भानुमा दुधबाट सर्ने जुनोटिक रोगबारे अभिमुखीकरण गोष्ठी

भानु : तनहुँको भानु नगरपालिका–८ बगाले फाँटमा दुधबाट सर्ने जुनोटिक रोग तथा दुध स्वच्छता सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको छ । वडा नं. ८ स्थित प्रगति डेरीमा आयोजना गरिएको उक्त गोष्ठीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय दमौलीका पशु विकास अधिकृत पवन श्रेष्ठले सहजिकरण गरेका थिए ।
कार्यक्रममा उनले दुध उत्पादन, संकलन तथा उपभोगका क्रममा अपनाउनुपर्ने स्वच्छता मापदण्डबारे जानकारी दिँदै ब्रुसेलोसिस, क्षयरोग तथा साल्मोनेलोसिस जस्ता दुधबाट सर्ने प्रमुख रोगहरू र तिनको रोकथामका उपायबारे कृषकहरुलाई जानकारी गराएका थिए ।
गोष्ठीमा स्थानीय किसान, डेरी व्यवसायी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले दुध दुहुँदा अपनाउनुपर्ने सरसफाइ, पशु स्वास्थ्य परीक्षणको आवश्यकता तथा स्वच्छ दुध उत्पादनको महत्वबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए ।
यस प्रकारका अभिमुखीकरण कार्यक्रमले स्थानीय स्तरमा दुधजन्य रोग न्यूनीकरण तथा सुरक्षित दुध उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने स्थानीय कृषकले विश्वास व्यक्त गरेका थिए ।










