तनहुँको भानुमा अक्सिजन सहितको १७ बेडको कोभिड अस्पताल सञ्चालन
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले वडा नं. ५ स्थित पुरनडिही नगर अस्पतालमा कोभिड-१९ संक्रमितको उपचारका लागि अक्सिजन सिलिण्डर सहितको १७ बेड कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा २६ वेड क्षमता भएपनि नगरपालिकाले कोभिड संक्रमितको उपचारका लागि तत्काल १७ बेड तयारी अवस्थामा राखेको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले बताए ।
महामारिकै रुपमा समुदायमा संक्रमण देखिएको र अस्पतालको क्षमताले भ्याएसम्मका लागि सहज रुपमा उपचार सेवा दिने गरी आवश्यक तयारीमा नगरपालिका जुटेको नगरप्रमुख उदयराज गौलेले जानकारी गराएका छन् ।

अस्पतालमा तयार गरिएको कोभिड अस्पतालको आइतबार नगरप्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी, स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइ लगायतको टोलीले अनुगमन गरेको छ । निरीक्षणका क्रममा कुनै ठाउँमा तुरुन्त आकस्मिक सेवा आवस्यक परे अस्पताल तयार रहेको र यस्को लागि नगर अस्पताल, नगरपालिकाका कर्मचारी वा जनप्रतिनिधिहरुलाई सर्म्पर्क गर्न सकिने नगरप्रमुख गौलीले बताए।
यस्तै संक्रमितको सहज रुपमा उपचार सेवा प्रदान गर्नका लागि नगरपालिकाले छुट्टै एम्बुलेन्स समेत तयारी अबस्थामा राखेको छ । नगरपालिकाले चन्द्रावती सामुदायीक अस्पतालको एम्बुलेन्सलाई आवश्यक मर्मत सुधार गरी तयारी अवस्थामा राखेको प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले बताए ।

बिरामीहरूको आकस्मिक सेवाका लागि अस्पतालमा अहिले १ डाक्टर, स्टाफ नर्स र अनमी गरी ४ जना, एचए र अहेव गरी ३ जना, कार्यालय सहयोगी ३ जना गरी जम्मा ११ जना स्वास्थ्यकर्मीहरुलाई २४सै घण्टा सेवा दिने गरी व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टर्राईले बताए।
भानुमा फोकल पर्सन
तनहुँको भानु नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा संक्रमितहरुको उपचार सेवा सहज बनाउन फोकल पर्सन तोकेको छ । नगरपालिकाले नगर भित्रका स्वास्थ्य शाखा अर्न्तर्गतका नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र एवं सामुदायिक स्वास्थ्य इकाइहरुमा कर्माचारीको नाम एवं सम्पर्क नम्बर र स्वास्थ्य संस्थाका नाम सार्वजनिक गरेको छ ।

नगरपालिकाका १३ वटै वडामा संक्रमितको उपचार सेवा सहज बनाउन सहजिकरण तथा व्यवस्थापनका लागि फोकल पर्सन तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद तिवारीले जानकारी गराएका छन्। नगरपालिकाले आम नागरिकलाई छिटो छरितो उपचार सेवा प्रदान गर्ने तथा तत्कालीन आकस्मिक सेवामा खट्टनि फोकलपर्सनहरुलाई जिम्मेवारी दिएको छ ।










