फ्रान्सका युद्ध र विद्रोहका संक्षिप्त चित्र
सुरेशकुमार पाण्डे

युरोपको ऐतिहासिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको देश हो फ्रान्स । विश्व राजनीतिक इतिहासमा फ्रान्सको आफ्नै विशिष्ट स्थान छ । विशेषगरी सन् १८७१ को पेरिस कम्युन विश्वकै पहिलो श्रमिक विद्रोह र श्रमिक वर्गले सत्ता सञ्चालन गर्ने ऐतिहासिक प्रयासका रूपमा परिचित छ । पुँजीवादी सत्ताविरुद्ध श्रमजीवी वर्गले गरेको उक्त विद्रोहले विश्व कम्युनिस्ट आन्दोलनलाई समेत गहिरो प्रभाव पारेको थियो । यद्यपि प्रतिक्रियावादी शक्तिको आक्रमणका कारण त्यो सत्ता लामो समय टिक्न सकेन ।
आज विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको तथा पुँजीवादी शक्तिहरूको प्रभाव बढिरहेको सन्दर्भमा फ्रान्सको पेरिस कम्युन र त्यहाँका विद्रोहको इतिहासको विशेष महत्त्व छ । फ्रान्सको इतिहास हेर्दा राजनीतिक परिवर्तन, युद्ध, क्रान्ति र जनविद्रोहका अनेकौँ घटना देख्न सकिन्छ । यहाँको समाजले विभिन्न कालखण्डमा सत्ता, शासन व्यवस्था र सामाजिक असमानता विरुद्ध संघर्ष गर्दै आएको छ ।
अहिले फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सार्वजनिक सेवामा हुँदै आएको कटौतीविरुद्ध जनअसन्तुष्टि चुलिएको चर्चा छ। ३१ असोज २०८३ शनिबार भएको भनिएको विरोध प्रदर्शनले फेरि एकपटक फ्रान्सको राजनीतिक अवस्थालाई चर्चामा ल्याएको छ । सञ्चारमाध्यममा आएका विवरणअनुसार विभिन्न सहरमा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कतिपय स्थानमा प्रदर्शन हिंसात्मक बनेको र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी भएको बताइएको छ ।
प्रदर्शनमा सहभागी हुनेको संख्याबारे विभिन्न सञ्चारमाध्यममा फरक–फरक विवरण आएका छन् । कतिपयले पाँच लाखभन्दा बढी र कतिपयले आठ लाखसम्म मानिस सडकमा उत्रिएको उल्लेख गरेका छन्। प्रदर्शनका क्रममा प्रशासनले एक हजार दुई सयभन्दा बढीलाई नियन्त्रणमा लिएको र राजधानी पेरिसमा प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहरा प्रयोग गरिएको समाचार पनि सार्वजनिक भएका छन् । यी घटनाले फ्रान्समा विद्यमान सामाजिक तथा आर्थिक असन्तुष्टिको अवस्थालाई उजागर गरेको देखिन्छ ।
जहाँ वामपन्थी राजनीतिक शक्तिको प्रभाव बलियो हुन्छ, त्यहाँ राज्य व्यवस्था पनि जनताका असन्तुष्टिप्रति सचेत हुनुपर्ने हुन्छ । तर कतिपय अवस्थामा लामो समयदेखि दबिएर रहेको जनआक्रोश विस्फोट हुँदा ऐतिहासिक संरचना तथा सार्वजनिक सम्पत्तिसमेत क्षतिग्रस्त हुने गरेका छन्। विरोध प्रदर्शनको उद्देश्य र त्यसको स्वरूपबीच सन्तुलन कायम हुन नसक्दा यस्ता घटना निम्तिने गर्छन् ।
फ्रान्सको राजनीतिक तथा आर्थिक महत्त्वलाई बुझ्न यसको भौगोलिक, ऐतिहासिक र अन्तर्राष्ट्रिय अवस्थाबारे पनि जान्न आवश्यक छ। फ्रान्स युरोपको प्रमुख विकसित राष्ट्रमध्ये एक हो। यहाँ अर्धराष्ट्रपतीय शासन प्रणालीसहित गणतान्त्रिक व्यवस्था छ । यसको संसद् राष्ट्रिय सभा र सिनेट गरी दुई सदनबाट सञ्चालन हुन्छ। कला, साहित्य, विज्ञान, दर्शन र संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा समेत फ्रान्सले लामो समयदेखि पहिचान बनाएको छ ।
पर्यटनका दृष्टिले पनि फ्रान्स विश्वकै प्रमुख गन्तव्यमा पर्छ । सन् २०१८ मा मात्रै करिब ८ करोड ९० लाख विदेशी पर्यटकले फ्रान्स भ्रमण गरेका थिए । आर्थिक रूपमा विश्वका ठूला अर्थतन्त्रमध्ये एक रहेको फ्रान्स संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य तथा आणविक हतियार सम्पन्न राष्ट्र हो । युरोपेली संघ, युरोजोन, जी–७, उत्तर एटलान्टिक सन्धि सङ्गठन -नेटो) र विश्व व्यापार सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थामा यसको महत्त्वपूर्ण भूमिका छ ।
फ्रान्सको इतिहास खोतल्ने हो भने यो युद्ध, क्रान्ति र राजनीतिक संघर्षको लामो श्रृंखलाबाट गुज्रिएको देखिन्छ । प्राचीन गालो–रोमन संघर्षदेखि आधुनिक विश्वयुद्धसम्म फ्रान्सले अनेकौँ ठूला युद्धको सामना गरेको छ । यहाँका केही प्रमुख युद्ध र क्रान्तिलाई संक्षेपमा हेर्न सकिन्छ ।
सयवर्षे युद्ध (सन् १३३७–१४५३)
फ्रान्स र इङग्ल्यान्डबीच झन्डै ११६ वर्षसम्म चलेको यो युद्ध युरोपेली इतिहासको लामो र महत्त्वपूर्ण युद्धमध्ये एक हो । सत्ता, भूभाग र राजवंशीय अधिकारको विवादबाट सुरु भएको यस युद्धमा अन्ततः फ्रान्सले विजय हासिल ग¥यो। यससँगै फ्रान्समा इङ्ग्ल्यान्डको अधिकांश भूभागीय प्रभाव समाप्त भयो ।
फ्रान्सेली क्रान्ति (सन् १७८९–१७९९)
फ्रान्सेली क्रान्ति विश्व इतिहासकै महत्त्वपूर्ण राजनीतिक परिवर्तनमध्ये एक हो। यस क्रान्तिले फ्रान्सको निरंकुश राजतन्त्र र सामन्ती व्यवस्थाको अन्त्य गर्ने आधार तयार ग¥यो । समानता, स्वतन्त्रता र भ्रातृत्वको नारासहित अघि बढेको यस क्रान्तिले विश्व राजनीतिमा समेत गहिरो प्रभाव पा¥यो । राजा लुई सोह्रौँलाई २१ जनवरी १७९३ मा गिलोटिनबाट मृत्युदण्ड दिइयो । त्यसपछि फ्रान्समा गणतान्त्रिक व्यवस्थाको विकासले गति लियो ।
नेपोलियन युद्ध (सन् १७९९–१८१५)
नेपोलियन बोनापार्टको नेतृत्वमा फ्रान्सले युरोपका विभिन्न भूभागमा आफ्नो सैन्य तथा राजनीतिक प्रभाव विस्तार ग¥यो। नेपोलियनले युरोपको ठूलो हिस्सामा आफ्नो प्रभुत्व कायम गर्ने प्रयास गरे। तर सन् १८१५ मा वाटरलुको युद्धमा पराजित भएपछि उनको साम्राज्यको अन्त्य भयो ।
फ्रान्स–प्रसिया युद्ध (सन् १८७०–१८७१)
फ्रान्स र प्रसिया (पछि जर्मनी) बीच भएको युद्धमा फ्रान्स पराजित भयो। यस पराजयसँगै नेपोलियन तृतीयको शासन अन्त्य भयो र फ्रान्समा तेस्रो गणतन्त्र स्थापना भयो। यो युद्धले युरोपको शक्ति सन्तुलनमा समेत परिवर्तन ल्यायो ।
प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८)
सन् १९१४ मा जर्मनीले फ्रान्सविरुद्ध युद्ध घोषणा गरेपछि फ्रान्स प्रथम विश्वयुद्धमा सहभागी भयो । मित्रराष्ट्रको पक्षबाट लडेको फ्रान्सले अन्ततः विजय हासिल गरे पनि ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुप¥यो । युद्धले फ्रान्सको अर्थतन्त्र, समाज र पूर्वाधारमा गम्भीर असर पारेको थियो ।
द्वितीय विश्वयुद्ध (सन् १९३९–१९४५)
द्वितीय विश्वयुद्धका क्रममा सन् १९४० मा जर्मनीले फ्रान्समाथि कब्जा जमायो। त्यसपछि फ्रान्सेली जनताले जर्मन कब्जाविरुद्ध प्रतिरोध आन्दोलन सञ्चालन गरे। फ्रेन्च रेजिस्टेन्सका नामले चिनिने प्रतिरोधी आन्दोलनले जर्मन शासनविरुद्ध संघर्ष जारी राख्यो । सन् १९४४ मा मित्रराष्ट्रको सहयोग र फ्रान्सेली प्रतिरोध आन्दोलनको भूमिकासहित फ्रान्सको ठूलो भूभाग मुक्त भयो ।
धार्मिक युद्ध (सन् १५६२–१५९८)
फ्रान्सको इतिहासमा धार्मिक द्वन्द्वले पनि लामो समयसम्म प्रभाव पारेको थियो। रोमन क्याथोलिक र प्रोटेस्टेन्ट ह्युगेनोट समुदायबीच सन् १५६२ देखि १५९८ सम्म विभिन्न चरणमा गृहयुद्ध भए। सन् १५९८ मा राजा हेनरी चौथोद्वारा जारी नान्तेसको आदेशले धार्मिक सहिष्णुताको आधार तयार पार्ने प्रयास गरेको थियो ।
ला फ्रोन्द (सन् १६४८–१६५३)
सत्रौँ शताब्दीमा फ्रान्समा भएको ला फ्रोन्द विद्रोह पनि राजनीतिक इतिहासको महत्त्वपूर्ण घटना हो । राजा लुई चौधौँको बाल्यकालमा राजसत्ता, सामन्ती वर्ग र संसद्बीच उत्पन्न विवादका कारण यो विद्रोह भएको थियो। यसले फ्रान्सको राजतन्त्र र केन्द्रीय शासन व्यवस्थाको विकासमा प्रभाव पारेको थियो ।
भेन्दी विद्रोह र पेरिस कम्युन
सन् १७९३ देखि १७९६ सम्म फ्रान्सेली क्रान्तिपछि भेन्दी क्षेत्रमा राजतन्त्र समर्थक र गणतन्त्रवादी शक्तिबीच भीषण गृहयुद्ध भयो। यसैगरी सन् १८७१ मा पेरिसमा भएको श्रमिक विद्रोहले विश्व राजनीतिक इतिहासमा नयाँ अध्याय थप्यो ।
पेरिस कम्युन पुँजीवादी शासन व्यवस्थाविरुद्ध श्रमजीवी वर्गले सत्ता आफ्नो हातमा लिएर शासन सञ्चालन गर्ने गरेको ऐतिहासिक प्रयास थियो। सन् १८७१ मार्च १८ मा सुरु भएको यस विद्रोहपछि पेरिसमा श्रमिक वर्गको नेतृत्वमा कम्युन सरकार गठन भयो । कम्युनले श्रमिकको हित, सामाजिक समानता र जनपक्षीय शासन व्यवस्थासम्बन्धी विभिन्न निर्णयसमेत गरेको थियो ।
तर त्यो सत्ता धेरै समय टिक्न सकेन। फ्रान्सको तत्कालीन सरकार र प्रतिक्रियावादी शक्तिहरूले कम्युनविरुद्ध सैन्य आक्रमण गरे । सन् १८७१ मे महिनामा भएको भीषण दमनपछि ७२ दिनमै पेरिस कम्युनको अन्त्य भयो । त्यस क्रममा हजारौँ मानिस मारिए । पुँजीवादी शक्तिले पुनः सत्ता आफ्नो नियन्त्रणमा लिए । यद्यपि पेरिस कम्युनको ऐतिहासिक अनुभवले विश्व श्रमिक आन्दोलन र कम्युनिस्ट विचारधारालाई दीर्घकालीन प्रभाव पारिरह्यो ।
पेरिस कम्युनले एउटा महत्त्वपूर्ण राजनीतिक शिक्षा दिएको छ– सत्ता प्राप्त गर्नु मात्रै पर्याप्त हुँदैन, प्राप्त उपलब्धिको रक्षा गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । श्रमिक वर्गले आफ्नो राजनीतिक शक्ति संगठित गर्न नसक्दा र प्रतिक्रियावादी शक्तिको सामना गर्न आवश्यक तयारी गर्न नसक्दा ऐतिहासिक उपलब्धि गुम्न सक्छ भन्ने शिक्षा यस घटनाले दिएको छ ।
आज विश्वभर विभिन्न नाम र स्वरूपमा युद्ध, हिंसा, द्वन्द्व तथा जनआन्दोलन भइरहेका छन् । यस्ता घटनाबाट सबैभन्दा बढी प्रभावित हुने वर्ग श्रमजीवी, गरिब र सर्वसाधारण नै हुन् । युद्ध र द्वन्द्वको आर्थिक तथा राजनीतिक लाभ भने प्रायः शक्तिशाली राष्ट्र, हतियार उत्पादक र पुँजीको नियन्त्रणमा रहेका समूहले लिने गरेका छन् ।
हामी हत्या र हिंसाको विरोध गर्छौँ। तर विश्वमा युद्ध र हिंसाको अवस्था किन बारम्बार सिर्जना भइरहेको छ भन्ने प्रश्नको गहिरो विश्लेषण पनि आवश्यक छ । ठूला हतियार उत्पादन गर्ने, युद्धलाई व्यापारको माध्यम बनाउने र आफ्नो स्वार्थका लागि अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने शक्तिहरूको भूमिकालाई बेवास्ता गर्न मिल्दैन । धर्म, संस्कृति र राष्ट्रियताको आवरणमा समेत कतिपय अवस्थामा राजनीतिक तथा आर्थिक स्वार्थ पूरा गर्ने प्रयास हुने गरेको छ ।
आज विश्वका श्रमजीवी जनता वास्तविक शान्ति, समानता र समृद्धिको पक्षमा छन् । उनीहरूलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको आवश्यकता छ । तर आर्थिक असमानता, बेरोजगारी र शोषणले उनीहरूलाई निरन्तर समस्यामा पारिरहेको छ । गरिबी र अभावमा बाँचिरहेका मानिसको श्रम र बाध्यतालाई पुँजीले आफ्नो स्वार्थअनुकूल उपयोग गरिरहेको छ । यसले समाजमा असमानता र असन्तुष्टि थप बढाएको छ ।
फ्रान्ससहित विश्वका विभिन्न देशमा भइरहेका जनआन्दोलनलाई यही व्यापक राजनीतिक, सामाजिक र आर्थिक सन्दर्भमा हेर्न आवश्यक छ । बङ्गलादेश र नेपालमा भएका राजनीतिक आन्दोलनदेखि भारतमा देखिएका विभिन्न जनप्रदर्शनसम्मले जनताको असन्तुष्टि र परिवर्तनको चाहनालाई अभिव्यक्त गरेका छन् । तर हरेक आन्दोलनको पृष्ठभूमि, उद्देश्य र राजनीतिक चरित्र भने फरक हुन सक्छ। त्यसैले सबै आन्दोलनलाई एउटै दृष्टिकोणबाट हेर्नु उचित हुँदैन ।
आज जनताले परिवर्तन र निकास खोजिरहेका छन् । तर केवल व्यक्ति परिवर्तन गर्दैमा समाजका आधारभूत समस्या समाधान हुँदैनन् । राज्य सञ्चालनको प्रवृत्ति, आर्थिक संरचना र जनताप्रतिको उत्तरदायित्वमा परिवर्तन आउनु आवश्यक छ। व्यक्ति होइन, गलत प्रवृत्ति र जनविरोधी नीतिको विरोध गर्नुपर्छ । राजनीतिक परिवर्तनको वास्तविक उपलब्धि जनताको जीवनस्तरमा सुधार, सामाजिक न्याय र समान अवसरबाट मापन हुनुपर्छ ।
इतिहासले बारम्बार देखाएको छ– जनताको असन्तुष्टिलाई लामो समयसम्म दबाएर राख्न सकिँदैन । त्यसैले राज्यले जनताको आवाज सुन्नुपर्छ र असन्तुष्टिका वास्तविक कारण पहिचान गरी समाधान खोज्नुपर्छ । अन्यथा विद्रोह र संघर्षका नयाँ अध्याय दोहोरिइरहनेछन् ।










