आज महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

नवरात्रको नवौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौं देवी हुन् ।

देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा संकटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ । नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन शनिबार चन्द्रघण्टा, चौथो दिन आइतबार कुष्माण्डा, पाँचौं दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गनुपर्ने अवस्था आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

यसैगरी सातौं दिन मङ्गलबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्नाका साथै दसैं घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । आठौं दिन बुधबार महागौरी देवीको पूजा आराधना गरिएको थियो भने नवरात्रको नवौै एवं अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रको सातौं दिनपछि सार्वजनिक विदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा त्यसै दिनदेखि भीड बढेको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ । गत वर्ष बडादसैंमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो । यस वर्ष भने कोरोना जोखिम कम भएकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको हो ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठ मन्दिर जान र खानपिन गरी दसैं र तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले सार्वजनिक आह्वान गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker