भानु नगरपालिकाले १०औं स्थापना दिवस मनायो

भानु : तनहुँको भानु नगरपालिकाले विविध कार्यक्रम गरी १०औं स्थापना दिवस मनाएको छ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा नामाकरण गरिएको यस नगरपालिकाको ऐतिहासिक दिनको सम्झनामा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले संघीय सरकारले स्थानीय सरकारलाई पर्याप्त अधिकार नदिएकोमा गुनासो गरे । उनले बजेटको ठूलो हिस्सा संघ सरकारमा निहित रहेको र स्थानीय सरकारको आवश्यकतासँग मेल नखाने कुरा उल्लेख गरे ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोईराला, राईनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, घिरिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौली, निवर्तमान उपप्रमुख आशा थापा, भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, नेपाली काँग्रेस भानुका नगर सभापति रामकुमार श्रेष्ठ, एमाले नगर अध्यक्ष शंकर रानाभाट, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विष्णु पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपाने, वडा नं. ४ का वडा अध्यक्ष अर्जुन बहादुर बोहरा लगायतले शुभकामना व्यक्त गरेका थिए

स्थापना दिवसका अवसरमा भानु नगरपालिका निवासी ख्याती प्राप्त २ जना खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा १९औं एशियाली कबड्डी खेलकूद प्रतियोगितामा कास्य पदक विजेता मानमती बिस्ट र ७औं एशिया कप खुल्ला अन्तर्राष्ट्रिय तक्वान्दो प्रतियोगिताको ४१ केजी तौल समूहमा उत्कृष्ट फाईटर बन्न सफल रितिका दर्नाललाई सम्मानगरिएको नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।
यस्तै, स्थापना दिवसको पूर्व सन्ध्यामा वृक्षारोपण, सरसफाई र रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । रक्तदान कार्यक्रममा २० जनाले सहभागिता जनाए, जसले नगरपालिकाको सामाजिक कार्यमा योगदान पु¥याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।










