रुसी सेनामा भर्न भएका तनहुँका आठ जना सम्पर्कबिहीन
भञ्ज्याङ समाचारदाता/दमौली

रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । भ्रमण (भिजिट) भिसामा गएका व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुइ, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएको बताइएको छ ।
भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएको सुरक्षित आप्रवासन कार्यक्रम -सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले जानकारी गराइन। उनका अनुसार रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सर्म्पर्कविहीन भएपछि खोजीका लागि परिवारले निवेदन दिएका छन् ।
‘व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सात जना रुसी सेनामा भर्ना हुन जाँदा बेपत्ता भएको र म्यादेका एक जना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजी दिन उहाँहरुको परिवारजनले निवेदन दिनुभएको छ’, उनले भनिन्, ‘उहाँहरुको खोजीका लागि प्रयास गर्ने हो । परिवारसँग नै सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित यहाँ निवेदन दिएका छन् ।’
‘रुसमा दूतावास भएको भए सहजरुपमा खोजी तथा उद्धारका लागि कागजात पठाउने थियौं । तर, प्रत्यक्ष काम गर्न नपाउँदा सहज चाहिँ छैन । दूतावास नभएकाले खोजीका लागि कन्सुलर विभागलाई पठाएका छौ’, उनले भनिन्, ‘खोजतलासीमै छौं प्रक्रियामा नै रहेका छौँ भन्ने जवाफ आउने गरेको छ । गैरकानुनी रुपमा गएकाले पूर्णरुपमा काम गर्न सहज भएको छैन ।’
आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको बताइन । सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजात सहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले बताइन् ।
युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यही दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी कार्य भइरहेको आप्रवासी स्रोतकेन्द्रले जनाएको छ । दुइ/तीन महिनायतादेखि परिवारसँग नै उनीहरु सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको सामीले जनाएको छ ।
भिजिट भिसामा अवैधानिक बाटोमार्फत् गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन् । अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भएपनि त्यहाँबाट फर्केर आउन सहज भने नभएको बताइएको छ ।