व्यास नगरपालिकाले नौ करोड आन्तरिक आम्दानी गर्यो
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा करिब नौ करोड रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्ष ०७७/७८ को साउदेखि माघ मसान्तसम्म नौ करोड २२ लाख १२ हजार ९८० रुपैयाँ आन्तरिक आम्दानी भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा १६ करोड आन्तरिक आम्दानी हुने लक्ष्य राखेको छ । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुइ करोड ६४ लाख ६० हजार, दण्ड जरिवानाबाट रु दुइ लाख, अन्यतर्फ घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुइ करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
नगरपालिकाले गत आर्थिक वर्षा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको थियो । कोभिड-१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा छ करोड रुपैयाँ कम राजश्व संकलन भएको थियो। गत आर्थिक वर्षमा रु १६ करोड छ लाख ९६ हजार राजश्व संकलनको लक्ष्य थियो ।