छ ।’
कृषकहरुलाई अदुवा र बेसारमा आत्मनिर्भर गराउँदै व्यवसायिक बनाउन विउ वितरण गरिएको वडा नं. ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । वडाध्यक्ष क्षेत्रीका अनुसार पहिलो चरणमा ३५ जना कृषकहरुलाई ३३५ किलो अदुवा र ५० किलो बेसार वितरण गरिएको छ ।
वडाको अर्चले र न्यारथुम भेगमा कृषकहरुले लगाएको खेती बाँदरले क्षति गरेको हुँदा वैकल्पिक खेतीको रुपमा विउ वितरण गरिएको वडाध्यक्ष क्षेत्रीले बताए । उनले भने, ‘बेसार र अदुवा बाँदरले खाँदैन र उत्पादन पनि राम्रो हुने हुँदा अदुवा र बेसारको विउ वितरण गरिएको हो । यस कार्यक्रम प्रभावकारी हुने विश्वास छ । विउ किसानहरुको आवश्यकता र माग अनुसार नै वितरण गरेका छौं। तर लक्ष्य अनुसार किसानहरुको आकर्षा देखिएन ।’
चालु आव वडाले कृषि कार्यक्रम अन्तर्गत १ लाख बजेट विनियोजन गरेको थियो । यस अघिका कार्यक्रमहरुमा शतप्रतिशत अनुदान दिंदा वडावासीहरुमा अपनत्व महसुश नभएकाले अहिले ५० प्रतिशत अनुदानमा विउ वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।










