हावाहुरीले विद्यालय भवनमा क्षति पुर्याउँदा करिब २ लाख रुपैयाँ बराबरको क्षति
भञ्ज्याङ न्यूज
गत विहीबार साँझपख हावाहुरी सहित आएको असिना पानीले तनहुँको देवघाट गाउँपालिका-२ जैथुम स्थित जुनोदय आधारभूत विद्यालयमा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरी र असिना पानीले विद्यालयको २ कोठ भवन, स्टोर कोठा तथा कक्षा १ को भवनको जस्तापाताको छानो उडाइदिएको छ ।
जस्तापाता उडाउँदा नयाँ विद्यालय भवन निर्माणका लागि राखिएको ८० बोरा सिमेन्ट, जस्तापाता, विद्यालय निर्माणका सामाग्रीहरु, कक्षा १ मा भएका सम्पूर्ण शैक्षिक सामाग्री तथा कार्यालयका पुस्तकहरु लगायत गरी करिब २ लाख रुपैयाँ बढि क्षति भएको विद्यालयका प्रधानाध्यापक बरुण कुमार थापाले बताए ।
हावाहुरीका कारण विद्यालयमा ठूलो क्षति पुगेको र पठनपाठन कार्य समेत प्रभावित भएकाले तत्काल सम्बन्धित निकायले विद्यालय भवन पुनःनिर्माण तथा आवश्यक सामाग्रि व्यवस्थापनमा ध्यान दिन विद्यालयले अनुरोध गरेको छ ।