सरसफाई गरी आदिकवि भानुभक्त आचर्यको स्मृति दिवस मनाइयो, जन्मघर पुनर्निर्माण हुनसकेन

भानु : नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको १५७औँ स्मृति दिवस मनाइएको छ । तनहुँको भानु नगरपालिकाले सोमबार वडा नं. १ सतिघाटस्थित भानुभक्तको समाधि स्थलमा सरसफाइ तथा श्रद्धाञ्जली सभा गरी स्मृति दिवस मनाएको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायतको सहभागितामा सरसफाइ गर्नुका साथै आदिकविप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, पूर्व नगरप्रमुख उदयराज गौली, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ लगायतले भाषिक एकीकरणमा भानुभक्त आचार्यले पु¥याएको योगदान चर्चा गरेका थिए ।
नगर प्रमुख त्रिपाठीले भानुभक्तले नेपाली भाषा, साहित्य र पहिचानलाई दिएको योगदानलाई जीवन्त राख्न नगरले निरन्तर कार्यक्रम गर्दै आएको उल्लेख गरे । उनले साहित्य र संस्कृतिको संरक्षणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए ।
वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यको १९२५ साल असोज ६ गते सतिघाटमै निधन भएको थियो। स्मृति दिवसले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहरप्रति श्रद्धा प्रकट गर्नुका साथै भावी पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ ।
भग्नावशेष अवस्थामा जन्मघर
स्तै, आदिकवि भानुभक्त आचार्यको जन्मघर भग्नावशेष अवस्थामा पुगेको छ । जंगलमा लागेको डढेलोले जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । भानु–४, चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षण हुन नसक्दा भग्नावशेष भएको छ ।
नगरपालिका तथा विभिन्न सरोकारवाला निकायले भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने घोषणा र चर्चा गर्दै आएपनि पुनर्निर्माण हुन सकेको छैन । जन्मस्थल खण्डहर बन्दै गएपछि भानु जन्मस्थल हेर्ने उद्देश्यले पुग्ने साहित्यप्रेमीहरूको मन खिन्न हुने गरेको छ ।
अहिले घर झाडीले ढाकिएको छ भने प्रयोग भएका काठका झ्यालढोका डढेको अवस्थामा छन्। नेपाली भाषाका धरोहर भानुभक्तले साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए पनि राज्यले उहाँको उचित सम्मान गर्न नसकेकाले घर पुनर्निर्माणमा ध्यान पुग्न नसकेकोमा स्थानीय चिन्ता व्यक्त गर्छन ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले भानु जन्मस्थललाई ‘भानुधाम’का रूपमा विकास गर्ने योजना अनुसार चाँडै नै पुनर्निर्माण अघि बढाइने बताए । पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरे पनि काम नगरेको भन्दै असन्तोष व्यक्त गर्दै उनले भने, ‘जन्मघर सुरक्षाका लागि राष्ट्रपति समक्ष सैनिक टुकडी राख्न माग गरिएको छ ।’
२०७३ सालमा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले ६८ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गर्ने घोषणा गर्दै शिलान्यास गरेका थिए। तर बजेट विनियोजन नहुँदा काम अघि बढ्न नसकेकोको बताउने गरिएको छ ।
वि.सं. २०५७ सालमा चलचित्र निर्माता यादव खरेलले आदिकवि भानुभक्त नामक चलचित्र निर्माणका लागि एक लाख रुपैयाँको लागतमा घर पुनर्निर्माण गरेका थिए । तर २०६० साल जेठमा लागेको डढेलोले खरको छानाको घर जलेर पूर्ण रूपमा नष्ट भएको थियो । इतिहासविद् डा. रामराज सुवेदीको नेतृत्वमा भएको उत्खननमा घरको जग, मूलढोकाको सँघार, अगेनाको खरानी, चाँदीका बाला र अन्य सामग्री फेला परेका थिए, जसलाई अहिले चुँदी रम्घाबेंसीस्थित समितिको संग्रहालयमा राखिएको छ ।
पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गरेझैँ, आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट नेपाली समाजलाई एक सूत्रमा बाँधेका थिए । भानुभक्तले संस्कृत रामायणलाई नेपाली भाषामा सरल शैलीमा अनुवाद गरी सर्वसाधारणको जिब्रोमा पु¥याएका थिए । भानुभक्तद्वारा रचित भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता
(१९२५) आज पनि उत्तिकै लोकप्रिय छन् ।
साहित्यलाई नैतिकता र संस्कृतिसँग जोडेर समाजमा चेतना फैलाउने कार्यमा भानुभक्तले खेलेको भूमिकालाई नेपाली साहित्यजगतले विशेष सम्मानका साथ स्मरण गर्दै आएको छ । साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्ने प्रतिक्षामा बसेको जन्मस्थल अहिले बत्तिमुनिको अध्याँरो जस्तै बनेको छ ।










