व्यासमा अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित

दमौली : तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित विद्यालय छन् । नगरभित्रका विभिन्न वडामा सञ्चालित विद्यालयमा अपाङ्गता स्रोत कक्षाहरु व्यवस्थापन तथा समायोजनमा चुनौती थपिएको छ ।
व्यास नगरपालिका–६ सिसाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक प्रकृतिका अपाङ्गता भएका १२ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । विद्यालयमा स्रोत शिक्षकको पदपूर्ति हुन सकेको छैन भने विद्यालयको छानो चुहिने समस्या रहेको विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले बताउनुभयो । विद्यालयको कक्षाकोठा सुधार गरी स्थानान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
व्यास नगरपालिका–५ स्थित साँगे शेराटारमा रहेको सिन्धु आधारभूत विद्यालय बौद्धिक अपाङ्गता स्रोत कक्षामा १८ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । विद्यालयमा पर्याप्तमात्रामा खेल मैदानको कमी हुँदा विद्यालय अगाडिको सडकमा विद्यार्थीलाई दुर्घटनाको जोखिम हुने गरेको छ ।
व्यास नगरपालिका–१३ स्थित सिद्धबेनी माध्यमिक विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा १६ जना विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । स्रोत कक्षा हेरविचार गर्ने कर्मचारी नहुँदा स्रोत कक्षा व्यवस्थापनमा चुनौती रहेको विद्यालयका प्रधानाध्यापक रोदन थापाले बताउनुभयो ।
व्यास नगरपालिका–१ स्थित बुद्ध दाहाल बहिरा विद्यालयको बहिरा स्रोत कक्षामा २० जना बहिरा विद्यार्थी अध्ययनरत छन् । सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीलाई साङ्केतिक भाषामार्फत निःशुल्क आवासीय शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कमला पौडेलले बताउनुभयो ।
व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डिदेवी माध्यमिक विद्यालयमा दृष्टिसम्बन्धी अपाङ्गता भएका सात जना विद्यार्थी अध्ययनरत छन् । पाँच जना विद्यार्थी आवासीय रुपमा छन् भने दुई जना घरबाट आवतजावत गर्ने गर्छन् । स्रोत कक्षामा तनहुँ जिल्लाका विभिन्न वडाका दृष्टिसम्बन्धी अपाङ्गता बालबालिकालाई ब्रेललिपिमार्फत शिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
व्यास नगरपालिका–२ अमरापुरी जनसेवा प्राथमिक विद्यालयमा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले विभिन्न वडामा छरिएर रहेका बौद्धिक प्रकृतिका अपाङ्गता भएका स्रोत कक्षालाई समायोजन गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सन्दर्भमा नगरप्रमुख वैकुण्ठ न्यौपानेसमक्ष प्रस्ताव राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालय समायोजन गरेर पढाउन सकिए प्रभावकारी हुने थियो ।”
सो प्रस्तावबारे नगर प्रमुख न्यौपानेले बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यालयको अनुकूल वातावरण मिलाइ आवासीय स्रोत कक्षाका पूर्वाधार निर्माण गर्ने सवालमा स्थलगत अध्ययन गरी एकीकृत स्रोत व्यवस्थापन गर्ने सवालमा आफू सकारात्मक रहेको बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker