व्यास नगरपालिकाले हप्तामा २ दिन पिसिआर परीक्षणका लागि नमुना संकलन गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण जोखिम बढ्दै गएपछि आवश्यक तयारीमा जुटेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जिल्लामा निषेधाज्ञा जारी भएपछि सर्वसाधारणको स्वास्थ्य परीक्षणदेखि, कृषि उपजको बजारीकरणसम्मका लागि सहज बनाउने निर्णय गरेको छ । बैठकले विद्यमान कोभिड-१९ को दोस्रो लहरको संक्रमणलाई न्यूनीकरण गर्न अत्यावश्यक सामग्रीहरुको तयारी गर्ने, हप्ताको दुइ दिन सोमबार र विहिबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
नगरपालिकाले वडा कार्यालय र मुख्य कार्यालय अत्यावश्यक सेवाका लागि मात्र खुल्ला गर्ने भएको छ भने वडाको संयोजनमा गर्भवती र जटिल प्रकृतिका बिरामीहरुलाई घरबाट अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने बैठकले निर्णय गरेको वडा अध्यक्ष एवं नगर प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
यस्तै, नगरपालिका क्षेत्र भित्र उत्पादित कृषि उपज तथा दुग्धजन्य वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहजिकरण गर्ने बैठकले निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् । कार्यपालिका बैठकले व्यास नगरपालिका प्रशासनिक कार्यविधि ऐन, २०७५ को आधारमा भाषा, साहित्य, संस्कृति, कला संरक्षण तथा प्रवर्द्धन सम्बन्धी व्यास नगर प्रज्ञा प्रतिष्ठान सञ्चालन कार्यविधि, २०७८ पारित गरेको छ । प्राकृतिक स्रोत परिचालन, व्यवस्थापन, आय बाँडफाँडका लागि प्राकृतिक स्रोतको व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८, वैदेशिक रोजगारमा जाने आउनेहरुको सुरक्षित व्यवस्थापन, रोजगार प्रबर्द्धनका लागि वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ नगर कार्यपालिका बैठकले पारित गरेको छ ।
नगर खेलकुद विकास समिति गठन
व्यास नगरपालिको कार्यपालिका बैठकले व्यास नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि, २०७८ को दफा ३ (१) बमोजिम वडा नं. ५ का वडाध्य मोहन कुमार श्रेष्ठको अध्यक्षतामा व्यास नगर खेलकुद विकास समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले खेलकुद विकास समितिको सदस्यहरुमा सुरेश थापा (व्यास-०९), सूनसरी गुरुङ (व्यास-०९), बसुन्धरा घर्ती (व्यास-०४), प्रदिप आचार्य (व्यास-०८), अशोक गिरी (व्यास-०२), अमर थापा (व्यास-०२), कृष्ण पुन (व्यास-०५), सानुमाया श्रेष्ठ (व्यास-०३), इन्द्र गुरुङ (व्यास-०४), कृष्ण बहादुर दरै (व्यास-०१), नम्रता गुरुङ (व्यास-१०) र शिक्षा तथा सामजिक विकास शाखा प्रमुख वा अधिकृत स्तर प्रतिनिधि सदस्य सचिव रहने गरी समिति गठन गरेको छ ।
पत्रकारको कोभिड बीमा
यस्तै, व्यास नगरपालिकाले नगरपालिकामा क्रियाशील पत्रकारको कोभिड बीमा यस वर्षपनि नगरपालिकाकै खर्चमा गर्ने निर्णय गरेको छ भने हरेक वर्ष १० हजार रुपैयाँ बराबरको नगरपालिकाको विकास समाचार प्रकाशित गर्ने उत्कृष्ट एक जना पत्रकारलाई ‘व्यास नगर विकास पत्रकारिता पुरस्कार’ प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन्।
कोरोना भाइरस संक्रमण फैलदै गएकाले नगर स्तरीय कृयाशील राजनीतिक दल, टोल विकास संस्था, शैक्षिक तथा उद्योग व्यवसाय क्षेत्र, जनप्रतिनिधि, विकास साझेदार संघ संस्था कार्यालय, सुरक्षा संयन्त्र, सञ्चार क्षेत्र, बैंक तथा वित्तीय संस्था र सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरुमा विद्यमान संकटको क्षणमा स्वास्थ्य मापदण्ड पालना गरी, भौतिक दुरी कायम गर्दै आफ्नो दैनिक गतिविधि सञ्चालन गर्न र परस्पर सहयोग एवं सद्भावपूर्ण सहयोगका लागि नगर कार्यपालिकाले अनुरोध गरेको छ । त्यस्तै, कुनै पनि जटिल र संकटको क्षणमा नगरपालिकाको हटलाई नम्बर ०६५-५६००३३ मा सम्पर्क गर्नुहुन समेत नगरपालिकाले अनुरोध गरेको छ ।










