अनुमगन समितिले भनेको नमान्दा दुइ जनाको ज्यान गयो

निशा थापा मगर/दमौली

बिहीबार बिहान ३ बजे बन्दिपुर गाउँपालिका-३ तामुङमा कोही मद्दतको लागि गुहारी रहेका, कोही चिच्याइरहेको आबाज सुनिन्थ्यो । बाहिरा मुसलधारे पानी परेको थियो । ओछ्यानमै रहेका स्थानीय चित्रबहादुर थापा कतै पहिरो त आएन कसैलाई केही नोक्सानी त गरेन भन्दै हस्याङफस्याङ गर्दै घरबहिरा निस्किए ।

गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ सहितको अनुगमन टोलीले बुधबारनै पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भन्दै त्यस क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए । निन्द्रमै रहेका उनले बाहिरा खइलाबैला सुनेपछि पहिरो नै गएको ठम्याए ।

‘बाहिराको वातावरण अध्याँरो थियो, पानी परिरहेको थियो’, उनले भने, ‘पक्कै पनि गाउँमा केही विपत आइलाग्यो भन्दै म पनि मानिसहरुको खैलाबैला भएको ठाउँतिर गए । पहिरोले घर पुरिसकेको रहेछ । हामी सबै मिलेर उद्दारतिर लागिहाल्यौ ।’

छिमेकी दिलबहादुर थापाको घर माथीबाट खसेको पहिरोले पुरै परिएको थियो । ६६ वर्षीय दिलबहादुरकी ५८ वर्षीया श्रीमति दाउरीमाया र २६ वर्षीय कान्छा छोरा सुवासलाई जीवितनै उद्दार गर्न सफल भएको स्थानीय थापाले बताए । ‘जेठी बुहारी ३० वर्षीय सरस्वती थापालाई भने दलनले च्याप्दा घटनास्थलमै मृत्यु भएछ’, उनले भने, ‘कान्छि बुहारी गाउँपालिकाको सुझाव मानी उनका एक छोरासहित आफान्तकोमा बस्न जाँदा ज्यान जोगियो । सरस्वतीका एक छोरा र एक छोरी पनि एक/दुइ दिन अघि आफान्तकोमा बस्न गएका रहेछन् ।’

यस्तै, दिलबहादुरको परिवारलाई उद्दार गर्दागर्दै नजिकैको अर्को घरमा पनि पहिरो आएको वडासदस्य खड्काबहादुर थापाले बताए । उक्त पहिरोमा पुरिदा करिव ७२ वर्षीया हरिमाया सर्किनीको घटनास्थलमै मृत्यु भएको उनले बताए । उनले भने, ‘हरिमाया एक्कै त्यो घरमा बस्दै आउनुभएको रहेछ । उनका छोरा बुहारी भने नजिकै अर्कै घरमा बस्दा रहेछन् ।’

निरन्तर परेको झरीका कारण माटो कमजोर भई ठाउँठाउँमा पहिरो खस्न थालेपछि अनुगमन समितिले जोखिमयुक्त ठाउँको पहिचान गरी उक्त क्षेत्रमा नबस्न स्थानीयलाई आग्रह गर्दै आएको गाउँपालिकाकी उपाध्यक्ष गुरुङले बताइन् । उनले भनिन्, ‘गाउँपालिकाको अनुगमन टोलीले त्यस क्षेत्रको अनुगमन गर्दा बुधबार नै घर माथीको सडकमा माथीबाट खसेको पहिरोको ढिस्को थुप्रिएर बसेको थियो। उक्त ढिस्कोको कारण कुनैपनि समय सडकबाट अर्को पहिरो खसेर घर पुर्न सक्ने अवस्था देखिएकाले हामीले स्थानीय बासिन्दालाई सचेत गराएका थियौ तर उहाँहरु अटेर गरी सोही स्थानमा रात काट्दा यो दुःखद् घटना आइलाग्यो ।’

यस्तै, चुँदी खोला बढ्दा तटीया क्षेत्रका घरहरु डुवानमा परेको गाउँपालिकाले जनाएको छ । निरन्तर परेको झरीका कारण व्यास नगरपालिकास्थित छाब्दी खोलाले पक्की पुल बगाएको छ । खोलामा आएको बाढीले बुद्धसिंह मार्ग अन्तरगत व्यासको वडा नम्बर १ र १३ जोड्ने छाब्दी दोभानको पक्कि पुल बगाएको व्यास-१ का वडाध्यक्ष खरसिं दरैले बताए । ‘पुल बगाएसंगै बुद्धसिंह मार्ग, केशवटार मार्गका सवारी संचालनमा अवरोध आएको छ’, उनले भने, ‘खोला आसपासका घरहरु समेत जोखिममा रहेका छन् । बाढीले पुल भत्किएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायतका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।’

यस्तै, पहिरोका कारण म्याग्दे गाउँपालिका-५ का ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहको भिमाद पोलिक्लिनिकमा उपचार भैरहेको तनहुँ प्रहरीले जनाएको छ । त्यस्तै, शुक्लागण्डकी नगरपालिका-९ ढोरफिर्दी सिम्लेका ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय बिज्ञान भुजेल घाइते भएका छन् । घाइते दुवैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरले जनाएको छ । पहिरोमा परी १९ वटा बाख्रा र २ वटा भैसी पुरिएर मरेका छन् ।

यस्तै, पृथ्वी राजमार्गको तनहुँ सडकखण्डमा साना ठुला पहिरो गएका कारण दिनभरीजस्तै राजमार्ग अवरुद्ध हुन पुगेको थियो । सडक विभाग, सुरक्षाकर्मी लगायतको टोलीले साना पहिरो हटाएपनि ठुलो पहिराहरुलाई पन्छाएर साँझबाट एकतर्फी राजमार्ग सञ्चालनमा ल्याइएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । उनले भने, ‘हाललाई एकतर्फी भएपनि सडक सञ्चालनमा ल्याएका छौं । तर जिल्लाका केही सडकखण्ड जलमग्न भएको हुँदा सडकमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।’ वर्षासंगै आएको पहिरोका कारण जिल्लाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सयौं घर जोखिममा छन् र हजारौं हेक्टरमा लगाइएको धानबालीलाई बाढीले क्षति पुर्‍याएको छ ।

निरन्तर वर्षाका कारण अझै क्षति हुन सक्ने भएकाले सचेत र सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । तनहुँ हुँदै बग्ने मादी, सेती, कालीगण्डकी, मर्स्याङ्दी नदीमा पानीको वहाब बढेको हुँदा जिल्लाबासीलाई तटीया क्षेत्रमा नजान प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आग्रह गरेका छन् । उनले भने, ‘निरन्तर परेको झरीले साना खहरे खोलामा पनि बाढी आएको छ । माछा तथा बढीले बगाएर ल्याएको काठ छोप्न नजान सम्पुर्ण जिल्लाबासीमा आग्रह गरिएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker