कांग्रेस क्षेत्रीय नेतृत्वमा त्रिपाठी : ‘गुमेको साख फर्काउन सबैलाई मिलाएर अघि बढ्छु’

तनहुँ : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी निर्वाचित भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा ३८६ मत प्राप्त गर्दै त्रिपाठी क्षेत्रीय नेतृत्वमा पुगेका हुन् । उनका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले ३६३ मत प्राप्त गरे भने अर्का उम्मेदवार सूर्यचन्द्र हड्खलेले २५६ मत पाए । कुल १ हजार ६८ मत खसेकोमा त्रिपाठीले खनाललाई २३ मतको अन्तरले पराजित गरेका हुन् ।
भानु नगरपालिकाका नगरप्रमुखसमेत रहेका त्रिपाठीले निर्वाचनबाट प्राप्त जिम्मेवारीलाई व्यक्तिगत विजयभन्दा संगठन निर्माणको अवसरका रूपमा लिएको बताएका छन् । उनले पार्टीभित्रको प्रतिस्पर्धा समाप्त भएसँगै अब सबै पक्षलाई समेटेर कांग्रेसलाई जनतामाझ पुनः विश्वासिलो बनाउनेतर्फ आफू केन्द्रित हुने बताए ।
‘कांग्रेसको गुमेको साखलाई फिर्ता ल्याउनुछ । सबैलाई मिलाएर अगाडि बढ्छु’, त्रिपाठीले भने ।
उनले आफूलाई मतदान गर्ने प्रतिनिधिसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवार र उनीहरूसँग रहेका कार्यकर्तालाई समेत साथमा लिएर संगठनलाई अघि बढाउने बताए। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले सिर्जना गरेका मतभेदलाई व्यवस्थापन गर्दै कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
क्षेत्रीय सभापतिको निर्वाचनमा त्रिपाठी र खनालबीचको मतान्तर २३ मात्र रहेकाले पनि नयाँ नेतृत्वका लागि सबै पक्षलाई समेटेर अघि बढ्नु महत्वपूर्ण देखिएको छ। एक हजारभन्दा बढी प्रतिनिधिले मतदान गरेको निर्वाचन परिणामले क्षेत्रीय तहमा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा रहेको देखाएको छ ।
क्षेत्रीय सचिवमा सरोज भण्डारी निर्वाचित भएका छन्। उनले ५०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तारानरेश पौडेलले ४१० मत प्राप्त गरे ।
यसैबीच कांग्रेस तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा …कÚ को सभापतिमा धिरेश खनाल निर्वाचित भएका छन् । चार उम्मेदवारबीच भएको प्रतिस्पर्धामा खनालले २१४ मत प्राप्त गरे । हरिहर उप्रेतीले १५१, ईश्वर पौडेलले १५३ र कल्पना पोख्रेलले ४९ मत प्राप्त गरे। कुल ५९० मत खसेकोमा १८ मत बदर भएको निर्वाचन विवरणमा उल्लेख छ ।
प्रदेश …कÚ को ३५ वर्षमुनिको प्रतिनिधितर्फ सुजन थपलिया १७८ मतसहित निर्वाचित भएका छन् । विशाल गिरीले १२१, सुरोज तिमिल्सिनाले १४१ र कविन्द्र ढकालले ८२ मत प्राप्त गरे ।
आदिवासी जनजातितर्फ तुलकुमार गुरुङ २८५ र सुरेन्द्रकुमार श्रेष्ठ २४५ मतसहित विजयी भए। सो समूहमा क्या. सुर्जकुमार मल्लले १३९, मिनबहादुर गुरुङले १७२ र नवीन गुरुङले १२८ मत प्राप्त गरे ।
खसआर्यतर्फ कृष्णप्रसाद ढुङ्गाना २८४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी पंकज अधिकारीले २५१ मत पाए। प्रदेश …कÚ का अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।
त्यस्तै, प्रदेशसभा …खÚ को सभापतिमा कर्णबहादुर खत्री निर्वाचित भएका छन् । उनले ३४४ मत प्राप्त गर्दा प्रतिस्पर्धी बाबुराम श्रेष्ठले १२४ मत पाए । कुल ४७७ मत खसेकोमा नौ मत बदर भएको थियो। खत्रीले श्रेष्ठलाई २२० मतको अन्तरले पराजित गरेका हुन् । प्रदेश …खÚ का अन्य पदमा पनि सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।
क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय तहको नेतृत्व चयनसँगै कांग्रेस तनहुँ क्षेत्र नम्बर १ मा नयाँ नेतृत्वसामु संगठनलाई चलायमान बनाउने चुनौती थपिएको छ । निर्वाचनमा देखिएको प्रतिस्पर्धापछि सबै पक्षलाई समेटेर संगठनलाई एकताबद्ध बनाउने, कार्यकर्ताबीचको दूरी घटाउने र जनतासँगको सम्बन्ध मजबुत बनाउने विषय नयाँ नेतृत्वका लागि मुख्य जिम्मेवारी बनेको छ ।
क्षेत्रीय सभापति त्रिपाठीले भने आफू निर्वाचित भएसँगै सबै पक्षलाई साथमा लिएर अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् । पार्टीको गुमेको साख फर्काउने उनको उद्घोषलाई अब संगठन सञ्चालन, कार्यकर्ताको व्यवस्थापन र जनतासँगको सम्बन्धमा व्यवहारमा उतार्ने जिम्मेवारी पनि नयाँ नेतृत्वमाथि आएको छ ।
यस्तै, क्षेत्र नं. १ को माधनिवेशन प्रतिनिधिको मतगण्ना कार्य जारी रहेको छ भने क्षेत्र नं. २ मा भने बुधबार दिउँसोदेखि मतगणना कार्य चलिरहेको छ ।










